नेपाल इजरायल डट कम, इजरायल । साहित्यकार एवं गीतकार कादम्बरी दाना श्रेष्ठको एक साहित्यिक कृति ‘इमा’ विमोचन गरिएको छ । गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् इजरायल र श्री सत्य साइ सेन्टरको आयोजनामा इजरायलको तेल अभिभमा आयोजित एक कार्यक्रममा उक्त शोक पुस्तकको अनावरण गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाली दूतावास इजरायलका कार्यवाहक राजदूत एवं काउन्सेलर श्री ओम कुमार भण्डारीज्यूको प्रमूख आतिथ्यताका साथै गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् इजरायलका अध्यक्ष गणेश गिरी, सचिव सञ्जय कुमार शाह, श्री सत्य साई केन्द्र इजरायलकी अध्यक्ष नेहा गुरुङ, विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरू अतिथिका रूपमा उपस्थित हुनु हुन्थ्यो ।
कादम्बरी दाना श्रेष्ठको पहिलो कृति दिवंगत इम्प्लोयर माया वाइनको शोक स्मृतिको रूपमा आएको हो । इजरायलमा आफ्नी रोजगारदाताको रूपमा रहेकी माया वाइनको सम्झनामा लामो समय सँगै रहेर बिताएका पलहरू, उनको जीवन, योगदान, सङ्घर्ष, प्रेम र सम्झनालाई लेखिकाले शब्दमा बाँध्ने प्रयास गर्नु भएको छ । कृति मायाको दोस्रो पुण्य तिथिको अवसरमा सार्वजनिक गरिएको हो ।
कार्यक्रममा मायाको छोरा आरोन स्वास्थ्यका कारण उपस्थित हुन सक्नु भएन, यद्यपि भर्चुअल रूपमा सहभागी भएर लेखिकाले आफ्नी ममतामयी आमाको साथमा रहँदा पुर्याउनु भएको योगदान, इमानदारिता, हेरचाह र आत्मीयताको कदर गर्दै लेखिका र आमाको अगाध प्रेम र अटुट सम्बन्धको स्मरण गर्नु भयो ।
कार्यक्रममा साहित्यकारलाई इजरायलको नेपाली समुदायमा उहाँले पुर्याउनु भएको सामाजिक तथा साहित्यिक कार्यको सम्मान गर्दै दोसल्ला ओढाएर कदर पत्रका साथमा सम्मान पनि गरिएको थियो । लेखिका आयोजक संस्था गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् इजरायलकी पूर्व उपाध्यक्ष पनि हुन् ।
कार्यक्रममा विभिन्न वक्ताहरूले साहित्यकार र कृतिका विविध पक्षबारे आफ्नो विचार राख्नु भएको थियो । वक्ताहरूले सङ्ग्रहमा समेटिएका शब्दहरूले बिदाइका कठिन समयका अनुभूति र सम्झनाहरूलाई कलात्मक ढङ्गले प्रस्तुत गरेको भन्दै मानिसको भौतिक देह संसारबाट बिदा भए पनि साहित्यका अक्षरहरूमा सदाका लागि जीवन्त बनाएको बताउनु भयो । यस कृतिले इजरायलको नेपाली साहित्यलाई थप समृद्ध बनाउने विश्वास व्यक्त गर्नुका साथै, नयाँ पुस्तालाई निरन्तर अध्ययन र सिर्जनामा लागिरहन प्रेरणा पनि मिलेको बताउनु भयो ।
लेखिकाले सो कृति माया वाइनसँगका आफ्ना भोगाइ, तीता मिठा अनुभूतिहरू र मानवीय संवेदनाको अभिलेख भएको बताइन्। कृति मार्फत मौन पीडालाई आवाज दिनु नै आफ्नो उद्देश्य भएको भन्दै लेखिकाले कृतिकी प्रमुख पात्र माया वाइन र साहित्यप्रतिको प्रेमले पुस्तक सिर्जना भएको स्पष्ट पारिन्। इजरायलमा कार्यरत केयरगिभरले कृतिभित्र आफ्नो समय र आफ्नै अनुभूति भेट्ने विश्वास पनि उनले व्यक्त गरिन्।
कार्यक्रम एन आर ए इजरायलका महासचिव चित्र कुमार कार्कीले संचालन गर्नु भएको थियो ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com


































