जे मैले देखे, जे मैले भोगेको यी मेरा वेदनाहरू सम्माननीय पूर्व प्रधानमन्त्री द्वय पुष्प कमल दाहाल, बाबुराम भट्टराई तथा पूर्व राजा ज्ञानेन्द्र शाहलाई मैले परदेशी भूमिबाट दुखको सन्देश व्यक्त गर्न चाहन्छु ।
०६०/६१ तिरको कुरा हो, देशमा गणतन्त्र आइसकेको थिएन जुनेला ज्ञानेन्द्र शाह पक्ष र माओवादी पक्षको द्वन्द्व उत्कर्षमा थियो । धेरै निर्दोष जनता मारिएका थिए । धेरै बालबालिका टुहुरा भएका थिए । त्यही बेलादेखि नै अधिकांश युवा जमात विदेश पलायन हुने क्रम सुरुवात भएको थियो ।
म पनि कामको सिलसिलामा फिल्डमा जाँदै गर्दाको घटना यहाँ सुनाउन मन लाग्यो । बाटोमा ‘प्रचण्ड पथ जिन्दाबाद !’ भन्दै हिँडेका महिला कमान्डरहरू भेटेँ । उनीहरूले मप्रति शङ्का गर्दै वरिपरि घेरे । हुन त म कुनै राजनीतिक कार्यकर्ता थिइनँ । न त सुराकी लगाउने सत्तापक्षको व्यक्ति नै थिएँ !
म त फगत श्रमजीवी महिला थिएँ । स्वतन्त्र व्यक्ति थिएँ, नित्य श्रम गरेर आफ्नो जीविका गर्दथेँ । यो घटना त्यतिबेलैको हो, जुनेला म एक सामाजिक संस्थाको प्रोजेक्टमा काम गर्थेँ । ‘रिवार्ड प्रोजेक्ट’ नामक उक्त संस्थाले तीन वटा जिल्लामा महिला प्रजनन स्वास्थ्य, एचआइभी एड्स, परिवार नियोजनसम्बन्धी काम गर्दथ्यो । म एक ‘सोसियल वर्कर’को रूपमा त्यहाँ आबद्ध थिएँ । अरू कुनै विशेष भूमिका थिएन ।
महिलाप्रति एक दिन फिल्डमा काम गर्दै जाने क्रममा उदयपुर जिल्लाको अहिलेको उदयपुर गढी गाउँपालिका डुम्रेस्थित एक स्वयंसेवी दिदीको घरमा आराम गरिरहेको थिएँ । त्यहाँ दुई-चार जना माओवादी लडाकु महिलाहरू आइपुगेछन् । म सुतिरहेको थिएँ । स्वयंसेवी दिदीसँग उनीहरूले मबारे खोजीनिती गर्न थालेछन् । उनीहरूले दुई घण्टा जति मलाई नै कुरेर बसे । मचाहिँ निकै थाकेर मस्त निदाएका थिएँ । म जुरुक्क उठ्ने बित्तिकै तिनीहरूले म वरिपरि घेरे । म भने आफ्नो फिल्ड (कार्यक्षेत्र)तिर झोला बोकेर हिँडे । उनीहरू पनि लगभग एक घण्टाको बाटो यात्रा गर्दै म सँगसँगै आए । मैले आफ्नो परिचय दिएँ तर उनीहरूले खुलेर परिचय दिन चाहेनन् ।
मैले उनीहरूलाई त्यो बेला बाटोमा सँगै हिँड्दा दुई वटा प्रश्न सोधेँ । सम्झना भएसम्म ती प्रश्न यस्ता थिए –
१. तपाईँहरू देश परिवर्तनका लागि सङ्घर्ष गरेर लागिपर्नुभएको छ, तर कतिपय तपाईँहरूको कार्यकर्ताले निर्दोष जनतालाई डर, त्रास पैदा गरेको छ । राजनीतिको बाटो यो हो त ?
२. यदि नेपाल सरकारसँग मिलेर प्रचण्ड र बाबुराम भट्टराईलाई ठुलो पद सम्हाल्न जिम्मेवारी दिए भने तपाईँहरू के गर्न चाहनुहुन्छ ?
यी प्रश्न गर्दा उनीहरूले जनवादी दृष्टिकोणले मलाई जवाफ दिए । भने, ‘हाम्रो माग पुरा नभएमा हामी दुई वटै कमरेडलाई पनि छोड्नेवाला छैनौँ !’
ती महिला लडाकुहरू अहिले के गर्दै होलान् ? सोच्छु- उनीहरूले नछाडेर हैन बरु नेतृत्व नै छाडा भएर आजको दुर्दशा भोग्नुपरेको छ । जे मैले प्रश्न गरे, अहिले त्यही सेरोफेरोमा हामी छौँ । हामीले जनवादी युद्धबाट गणतन्त्रको ‘ट्याग’बाहेक केही पाएनौँ । सायद पाए पनि वर्गीय चक्रमा हाम्रा सपना बिलाए ।
त्यो बेलामा हाम्रो प्रोजेक्ट नियमित चलिरहेको थियो । हामीले नेपालमै सानोतिनो काम गरेर पेट पाल्ने अवसर पाइरहेको थियौँ । तर, माओवादीको धम्कीका कारणले त्यसको केही महिनापछि प्रत्येक वडामा रहेको स्वयंसेविकाको घरमा धम्की आयो । माओवादी पार्टीबाट विदेशी प्रोजेक्टहरू चलाउनु नदिने धम्कीले हाम्रो काम नै धरापमा पर्यो । हाम्रो प्रोजेक्टले गरेका कामहरू गलत पक्कै पनि थिएनन् भन्ने विश्वास आज पनि छ ममा ।
ठिक त्यसको केही समयपछि माओवादीको दबाबको कारण कार्यक्रमहरू ‘ड्रप आउट’ भएरै छाड्यो । तीन वटा जिल्लामा १ सय ५० जनाभन्दा बढी कर्मचारीले जागिरबाट हात धुनुपर्यो । आफ्नो देशमा कुनै रोजगारी नभएपछि म इजरायल आउने सपना बोकेर प्रोसेसका लागि काठमाडौँ हानिएँ ।
उदयपुर, गाईघाटबाट करिब दश ठाउँमा चेकिङ गर्दै काठमाडौँमा बल्लतल्ल प्रवेश गरेँ । वसुन्धरामा दाइभाउजू बस्नुहुन्थ्यो, म त्यहाँ पुगेँ ।
केही दिनपछि वसुन्धरा चोकमा एउटा घटना भयो । व्यापारीलाई दिउँसै गोली हानी हत्या गरिएको रहेछ । त्यहाँ वरिपरि हेर्ने मानिसको भीड थियो । म पनि के भएछ भनेर त्यही भीडभित्र पसेँ । हेरिरहेकी थिए, एक जना आर्मी सिभिल ड्रेसमा सबैलाई पछि हट्नका लागि आदेश दिँदै थिए । एक्कासि मलाई आएर केरकार गरेर सोध्न लागे ।
सायद मलाई माओवादीजस्तो लागेर हो कि या गाउँबाट म राजधानी आएको भर्खरै केही दिन मात्र भएको थियो । मेरो कपाल थाई कट काटेको थिएँ । सामुन्ने आएर ज्ञानेन्द्र शाहको आर्मीले एक थप्पड हान्यो । ‘तेरो घर कहाँ हो ? तँ कहाँ बस्छेस्’ भन्दै मलाई हकार्यो ।
मैले दाइ र भाउजूको कोठामा तीन-चार जना आर्मीलाई सँगै लिएर गएँ । मेरो सम्पूर्ण डकुमेन्टसमेत देखाउनु पर्यो । त्यसपछि ती बन्दुकधारी फर्किएर गए ।
आज म जस्ता ६० लाख युवा जनशक्ति अर्काको देशमा श्रम बेच्न बाध्य भएका छौँ । कसको कारणले यो स्थिति आयो, सोध्न मन छ । विगततिर फर्कंदा घाउ मात्र छन् । भविष्य सम्झँदा भय मात्र छ ।
डेढ दशकदेखि इजरायलमा कार्यरत छु म । यहाँ अहिलेसम्म महिला हिंसा, बलात्कारका घटना सुनेको पनि छैन । यहाँको स्वतन्त्रता हेर्ने हो भने महिला र पुरुषको समान अधिकार छ । महिला-पुरुषले घरायसी काम पनि समान रूपले गरेको देख्न सकिन्छ ।
विदेशी कामदार र स्वदेशी कामदारको समान अधिकार छ यहाँ । उच्च मानवअधिकार भएको मध्यपूर्वमा पर्ने देश हो इजरायल ।
तर, जब आफ्नो देश सम्झन्छु, कहाली लाग्ने घटना मात्र दिमागमा आउँछन् । सङ्घीय व्यवस्थामा गएर देशमा शान्ति आइसक्यो भनिन्छ तर, के देशले मुहार फेर्न सक्यो त ? के क्रान्तिकारी योद्धा सम्मिलित वामपन्थी सरकार रहिरहँदा वर्गीय क्रान्ति सफल भयो त ? के बर्सेनि लाखौँको सङ्ख्यामा बाहिरिने युवा जनशक्तिलाई आफ्नो देशमा रोजगारीको प्रत्याभूति गराउन सक्यो त ? के आम महिला समुदाय भयरहित वातावरणमा ढुक्कले हिँडडुल गर्ने वातावरण छ त मुलुकमा अहिले ? यी प्रश्नहरू अनुत्तरित भएर मानसपटलमा घुमिरहेछन् ।
टाढाबाट आफ्नो मातृभूमि सम्झिँदा अगाध माया लाग्छ । तर जब देशको अवस्था, नेतृत्व र सामाजिक अवस्था सम्झिन्छु त्यति बेला मन यसै यसै अमिलो हुन्छ ।
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
Our online portal serves as the heartbeat of the Nepali community in Israel. We don’t just deliver news—we share the stories of lives lived far from home, celebrate contributions, and spotlight the experiences and activities that make OUR COMMUNITY vibrant and strong..
Write us your story
info@nepalisrael.com
नेपालको उदयपुर स्थायी ठेगाना भएको माया घले अहिले इजरायलमा कार्यरत हुनुहुन्छ ।
- माया घलेhttps://nepalisrael.com/author/mayaghale