नेपाल इजरायल डट कम, जेरुसेलम । इजरायलको संसदीय निर्वाचनको मतगणना जारी रहँदै गर्दा सरकार गठनको समीकरण अझै अस्पष्ट देखिएको छ। यसैबीच, यहुदी र अरब दुवै समुदायको सहभागितामा संयुक्त सरकार गठन गर्नुपर्ने माग गर्दै देशका तीन प्रमुख सहरमा प्रदर्शन गरिएका छन्।
प्रदर्शनकारीहरू जेरुसेलमको पेरिस स्क्वायर, तेल अभिभको मेसिला पार्क र हाइफाको युनेस्को स्क्वायरमा भेला भएका थिए। उनीहरूले समावेशी सरकार गठनको माग उठाएका हुन्।
इजरायली दैनिक ‘हारेत्ज’का अनुसार प्रदर्शनकारीहरूले ‘सबैका लागि स्वतन्त्रता’ र ‘यहुदी–अरब संयुक्त सरकारको पक्षमा’ लेखिएका प्लेकार्ड बोकेका थिए।
आंशिक नतिजा: कसले कति सिट जित्यो?
‘द टाइम्स अफ इजरायल’ले केन्द्रीय निर्वाचन समितिको आंशिक नतिजालाई उद्धृत गर्दै सार्वजनिक गरेको विवरणअनुसार, स्थानीय समय बुधबार राति ११:३५ बजेसम्म करिब ९७.५ प्रतिशत मतदान केन्द्रको ९० प्रतिशत मतगणना सम्पन्न भएको छ। उक्त विवरणअनुसार:
- प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको समर्थनमा रहेको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ।
- विपक्षी खेमाका आइजेनकोट नेतृत्वका दलले ४८ सिट जितेका छन्।
- अरब नेतृत्वका दलले १९ सिट प्राप्त गरेका छन्।
इजरायलको संसद् ‘क्नेसेट’मा कुल १२० सिट छन्, जहाँ सरकार बनाउन कम्तीमा ६१ सिटको बहुमत आवश्यक पर्छ। नेतान्याहुको पक्षको गठबन्धन यो सङ्ख्याभन्दा कम छ।
यो पनि पढ्नुहोस
स्पष्ट बहुमत नआएपछि धाँधली भएको नेतन्याहुको आरोप
विपक्षीसँग ६७ सिट, तर एकता कठिन
विपक्षी खेमाका यहुदी र अरब नेतृत्वका दलको सिट जोड्दा ६७ पुग्छ, जुन बहुमतभन्दा बढी हो। तर यहुदी नेतृत्वका अधिकांश विपक्षी दल अरब नेतृत्वका दलसँग मिलेर सरकार बनाउन इच्छुक देखिएका छैनन्। यसले विपक्षी पक्षलाई बहुमत जुटाउन कठिन बनाएको छ।
निर्वाचन समितिका अनुसार सार्वजनिक भएको नतिजा प्रारम्भिक हो र अन्तिम मतपरिणामसँगै सिट सङ्ख्यामा हेरफेर हुन सक्छ। ‘द टाइम्स अफ इजरायल’ले दोहोरो खाममा राखिएका मतपत्रको गणना बाँकी रहेको उल्लेख गर्दै अन्तिम परिणाममा फेरबदल हुन सक्ने जनाएको छ। यस्ता मतपत्रमा सक्रिय सैनिकले खसालेका मतसमेत समावेश हुन्छन्।
आइजेनकोट: ‘सरकारप्रति अविश्वास’
विपक्षी नेता तथा याशार पार्टीका अध्यक्ष गादी आइजेनकोटले निर्वाचन परिणामलाई नेतान्याहु नेतृत्वको सरकारप्रतिको अविश्वासका रूपमा व्याख्या गरेका छन्। सरकार परिवर्तनका लागि आफ्नो प्रयास जारी रहने उनले बताए।
सामाजिक सञ्जाल एक्स (X) मा उनले लेखेका छन्, “अक्टोबर ७ को सरकार र सैनिक सेवाबाट बच्ने प्रवृत्तिप्रति जनताले अविश्वास व्यक्त गरेका छन्।” उनले अनिवार्य सैनिक सेवाप्रति प्रतिबद्ध जियोनिस्ट सरकार गठन गर्ने आफ्नो लक्ष्य पनि दोहोर्याएका छन्।
गोलानले थाले विपक्षी नेताहरूसँग छलफल
वामपन्थी दल ‘द डेमोक्रेट्स’का अध्यक्ष याइर गोलानले सरकार गठनबारे विपक्षी दलका नेताहरूसँग छलफल गर्ने बताएका छन्। उनले बिहीबारदेखि विभिन्न दलका नेतासँग भेटवार्ता गर्ने तयारी गरेको जनाए पनि भेट्ने सबै नेताको नाम सार्वजनिक गरेका छैनन्।
उनले याशार पार्टीका अध्यक्ष आइजेनकोट र बियाखादका उपनेता याइर लापिडसहित विपक्षी नेताहरूसँग कुराकानी गर्ने तयारी गरेका छन्। जियोनिस्ट विपक्षी दलहरूको चारदलीय समूहमा रहेका नेताहरूमध्ये अरब नेतृत्वका दललाई सरकारमा सहभागी गराउने पक्षमा खुला समर्थन जनाउने उनी एक्ला नेता हुन्।
‘च्यानल १२’सँगको अन्तर्वार्तामा गोलानले आइतबारसम्म सबै सम्बन्धित नेतासँग भेट्ने आशा व्यक्त गरेका छन्। विपक्षी दलहरूबीच साझा उद्देश्य रहेको उल्लेख गर्दै इजरायली नागरिकमा आशा जगाउनु आफ्नो मुख्य लक्ष्य भएको उनले बताए।
नयाँ सरकार किन आवश्यक: गोलान
गोलानका अनुसार नयाँ सरकार गठन निम्न तीन कारणले आवश्यक छ:
- सुरक्षा चुनौतीको सामना गर्न,
- वर्तमान सरकारले अघि बढाएको विवादास्पद न्यायिक पुनर्संरचना रोक्न,
- युवा पुस्तामा देशप्रतिको विश्वास पुनःस्थापित गर्न।
उनका अनुसार देशको भविष्यप्रति युवामा निराशा बढ्दै गएको छ।
अब के हुन्छ?
प्रारम्भिक नतिजाले नेतान्याहुको पक्षमा बहुमत नदेखाए पनि विपक्षी दलबीचको मतभेदले नयाँ सरकार गठनको बाटो सहज बनाएको छैन। अन्तिम मतगणना र दलहरूबीचको सम्भावित गठबन्धन वार्ताले इजरायलको आगामी सत्ता समीकरण निर्धारण गर्ने देखिएको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com














