काठमाडौं। सरकारले फेसबुक, ट्विटर (एक्स), युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल नेपालभित्र बन्द गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार नेपाल दूरसञ्चार प्राधिकरणलाई आधिकारिक निर्देशन दिएको हो।
मन्त्रालयको पत्राचार प्राप्त भएपछि दूरसञ्चार प्राधिकरण (एनटिए) ले सञ्जालहरू निष्क्रिय गर्ने प्रक्रियामा पहल थालेको जनाएको छ। एनटिएका प्रवक्ता सन्तोष पौडेलका अनुसार, मन्त्रालयको निर्देशनअनुसार अब सामाजिक सञ्जाल बन्द गर्ने काम इन्टरनेट सेवा प्रदायक (आईएसपी) मार्फत सम्पन्न गरिनेछ।
“हामीले मन्त्रालयबाट निर्देशन प्राप्त गरिसकेका छौं। प्राधिकरणले सम्बन्धित सामाजिक सञ्जालको आईपी ठेगाना वा डीएनएस नम्बर उपलब्ध गराई सेवा प्रदायकलाई सर्कुलर गर्नेछ,” पौडेलले भने, “निर्देशन जारी भएसँगै आईएसपीहरूले तत्काल कार्यान्वयन गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ। सरकारकै निर्णय भएकाले ढिलाइ हुने प्रश्न नै उठ्दैन।”
यसअघि बिहीबारै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्राधिकरणलाई पठाएको पत्रमा २६ वटा सामाजिक सञ्जाल प्लेटफर्म निष्क्रिय गर्ने स्पष्ट निर्देश गरिएको थियो। मन्त्रालयले सामाजिक सञ्जालहरू नियमन तथा नियन्त्रणको आवश्यकता औंल्याउँदै प्राधिकरणलाई ती प्लेटफर्म बन्द गर्ने प्रक्रिया तत्काल अघि बढाउन आग्रह गरेको हो।
यसरी, सरकारले औपचारिकरूपमा सामाजिक सञ्जालहरू बन्द गर्ने तयारी अघि बढाइसकेकाले अब केही दिनमै नेपालभित्र यी सेवाहरू प्रयोग गर्न नसकिने भएको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com