के तपाई बिर्सन सक्नुहुन्छ ?
त्यो कालो दिन
बारुदको धुवाले मैलिएको
इजरायलको त्यो धमिलो आकाश,
जहाँ बर्षिएको थियो अनगिन्ति क्षेप्यास्त्रको बर्षा ?
एकाविहानै आतंकको बादल मडारिएको सब्बातको त्यो बिहान जब प्यालेस्टाइनको लडाकु जत्था हमास इजरायलमा जल स्थल र आकाश चारैतिरबाट प्रवेश गरी निहत्था नागरिकको नृशंस हत्या गरे ।
पलपल बज्ने साइरनको आवाजसँगै इजरायलमा आश्रित लाखौं नागरिकहरु आफूलाई बंकरमा त लुकाउथे तर मृत्युको भय हरघडी धडकन जस्तै ढुकढुक गरिरहन्थ्यो ।
त्यही दिन हो हामीले लर्न एण्ड अर्न अन्तर्गत इजरायलमा कृषि अध्ययन गर्न आएका हाम्रा निर्दोष १० नेपाली दाजुभाईहरु गुमायौं । सारा संसारको लागि यो कालो दिन केवल एउटा अखबारमा छापिने समाचार मात्र होला तर इजरायलमा कार्यरत हामी नेपालीका लागि यो अत्यन्त हृदयविदारक घटना कहिल्यै नमेटिने चोट बनेर छातिभित्र टाँसिएको छ । हामी हरेक नेपालीको मन मुटुमा असह्य पीडाको छाप बनेर कोरिएको छ ।
त्यही दिनबाट सुरु भयो इजरायलका नेपाली दाजुभाइ दिदीबहिनी बिच खबर आदान प्रदान गर्ने यो न्युज पोर्टल – नेपाल इजरायल डट कम ।
आरम्भ
अक्टोबर ७ तारीख हमासको विध्वंशकारी आक्रमणमा परी इजरायलमा रहेका निर्दोष नेपालीहरुको हत्या भएपछि यस क्षेत्रमा भएका सूचना र गतिविधिहरु शेयर गर्न अक्टुबर ८ तारिक यो (nepalisrael.com) डोमेन दर्ता गरेर यस क्षेत्रका बारेमा भएका अपडेट दिन शुरु गरिएको हो ।
नेपाल इजरायल डट कम इजरायलमा रहेका नेपालीहरुबीच सूचना प्रवाह र विचार आदानप्रदान गर्ने उदेश्यले स्थापित इजरायलमा रहेका साथीहरुबाट सन्चालित अनलाइन हो । नेपाल इजरायल डट कमको उदेश्य इजरायलमा रहेका नेपालीसँग जोडिएका समाचारहरु संकलन र शेयर गर्नुका साथै इजरायलमा रहेको नेपाली समुदायमा सूचना, जानकारी र खबर आदान प्रदान गर्नु हो
अनुरोध
नेपाल इजरायल डट कम कुनै पूर्वाग्रह वा नाफा कमाउने उद्देश्यले खोलिएको हैन । यो गैर राजनीतिक तटस्थ र निस्पक्ष तथा नितान्त सूचना र सेवामुलक अनलाइन पत्रिका हो । यदि तपाई पनि नेपाल इजरायलका बारेमा सरोकार राख्नु हुन्छ या कुनै रुपमा आवद्ध हुन चाहनुहुन्छ भने समाचार पोष्ट गर्न सक्नुहुन्छ ।
कुनै समाचार या लेख रचना प्रकाशन गर्नुहुन्छ भने हामीलाई लेख्नुहोस । हाम्रो इमेल-
info@nepalisrael.com