नेपाल आज एउटा कालो दिनको साक्षी बनेको छ। भ्रष्टाचारविरुद्ध उठेका आवाजलाई बन्दुक र डरले दबाउने प्रयास, केवल एक प्रशासनिक गल्ती होइन। यो सरकारले आफ्नो अस्तित्वमाथि नै प्रश्नचिह्न लगाउँदै जनताको अधिकार र आवाजमाथि खुलमखुल्ला युद्धको घोषणा गरेको छ।
देशभरका युवा, जसले पारदर्शिता, इमानदारी र न्यायको माग गर्दै सडकमा आवाज उठाएका छन्, उनीहरूमाथि गोली चलाईयो, दबाब सिर्जना गरियो र स्वतन्त्र अभिव्यक्तिको अधिकारलाई खुम्च्याउने कार्यले नेपालको लोकतान्त्रिक भविष्यमाथि गम्भीर खतरा सिर्जना गरेको छ।
यो अवस्था केवल एउटा आन्दोलन वा विरोधको सीमामा सीमित छैन। यो सरकारले आफ्नै नागरिकसँगको सामाजिक समझदारी र संवैधानिक जिम्मेवारीलाई भंग गरेको स्पष्ट संकेत हो। जब सत्ता आफ्नो अस्तित्व बचाउन जनता विरुद्ध हथियार उठाउँछ तब लोकतन्त्र केवल शब्दमा मात्र रहन्छ व्यवहारमा मरे बराबरको हुन्छ।
युवा पुस्ता, विशेषगरी जेन-जी, जसले भ्रष्टाचार, असमानता र अन्यायविरुद्ध नयाँ चेतना र आवाजका साथ उठेका छन्, उनीहरूको यो संघर्ष केवल आफ्नो भविष्यको लागि नभई सम्पूर्ण देशको भविष्यको लागि निर्णायक मोड हो। अब ढिलो गर्नु ठीक होइन; देशले आफ्नो आवाज सुन्नुपर्ने, न्याय र स्वच्छ शासनको माग पूरा गर्नुपर्ने घडी आएको छ।
सडकमा उत्रिएका जेन-जी पुस्ताका युवाहरूको माग सरल थियो भ्रष्टाचार अन्त्य गर, समान अवसर सुनिश्चित गर, देशलाई चोर र ठगहरूको कब्जाबाट बचाउ। तर जवाफमा सरकारले तिनै युवामाथि बन्दुक तानेर प्रहार गर्यो। के यही हो लोकतन्त्र? के यही हो त्यो संविधानले दिएको मौलिक हक, जसको रक्षा गर्ने शपथ आफैंले खाएका थिए?
सरकारको यो कायरतापूर्ण कदमले दुई कुरा प्रष्ट भएको छ । एक, यो नेतृत्व जनताको आवाज सुन्न डराउँछ र अर्को, जनताको चित्त बुझाउने जवाफ दिन नसक्ने अवस्थामा पुगेको छ। सत्ता र कुर्सी जोगाउन यो सरकारले आफ्ना नै सन्तानजस्ता युवामाथि रगतको होली खेलेर गलत गर्यो ।
नेपालको इतिहासले बारम्बार देखाएको छ दमनले कहिल्यै जनताको आन्दोलन दबाउन सकेको छैन। राणाहरूले दशौँ वर्षसम्म बन्दुक र कोर्रा चलाए, तर अन्त्यमा पतन व्यहोरे। राजतन्त्रले पनि गोली र बल प्रयोग गर्यो, तर जनताको चिच्याहट रोक्न सकेन। आज पनि त्यही विडम्बना दोहोरिएको छ।
के यो सरकारलाई इतिहासको यति साधारण पाठ पनि थाहा छैन? के उनीहरूले सम्झेनन् कि गोलीले शरीरलाई मात्र रोकिन्छ, विचारलाई होइन? हरेक बलिदानले आन्दोलनलाई अझ गहिरो बनाउँछ, अझ ठोस बनाउँछ।
आज सडकमा उत्रिएका युवाहरू अवोध केटाकेटी होइनन्, तिनीहरू देशको भविष्य हुन्। तिनले बोकेको माग केवल आफ्नो व्यक्तिगत सुविधा होइन, सम्पूर्ण राष्ट्रको हितका लागि हो। जब एक पुस्ताले भ्रष्टाचारविरुद्ध, असमानताविरुद्ध र अन्यायविरुद्ध आवाज उठाउँछ, त्यो राष्ट्रका लागि शुभ संकेत हुन्छ। तर दुर्भाग्य, हाम्रो नेतृत्वले त्यसलाई खतरा देख्यो, चुनौती देख्यो।
युवाको सपना मार्ने, प्रश्नलाई मौन गराउने, आन्दोलनलाई आतंक मानेर गोली चलाउने कामले के प्रमाणित गर्छ भने, यो नेतृत्व अब दिशाहीन र जनविहीन भइसकेको छ।
आज प्रश्न उठेको छ के हामी अझै ढुंगे युगमा बाँचिरहेका छौं? जहाँ नागरिक प्रतिक्रिया वा विरोधका आवाजलाई बन्दुकले मात्र जवाफ दिइन्छ? यो स्थिति अब स्वीकार्य छैन।
जेन-वाई, जेन-एक्स, बोमेर पुस्ता सबैको कर्तव्य हो अब जेन-जीसँग उभिनु। किनभने यो संघर्ष केवल उनीहरूको मात्र होइन, यो देशको रक्षाको संघर्ष हो। आज मौन बस्नेहरूलाई भोलि इतिहासले दोषी ठहर नगरोस ।
हामी स्पष्ट भन्छौं सरकारले गरेको दमन, अत्याचार र निर्दोष युवामाथि भएको आक्रमण अस्वीकार्य छ। यो लोकतन्त्रको मूल्य र मान्यताको अपमान हो। सरकारले तत्काल जनताको आवाज सुन्नुपर्छ, आन्दोलनलाई संवादमार्फत सम्बोधन गर्नुपर्छ र जिम्मेवारहरूलाई कारबाही गर्नुपर्छ। अन्यथा, यो आन्दोलन अझै ठूलो रूप लिनेछ। जुन कसैले रोक्न सक्नेवाला छैन ।
नेपालका नेताहरु याद गरुन जनताको रगतले भिजेको आन्दोलन कहिल्यै हराउँदैन। गोलीले सपनालाई मार्दैन बरु बलिदानले क्रान्तिलाई बलियो बनाउँछ।
आज हामी जेन-जीको आन्दोलनसँग एक ढुक्क भएर उभिएका छौं। उनीहरूको आँट, साहस र बलिदानलाई सलाम गर्दै हामी हाम्रो पुस्ता प्रतिज्ञा गर्छौं यो आन्दोलनलाई हामी सबल बनाउँछौं, न्यायको पक्षमा उभिन्छौं र अन्यायलाई इतिहासको ढुंग्रोमा फाल्नेछौ ।
नेपाल अब ढुंगे युगमा फर्कदैन। यो देशलाई अगाडि बढाउन युवाको रगतले लेखिएको इतिहासलाई कसैले पनि रोक्न सक्दैन।खबरदार सरकार ! खुलमखुला सचेत युवाहरुलाई युद्धको आव्हान नगर ।
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
यहाँबाट पोष्ट गर्नुस
info@nepalisrael.com
झापा दमक स्थायी घर भई विगत १० वर्षदेखि इजरायलमा रहेका खेमराज जम्मर कट्टेल , सामाजिक र बौद्धिक क्षेत्रमा सक्रिय छन्। नेपाली युवाको प्रवासी पीडा, बेरोजगारी र समसामयिक विषयमा लेखहरू प्रकाशित गर्दै आएका उनि इजरायलमा खेलकुद र सामाजिक एकतामा पनि सक्रिय छन्। समाधानमुखी, यथार्थवादी र देश प्रेमले भरिएको विचार शैलीले उनलाई परिवर्तनशील लेखक र सामाजिक अभियन्ताका रूपमा पनि चिनाउँछ।
- खेमराज जम्मर कट्टेल
- खेमराज जम्मर कट्टेल
- खेमराज जम्मर कट्टेल
- खेमराज जम्मर कट्टेल
- खेमराज जम्मर कट्टेल
- खेमराज जम्मर कट्टेल
- खेमराज जम्मर कट्टेल
- खेमराज जम्मर कट्टेल
- खेमराज जम्मर कट्टेल










































