
इजरायल । नेपालमा गएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकलाई सहयोग तथा वृद्धाश्रम भवन निर्माणमा योगदान पुर्याउने उद्देश्यले झापाली समाज इजरायलद्वारा आयोजित ‘तीज सांगीतिक साँझ २०२६ तथा दर खाने कार्यक्रम’ भव्य र सभ्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा नेपालका ख्यातिप्राप्त गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीसहित कलाकारहरू हिमाल राना, सुमित रसाइली र पारस तामाङले आ–आफ्ना मनमोहक सांगीतिक प्रस्तुति दिएका थिए। कलाकारहरूको प्रस्तुतिले इजरायलमा रहेका नेपालीहरूलाई मनोरञ्जन प्रदान गर्नुका साथै नेपाली गीतसंगीत र तीजको सांस्कृतिक माहोललाई थप उल्लासमय बनाएको थियो।
नेपालमा गएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने र वृद्धाश्रम भवन निर्माणका लागि सहयोग जुटाउने उद्देश्यले आयोजित कार्यक्रममा इजरायलमा रहेका नेपालीहरूको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाली राजदूतावास इजरायलका कार्यवाहक राजदूत ओमकुमार भण्डारी सहभागी हुनुभएको थियो। त्यसैगरी, विशिष्ट अतिथिका रूपमा नेपाली राजदूतावास इजरायलका प्रथम सचिव कुमार श्रेष्ठ, गैरआवासीय नेपाली संघ (एनआरएनए) इजरायलकी वरिष्ठ उपाध्यक्ष सुशीला बस्नेत तथा आईसीसी सदस्य अलि मोहम्मद मियालगायतको उपस्थिति रहेको थियो।
इजरायलमा क्रियाशील विभिन्न क्षेत्रीय, राजनीतिक, सामाजिक, धार्मिक तथा साहित्यिक संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि, सञ्चारकर्मी, प्रायोजक संस्थाका प्रतिनिधि र नेपाली भाषी दाजुभाइ तथा दिदीबहिनीहरूको सहभागिताले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको थियो।
कार्यक्रम सफल बनाउन विशेष सहयोग पुर्याउने प्रवासी सिर्जनशील महिला समूह इजरायल, सहृदयता अन्तर्राष्ट्रिय इजरायल तथा नेपाल तामाङ घेदुङ इजरायल परिवारप्रति झापाली समाजले विशेष आभार व्यक्त गरेको छ। साथै, कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग र सद्भाव प्रदान गर्ने सम्पूर्ण अतिथि, सहभागी, कलाकार, प्रायोजक, दाता तथा सहयोगीप्रति आयोजकले धन्यवाद व्यक्त गरेको छ।
झापाली समाज इजरायलका महासचिव राजेन्द्र उप्रेतीद्वारा सार्वजनिक गरिएको विवरणअनुसार बाढीपीडितलाई सहयोग तथा वृद्धाश्रम भवन निर्माणको उद्देश्यका लागि आयोजित कार्यक्रमबाट १० हजार सेकल बचत भएको थियो । प्रवासमा नेपाली मौलिक चाडपर्व, कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्दै सामाजिक सेवामा योगदान पुर्याउने उद्देश्यले आयोजित यस कार्यक्रमले इजरायलमा रहेका नेपाली समुदायलाई एकै ठाउँमा जोड्नसमेत महत्त्वपूर्ण भूमिका खेलेको आयोजकको भनाइ छ।
झापाली समाज इजरायलले आगामी दिनमा पनि सामाजिक सेवाका गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com































