तेल अविव । इजरायलमा रहेका नेपाली समुदायबीच २५७०औं बुद्ध जयन्ती तथा श्रमिक सचेतना सम्बन्धी विशेष कार्यक्रम आयोजना हुने भएको छ।
नेपाली राजदूतावास इजरायलको अगुवाई तथा इजरायलस्थित विभिन्न नेपाली संघ–संस्थाहरूको समन्वयमा उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो। कार्यक्रम २०८३ वैशाख १८ गते, तदनुसार १ मे २०२६ का दिन साँझ ४ बजे तेल अविवस्थित Futsal Ground Tel Aviv मा सञ्चालन गरिनेछ।
राजदूतावासले इजरायलमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई कार्यक्रममा सहभागी भई बुद्ध जयन्तीको महत्व तथा श्रमिक हक–हितसम्बन्धी सचेतना अभिवृद्धिमा साथ दिन आग्रह गरेको छ।
विशेष गरी १ मे का दिन विश्वभर मनाइने अन्तर्राष्ट्रिय श्रमिक दिवसको सन्दर्भमा श्रमिकहरूको अधिकार, सम्मान र सुरक्षाबारे जानकारी आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको जनाइएको छ।
राजदूतावासले कार्यक्रममा उपस्थित भई आपसी एकता, सांस्कृतिक पहिचान र श्रमिक सचेतनालाई थप सुदृढ बनाउन सबैलाई अनुरोध गरेको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com























