यही अप्रिल ४ तारिख शनिवार गैर आवासीय नेपाली सँग राष्ट्रिय समन्वय परिषद् इजरायलको आयोजनामा इजरायलमा कार्यरत नेपाली समुदायलाई लक्षित गर्दै “मानसिक स्वास्थ्य सचेतना” सम्बन्धी एक विशेष कार्यक्रम आयोजना गरियो । इजरायल, अमेरिका र इरानबिच फेब्रुअरी २८ देखि जारी द्वन्द्व एक महिना बढी भइसक्दा पनि समाधानको सङ्केत देखिनुको सट्टा झनै चर्किँदै गएको अवस्थाले यहाँ रहेका नेपाली कामदारहरूमा चिन्ता र असुरक्षा बढाएको परिप्रेक्ष्यमा मानसिक स्वास्थ्य सम्बन्धी सो वेबिनार को आयोजना गरिएको हो।
कार्यक्रममा नेपाली केयरगिभर र कृषि कामदारहरूको सहभागिता रहेको थियो। नेपालका विशेषज्ञ मनोचिकित्सक डा. पुरुषोत्तम अधिकारी मुख्य वक्ताका रूपमा सहभागी भएको कार्यक्रममा उनले चिन्ता, प्यानिक अट्याक र मानसिक सन्तुलन कायम राख्ने उपायबारे जानकारी दिएका थिए।
यो पनि पढ्नुहोस
ब्लग – इजरायलमा रहेका नेपाली कामदारमा युद्धका बीच बढ्दो मानसिक तनाव
उनले तनाव व्यवस्थापनका लागि सरल उपायहरू सुझाए—ढिलो सास फेर्ने अभ्यास, वरपरका वस्तुमा ध्यान केन्द्रित गर्ने ‘ग्राउन्डिङ’ अभ्यास, नकारात्मक समाचारबाट दूरी बनाउने, नियमित दिनचर्या कायम गर्ने, हल्का व्यायाम गर्ने र विश्वासिलो व्यक्तिसँग कुरा गर्ने। आफ्ना भावना लेख्ने, पर्याप्त निद्रा लिने र समस्या गम्भीर बन्दै गएमा पेशेवर सहयोग लिन हिचकिचाउन नहुने उनको सुझाव थियो।
एनआरएनए इजरायलका अध्यक्ष गणेश गिरीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाली दूतावास इजरायलका उप-नियोग प्रमुख (DCM) ओमकुमार भण्डारी हुनुहुन्थ्यो भने, संस्थाकै आइसिसी सदस्य अली मियाँ तथा अन्य पदाधिकारीहरू श्रीकृष्ण भण्डारी, रेखा शर्मा, विशाल ज्ञवाली लगायत इजरायलमा रहनु भएका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको आतिथ्यता रहेको थियो ।
कार्यक्रम संयोजक दिलीप सुन्दासले आफ्नो मन्तव्य सहित आरम्भ गरेको सो वेबिनारमा नेपाली दूतावास इजरायलका उप-नियोग प्रमुख ओमकुमार भण्डारीले आफू इजरायल आएको केही समयमै दुई जना नेपालीले आत्महत्या गरेको घटना उल्लेख गर्दै मानसिक स्वास्थ्यलाई बेवास्ता नगर्न आग्रह गरे। उनले समस्या परेका नेपालीलाई सहयोग गर्न दूतावास तयार रहेको पनि बताए।
संस्थाका पूर्व पदाधिकारीहरू लगायत विभिन्न वक्ताहरूले युद्धको प्रभाव र मानसिक स्वास्थ्यका बारेमा आआफ्नो धारणा राखेका थिए । कार्यक्रम सञ्चालन एनआरएनए इजरायलका प्रवक्ता राजन दुवाडीले गरेका थिए।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
























