खेमराज जम्मर कट्टेल, इजरायल । इजरायलको तेल अभिभमा कवि कवीन्द्र सिटौलाले प्रेम, शान्ति र सद्भाव यात्रा अन्तर्गत “आमा भएर हेर” कविता सार्वजनिक गर्दै विश्व शान्ति यात्राको थालनी गरेका छन् ।
साहित्यिक भावनामा शान्तिको सन्देश बोकेर हिँड्ने सिटौलाले यो पटक इजरायललाई मेरो देश प्रेमको देश यात्राको पहिलो गन्तव्य बनाए। उनले भने, अक्टोबर ७, २०२३ मा हमासले इजरायलमा गरेको आक्रमणले निर्दोष नागरिकका ज्यान लिए, कयौँ परिवारलाई चिरा पार्यो। त्यस दिनका दृश्यहरूले मलाई मातृत्वको पीडा सम्झाइदियो। आमा भएर हेर्ने हो भने संसारको कुनै पनि युद्धले कोही विजेता बनाउन सक्दैन, केवल घाउहरू मात्र दिन्छ।
कार्यक्रममा उनले तयार गरेको आमा भएर हेर कविताको भिडियो प्रस्तुत गर्दा उपस्थित अधिकांश श्रोताहरू भाव विह्वल बनेका थिए । निर्मला हत्या प्रकरणदेखि लिएर इजरायलमा मारिएका १० नेपालीसम्मका वास्तविक घटनालाई कवितामा गहिरो रूपमा जोडेर प्रस्तुत गरिएकोले दर्शकहरूको आँखा रसाइरहे। धेरैले यो प्रस्तुति सुन्दा आफ्नी आमा, बहिनी वा छोरीको पीडा सम्झिएर मुटु भक्कानिएको अनुभव गरे।
सिटौलाले आफ्नो दीर्घकालीन योजना बारे जानकारी दिँदै भने, “म विश्वका सयभन्दा बढी देशमा यसरी कविता र कार्यक्रम लिएर पुग्नेछु। १० लाख मानिसबाट नेपाली कागजकै प्रयोग गरेर लिखित माया, प्रेम र शान्तिको भावनाहरू सङ्कलन गरेर भविष्यमा विश्वकै ठुलो पुस्तक “मेरो देश प्रेमको देश” प्रकाशन गर्नेछु, र गिजिन वर्ल्ड रेकर्डमा नेपाल र नेपालीको नाम उज्यालो बनाउने मेरो सपना छ ।” शान्ति र सद्भावना फैलाउने उद्देश्यले ‘विश्वकै विशाल मेरो देश प्रेमको देश कविता ग्रन्थमा विभिन्न महादेशका सयौँ कविहरूका सिर्जना समेटिनेछ ।
झन्डै ३५ वर्षदेखि अमेरिकामा बस्दै आएका कवि सिटौला पहिलो पटक यही अभियानअन्तर्गत कविता लिएर इजरायल आएका हुन्। उनले यो यात्राको सुरुवात इजरायलबाट गर्नु केवल संयोग नभई गहिरो अर्थपूर्ण निर्णय भएको बताए। उनका अनुसार, “शान्तिको सन्देश सबैभन्दा बढी चाहिने देश यतिखेर यही हो र यहाँ भएको घटनाबाट नै प्रेरित भएर यो अभियान थालेको र यस इजरायलको माटोमा १० नेपालीहरूको रगत बगिसकेको छ। त्यसैले यो पीडाको मुहानबाटै शान्तिको स्वर उठाउनु उचित ठानेँ।”
कार्यक्रमको सञ्चालन खगेन्द्र खरेलले गरेका थिए भने । कवि सिटौलालाई कार्यक्रम संयोजनमा विज्ञान नेपालको साथ रहेको थियौ ।सिटौलाको यात्राले नेपाली मात्र होइन, विश्वभरका मानवतालाई शान्ति, करुणा र एकताको सन्देश दिन्छ। उनले बोकेको कविता आमा बनेर हेर्ने दृष्टिकोण हो, जसले युद्ध, हिंसा र पीडामाथि प्रेम र शान्तिको ज्योति प्रज्वलित गर्ने विश्वास गरिएको छ।
झापा दमक स्थायी घर भई विगत १० वर्षदेखि इजरायलमा रहेका खेमराज जम्मर कट्टेल , सामाजिक र बौद्धिक क्षेत्रमा सक्रिय छन्। नेपाली युवाको प्रवासी पीडा, बेरोजगारी र समसामयिक विषयमा लेखहरू प्रकाशित गर्दै आएका उनि इजरायलमा खेलकुद र सामाजिक एकतामा पनि सक्रिय छन्। समाधानमुखी, यथार्थवादी र देश प्रेमले भरिएको विचार शैलीले उनलाई परिवर्तनशील लेखक र सामाजिक अभियन्ताका रूपमा पनि चिनाउँछ।