तेल अभिव, इजरायल – मुक्कुमलुङ/पाथीभरा क्षेत्रको धार्मिक तथा मुन्धुमी सभ्यताको ऐतिहासिक महत्त्वलाई सम्मान गर्दै, नेपाल आदिवासी जनजाति महासंघ इजरायलले उक्त क्षेत्रमा निर्माण गर्न लागिएको केबलकार निर्माणको विरोधमा नेपाल संवत् ११४५, बि.सं. २०८१ फागुन १६ गते (फेब्रुअरी २८, २०२५, शुक्रबार) इजरायलको तेल अभिभमा विशेष विरोध सभा सम्पन्न गरेको छ।
ताप्लेजुङ जिल्लामा पर्ने मुक्कुमलुङ/पाथीभरा क्षेत्रमा राज्यद्वारा स्थानीय आदिवासीहरूको स्वीकृति बिना जबर्जस्ती केबलकार निर्माण कार्य सुरु गरिएको छ। यस कार्यलाई अनावश्यक र प्राकृतिक तथा सांस्कृतिक सम्पदामाथि विनाश निम्त्याउने भन्दै स्थानीय बासिन्दा तथा धार्मिक आस्थावान समुदायले विरोध जारी राखिरहेका छन्।
पाथिभरामा केबुलकार बनाउने बिषयमा जारी यो अन्तरद्वन्द्व एक महिना बित्न लाग्दासमेत साम्य हुन सकेको छैन । बरु चर्किँदै गएर यो विषय सडकदेखि संसद्सम्म पुगेको छ । वार्ता निष्कर्षमा पुग्न नसकेपछि भएको आन्दोलनमा प्रशासनको चर्को दमन र ज्यादतीले यो आन्दोलन देशव्यापी हुदै संसारभरी छरिएर रहेका नेपालीहरुमाझ पनि सरोकारको बिषय बनेको छ । यसै क्रममा आदिवासी जनजाति महासंघ इजरायलको नेतृत्वमा इजरायलमा रहेका ‘नो केवलकार’ पक्षधर नेपालीहरुले पनि सम्बन्धित पक्ष समक्ष नैतिक दवाव सिर्जना गर्ने उदेश्यले बिरोधको आवाज उठाएका हुन् ।
आन्दोलनकारीहरूमाथि राज्यद्वारा दमनकारी कदम चालेको, कर्फ्यु लगाइएको, गोली प्रहार गरिएको, धरपकड गर्दै अमानवीय व्यवहार गरिएको खबर सार्वजनिक भएपछि नेपाल आदिवासी जनजाति महासंघ इजरायलले गम्भीर आपत्ति प्रकट गरेको छ।
यसै सन्दर्भमा, महासंघकी अध्यक्ष मनु श्रेष्ठको अध्यक्षतामा तेल अभिवमा आयोजित विरोध सभामा संरक्षक, सल्लाहकार, पदाधिकारी तथा सदस्य संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित संस्थाका संरक्षक, सल्लाहकार, तथा अन्य न्यायप्रेमी, प्रकृतिप्रेमी, धार्मिक आस्थावान तथा पहिचानवादी व्यक्तिहरूले “नो केबलकार” अभियानप्रति ऐक्यवद्धता जनाएका थिए।
नेपाल आदिवासी जनजाति महासंघ इजरायलले मुक्कुमलुङ/पाथीभरा क्षेत्रको संरक्षणका लागि जारी आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गर्दै, राज्यलाई जबर्जस्ती विकास योजनाको नाममा आदिवासी समुदायमाथि दमन नगर्न चेतावनी दिएको छ। महासंघका महासचिव खुशी क्ल्हे तमूस्योले एक विज्ञप्ति मार्फत उपस्थित सम्पूर्ण सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै, आदिवासी हकअधिकार र पहिचान जोगाउन निरन्तर संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा नेफिन इजरायलकी अध्यक्ष मनु श्रेष्ठका साथै अन्य वक्ताहरु समीर श्याङ्बा ह्योल्मो, ल्हाक्पा लामा शेर्पा, सुर्य राना मगर लगायतका वक्ताहरुले पाथिभरा/ मुकुम्लुङ देवीको धार्मिक आस्था र महत्वका बिषयमा आफ्नो धारणा राख्नुका साथै राज्यले जबर्जस्ती दमनकारी नीति अख्तियार गरेपछि मुकुम्लुङको अस्तित्वको रक्षार्थ देश विदेशबाट बिरोधको आवाज उठाउनु परेको प्रष्ट पार्नु भएको थियो ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com