तेल अभिभ, इजरायल ।
इजरायलमा जारी युद्धको असहज परिस्थितिका बाबजुद गैरआवासीय नेपाली संघ (NRNA) इजरायलले नेपाली नयाँ वर्षको अवसरमा २०८३ साल बैशाख १ गते (१४ अप्रिल २०२६, मंगलबार) एक विशेष साहित्यिक कार्यक्रम आयोजना गरेको छ। यस कार्यक्रममा इजरायललाई कार्यक्षेत्र बनाएका स्रष्टाहरू र विश्वभरका साहित्यप्रेमीहरू एकजुट भई कविता वाचन गर्दै नयाँ वर्षको शुभकामना साटासाट गरेका थिए। यो जमघटले जस्तोसुकै कठिन समयमा पनि नेपालीहरू आफ्नो भाषा र कलाप्रति समर्पित छन् भन्ने सन्देश दिएको छ। कार्यक्रमले युद्धको सन्त्रासबीच पनि नेपाली साहित्यको सुगन्ध र सांस्कृतिक एकतालाई जीवन्त राख्न सफल भएको देखिन्छ। प्रतिकूल अवस्थामा गरिएको यस्तो सराहनीय प्रयासले प्रवासी नेपालीहरूको आफ्नो मातृभाषाप्रतिको प्रगाढ प्रेम र उच्च मनोबललाई स्पष्ट रूपमा झल्काउँछ।
द्वन्द्वग्रस्त अवस्थाबीच पनि उत्साह र सकारात्मक सन्देश प्रवाह गर्दै इजरायलस्थित नेपाली समुदायले “नेपाली नयाँ वर्षको शुभकामना आदान–प्रदान तथा अनलाइन कविता प्रतियोगिता” विशेष रूपमा मनाएका छन्।
कार्यक्रमको मुख्य उद्देश्य इजरायलमा कार्यरत नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई वर्तमान संवेदनशील परिस्थितिमा सुरक्षित, सतर्क र संयमित रहँदै आफ्नो प्रतिभा उजागर गर्ने अवसर प्रदान गर्नुका साथै समुदायमा खुसी, एकता र सकारात्मक सन्देश फैलाउनु रहेको आयोजकले जनाएको छ।
एनआरएनए इजरायलका अध्यक्ष गणेश गिरीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम दुई चरणमा विभाजन गरेर सञ्चालन गरिएको थियो। दिलिप सुन्दासको स्वागत मन्तव्यसँगै आरम्भ भएको पहिलो चरणको औपचारिक कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपाली दुतावास इजरायलका कार्यवाहक राजदूत ओमकुमार भण्डारी हुनुहुन्थ्यो । ११ कविहरु अरुणादेवी खड्का, एभराज कार्की, कृष्णपक्ष थापा, नवीन जोशी, मेघराज दाहाल, रबिन पुरी, राज लिम्बु, रिता गिरी, रुपक पराजुली, रेखा पन्त र श्वेता भण्डारीले प्रतियोगी कविका रुपमा आ–आफ्ना रचना वाचन गरेका थिए, जसको सञ्चालन एनआरएनए इजरायलका महासचिव चित्र केसीले गर्नुभएको थियो । अप्रतियोगी कविहरूले आ–आफ्ना रचना सुनाउनुभएको दोस्रो चरणको कार्यक्रमको सञ्चालन सदस्य रमेश जोशीले गर्नुभएको थियो।
नेपाली दूतावास इजरायलका कार्यवाहक राजदूत ओमकुमार भण्डारीले तनावग्रस्त अवस्थामा पनि भाषा साहित्य प्रति इजरायलका नेपालीले देखाएको आत्मियताप्रति खुसि व्यक्त गर्दै सहभागीहरूलाई शुभकामना तथा मार्गदर्शन प्रदान गरेका थिए। त्यसैगरी नेपाली दूतावास इजरायलका प्रथम सचिव कुमारबहादुर श्रेष्ठले मिठो कविताका साथ इजरायलवासी नेपालीहरूलाई शुभकामना दिनुभएको थियो। त्यसैगरी काव्यिक शुभकामना दिनेहरुमा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सदस्य अलि महम्मद मियाँ, पत्रकार खेमराज जम्मरकट्टेल, एनआरएनए इजरायलका प्रवक्ता राजन दुवाडी, कार्यसमिति सदस्य दोलख गुरुङ तथा सामाजिक अभियन्ताहरु खुस्बु नेपाल, शिवराज खड्काले पनि शुभकामना दिएर कार्यक्रमलाई थप उत्साह र ऊर्जा प्रदान गरेका थिए। कार्यक्रममा विभिन्न संस्थाका अन्य प्रतिनिधिहरूले पनि आ–आफ्नो मन्तव्य राख्नुभएको थियो।
कार्यक्रमलाई सफल बनाउन संरक्षकहरू, मूल्याङ्कन समितिका संयोजक डा. नविन बन्धु पहाडी तथा निर्णायक मण्डलका अन्य सदस्यहरूमा रुविन्द्र प्रभावी ‘कटु’, शिव सस्मित र भगवती बस्नेत रहनुभएको थियो। साथै विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, कार्यसमिति सदस्य तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहभागी सबैको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई थप सफल बनाएको आयोजकले जनाएको छ।
एनआरएनए इजरायलले आगामी दिनहरूमा पनि श्रमिक हित अनुकूल कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, समुदायको निरन्तर साथ, सहयोग र सुझावको अपेक्षा गर्दै सम्पूर्णमा पुनः धन्यवाद ज्ञापन गरेको छ। कविता प्रतियोगितामा कृष्णपक्ष थापा प्रथम, राज लिम्बु द्वितीय र रिता गिरी तृतीय भएका छन्। विजयी कविहरुले क्रमश ५००, ३०० र २०० सेकेल नगद पुरस्कारका साथै प्रमाणपत्र प्राप्त गरेका थिए । विजेता तथा सम्पूर्ण प्रतिस्पर्धीहरूलाई आयोजकले हार्दिक बधाई ज्ञापन गर्दै उनीहरूको उज्ज्वल भविष्य र निरन्तर प्रगतिको कामना गरेको छ।
कार्यक्रमको समापनमा “सबैमा नेपाली नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना” व्यक्त गरिएको थियो ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
























