तेल अविव । नेपाली राजदूतावास इजरायल को अगुवाई तथा इजरायलस्थित विभिन्न नेपाली संघ–संस्थाहरूको समन्वयमा २५७०औं बुद्ध जयन्ती तथा श्रमिक सचेतना सम्बन्धी विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम इजरायलमा रहेका नेपाली समुदायको सहभागितामा २०८३ वैशाख १८ गते (१ मे २०२६) शुक्रबार साँझ तेल अविवस्थित Futsal Ground Tel Aviv मा आयोजना गरिएको थियो।

कार्यक्रमले द्वन्द्वग्रस्त मुलुक इजरायलमा बसोबास गरिरहेका नेपालीहरूबीच पनि शान्ति, सहअस्तित्व र अहिंसाको सन्देश फैलाउने महत्वपूर्ण प्रयास गरेको सहभागीहरूले बताएका छन्। विश्व शान्तिका अग्रदूत गौतम बुद्ध का शिक्षालाई आत्मसात गर्दै वर्तमान अस्थिर परिस्थितिमा पनि धैर्यता, सहिष्णुता र मानवताप्रति सम्मान कायम राख्नुपर्नेमा जोड दिइएको थियो ।
कार्यक्रममा नेपाली राजदूतावास इजरायलका कार्यबाहक राजदूत ओम कुमार भण्डारी, प्रथम सचिव कुमार बहादुर श्रेष्ठ, एनआरएनए NCC इजरायलका अध्यक्ष गणेश गिरी लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए।
वक्ताहरूले बुद्धको शान्ति र अहिंसाको सन्देश आजको विश्व परिवेशमा झन् सान्दर्भिक रहेको उल्लेख गर्दै विशेष गरी द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपालीहरूका लागि यसले मानसिक बल र सकारात्मक ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका थिए। साथै, अन्तर्राष्ट्रिय श्रमिक दिवसको सन्दर्भमा श्रमिकहरूको हक, सम्मान र सुरक्षाका विषयमा सचेतना अभिवृद्धि गर्नु आवश्यक रहेकोमा पनि जोड दिइएको थियो।
कार्यक्रमले नेपाली समुदायबीच आपसी एकता, सांस्कृतिक पहिचान तथा श्रमिक सचेतनालाई थप मजबुत बनाएको आयोजकले जनाएको छ। साथै यस्ता कार्यक्रमले विदेशमा रहेका नेपालीहरूलाई जोड्ने र सामूहिक भावना अभिवृद्धि गर्ने महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com























