म भित्रको आत्मा
शब्दभन्दा गहिरो छ, मौनता भन्दा पनि मौन
घाउ भन्दा गहिरो, मुस्कान भन्दा झनै फरक।
कतै टाढा, अनन्त आकाशमा होइन
यही छ छातिमा, पसिना भिजेको सपनाको कुनामा
जहाँ म बिहान बेलुका आफैँसित झगडा गर्छु,
र चुपचाप थालमा थोरै भात,
थोरै अभाव र धेरै सम्झनासँग खाँदै बस्छु।
तिमी बुझ्छौ मलाई
तर अचम्म, न आफू बोल्छौ
न मलाई अरूलाई देख्न दिन्छौ।
तिमी मेरो साया हौ कि साजिस ?
मेरो आत्मा बुझ्ने, तर
बुझ्न नदिने अन्तर्मनको पहरेदार?
जुन रात निद्रा आउँदैन,
सपना छैन, केवल आँखा बन्द हुन्छन्
त्यो बेला तिमी हुन्थ्यौ नजिक,
मनको कुनामा बसेर हेरिरहन्थ्यौ,
म कहिले रुन्छु कि हाँसोको नाटक जारी राख्छु !
लौ भन न
यदि तिमी साँच्चै बुझ्छौ भने
किन मलाई एक्लै रित्तिएको महसुस हुन्छ?
किन लाग्छ म, म होइन,
कुनै विस्मृत कविता हुँ,
कसैले अधुरो छोडेको गीत हुँ?
तर जे होस्
म अझै बाँचिरहेको छु,
तिमी भित्रको म र म भित्रको तिमी
एकै अस्तित्व भएर पनि बेग्लै
एकै देह भएर पनि फरक ।
शायद यही हो आत्माको कथा,
मानवले लेखे पनि,
कविताभन्दा बढी यथार्थ
यो अनुभूति हो तिमी र मबिचको!
जुन तिमी कहिल्यै बुझ्दैनौ
सायद बुझ्दैनौ ।
खेमराज जम्मर कट्टेल
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
यहाँबाट पोष्ट गर्नुस
info@nepalisrael.com
झापा दमक स्थायी घर भई विगत १० वर्षदेखि इजरायलमा रहेका खेमराज जम्मर कट्टेल , सामाजिक र बौद्धिक क्षेत्रमा सक्रिय छन्। नेपाली युवाको प्रवासी पीडा, बेरोजगारी र समसामयिक विषयमा लेखहरू प्रकाशित गर्दै आएका उनि इजरायलमा खेलकुद र सामाजिक एकतामा पनि सक्रिय छन्। समाधानमुखी, यथार्थवादी र देश प्रेमले भरिएको विचार शैलीले उनलाई परिवर्तनशील लेखक र सामाजिक अभियन्ताका रूपमा पनि चिनाउँछ।
- खेमराज जम्मर कट्टेलhttps://nepalisrael.com/nepalisrael/author/khemraj