मिनेसोटा, अमेरिका—यौन दुर्व्यवहारको आरोपमा दुई नेपाली नागरिकविरुद्ध मुद्दा दायर गरिएको छ। स्टेअन्स काउन्टी प्रहरीले २० वर्षीय फुयाल र १९ वर्षीय तामाङविरुद्ध फेब्रुअरी २१ मा मिनेसोटा राज्यको स्टेअन्स काउन्टी अदालतमा मुद्दा दायर गरेको हो।
अदालतले पक्राउ पुर्जी जारी गरिसकेको भए पनि हालसम्म उनीहरू मिनेसोटामा फेला नपरेपछि प्रहरीले राष्ट्रव्यापी खोजी अभियान सुरु गरेको छ। फुयाल र तामाङलाई सेन्ट क्लाउड स्टेट युनिभर्सिटीमा अध्ययनरत एक छात्रामाथि बलात्कार गरेको अभियोग लागेको छ। उनीहरू सोही विश्वविद्यालयका विद्यार्थी भए पनि अगस्तदेखि डिसेम्बरसम्मको सेमेस्टरमा मात्रै भर्ना लिएको र विन्टर ब्रेकपछि कलेजमा नफर्किएको कलेज प्रशासनले जनाएको छ।
घटना गत नोभेम्बर १ मा सेन्ट क्लाउड फस्ट एभिन्यु साउथस्थित छात्रावासको कोठामा भएको थियो। पीडित छात्राले प्रहरीमा उजुरी दिएपछि अनुसन्धान अघि बढाइएको थियो। प्रारम्भिक सोधपुछमा फयाल र तामाङले आफूहरू निर्दोष रहेको दाबी गरे पनि घटनास्थलमा उनीहरूको उपस्थिति प्रमाणित भएको र पीडितको स्वास्थ्य परीक्षणका क्रममा उनीहरूकै डीएनए नमुना म्याच भएको प्रहरीले जनाएको छ।
यसबाहेक, घटनापछि फयालले पीडितलाई इन्स्टाग्राममा अनुरोध पठाउँदै उनको स्वास्थ्य अवस्थाबारे चासो देखाएको विवरण पनि प्रहरीले सार्वजनिक गरेको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com