हामी युद्धग्रस्त देश इजरायलमा छौँ, के तेल–अभिभ, के जेरुसलेम वा हाइफ़ा .. हरघडी साइरनका आवाजहरू गुन्जिरहेका सुनिन्छन् भने आँखा अगाडी युद्धको कालो बादल मडारिरहेको देख्न सकिन्छ, युद्धको एक वर्ष बितिसक्दा पनि कतिखेर रकेट बर्सने हो र कति बेला बङ्कर तिर भाग्नु पर्ने हो केही थाहा छैन । यद्यपि प्रविधिको विकास, क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको उपयोगले भौतिक रूपमा ठुलो क्षति भने हुन दिएको छैन र हामी सुरक्षित छौं ।
यो सत्य हो, यो संसारका धेरै देशका सिमानाहरू रगतले लेखिएका थिए तर मानव सभ्यतामा असभ्यता, बर्बरता र आतङ्कवादको कुनै स्थान छैन भन्ने कुरालाई हामीले जोड दिनै पर्छ ।
हामी बाँचिरहेको यो संसार हेरौँ, इतिहासको विविध कालखण्डदेखि आजपर्यन्त पटक पटक धेरै देशका सुन्दर सहरहरू, गाउँ र बस्तीहरू युद्धको रण मैदानमा रूपान्तरण भएका छन् । आज हामी यति सभ्य र परिष्कृत युगमा पनि एउटा यस्तै बीभत्स युद्धको साक्षी बनिरहेका छौँ ।
कालो दिन
अक्टोबर ७, २०२३, एउटा भयानक स्मृति हो, जब इजरायलको दक्षिणी सिमानामा गाजाबाट आतङ्कवादी प्रवेश गरी बिदाको उत्सव मनाइरहेका निहत्था नागरिकहरूको नरसंहार गरे । १२०० नागरिकहरू आतङ्कवादीले अन्धाधुन्ध चलाएको गोलीको सिकार भए भने सयौँ अङ्ग भङ्ग भए, २५० जनालाई अपहरण गरियो ।
हाम्रा दश नेपाली दाजुभाइहरूको निर्मम हत्या भयो जो सुदूरपश्चिम विश्वविद्यालय बाट लर्न एन्ड अर्न कार्यक्रम अन्तर्गत कृषि अध्ययनको क्रममा इजरायल आएका थिए । एक जना विद्यार्थी विपिन जोशी हमासको अपहरणमा परे, आज एक वर्ष भयो, तर पनि उनको अवस्था अझै अज्ञात छ ।
तत्काल इजरायलले आफूहरू युद्धमा रहेको घोषणा गर्यो र गाजामा हमासविरुद्ध हवाई आक्रमणहरू सुरु भए ।
हमास आतङ्कवादी समूहबाट इजरायलमा अप्रत्याशित रूपमा गरिएको यो आततायी हमलाले एउटा सार्वभौम राष्ट्रको शान्तिलाई चकनाचुर त पार्यो नै साथ साथै सम्पूर्ण मध्यपूर्व नै यतिखेर क्षेत्रीय युद्धको चपेटामा धकेलिएको छ । इजरायल सँगको युद्धले हमास अधीनस्थ गाजा खरानी बनिसक्यो, ४० हजार मानिसहरूले ज्यान गुमाइसके यद्यपि इजरायलले लक्ष्य अनुरूप हमासको कब्जामा रहेका बन्धकहरूको उद्धार गर्न सकेको छैन ।
इजरायलका सामुदायिक बस्ती (किबुच)हरू जो स्थान कुनै बेला जीवन र संस्कृतिले भरिएको थियो, आज हेर्दाहेर्दै कहालीलाग्दो श्मशानमा परिणत भयो। दैनिक जीवनको शान्ति अचानक साइरन, विस्फोट र सहायताको चिच्याहटले भरियो। यो आक्रमणले इजरायलका शान्तिपूर्ण दक्षिणी भूभागलाई एकै रातमा नर्कमा परिणत गर्यो ।
इजरायलको नेपाली समुदाय
नेपाल र इजरायलको सम्बन्धको इतिहास निकै पुरानो हो तर करिब दुई दशक अघिदेखि मात्र इजरायलमा नेपालीहरू कामदारको रूपमा आउन थालेका हुन् । ऐतिहासिक जनआन्दोलन २०६२/०६३ को सफलतापछि गठन भएको नेपाल सरकारले इजरायलमा आवासीय दूतावास स्थापना गर्ने निर्णय गरेपछि, १३ अगस्ट २००७ मा इजरायलमा नेपाल राजदूतावास स्थापना भयो । त्यसअघि इजिप्टस्थित नेपाली दूतावासले नै इजरायल पनि हेर्ने गर्दथ्यो ।
कुनै बेला बिसौँ हजारको हाराहारीमा जनसङ्ख्या पुगेको इजरायलको नेपाली समुदाय अहिले लगभग ४५०० जति मात्र रहेको अनुमान छ । तथापि नेपाली चाडपर्व र अवसरहरूमा भारतीय नेपालीहरूको समेत समान सहभागिताले इजरायलमा नेपाली भाषी नेपाली समुदायको उपस्थिति बलियो छ । यसका साथै दीर्घकालीन स्याहार केन्द्रहरूमा केयरगिभरको रूपमा नेपाली कामदार आउन थाले सँगै यो सङ्ख्या अब क्रमशः फेरी बढ्दै छ ।
इमानदारिता र सेवा भावका कारण इजरायलमा नेपालीहरूको छवि राम्रो छ, उनीहरू निकै रुचाइएका कामदारमा पर्छन् ।यस कारण पनि समयावधि सकिएका तर रोजगारदाताले स्वीकार गरेका कति नेपाली छन् भन्ने अनुमान गर्न कठिन छ ।
कालो दिनको रूपमा स्मरण
इजरायलको लागि नेपाली राजदूतावासले इजरायलमा रहेका नेपालीहरूबिचमा अत्यावश्यक सूचना र सन्देश प्रवाह गर्ने उद्देश्य राखेर भर्खर एउटा ह्वाट्सअप समूह बनाएको छ । समूहमा सन्देश दिँदै कार्यवाहक राजदूत कुमार बहादुर श्रेष्ठ लेख्नुहुन्छ – आज ७ अक्टोबर, यो दिनले सन् २०२३ को नमिठो घटना फेरी एक पटक सम्झायो । हाम्रो दूतावासले इजरायलमा रहेका सबै नेपालीहरू र विशेष गरी विद्यार्थीहरूलाई अत्यावश्यक र महत्त्वपूर्ण सहयोग पुर्याउँदै आएको छ । नेपाल दूतावास अझै पनि हाम्रा नेपाली विद्यार्थी श्री विपिन जोशीलाई सबै प्रयासहरू मार्फत मुक्त गर्न प्रयासरत छ । हामी आशा गर्छौँ कि श्री जोशी छिट्टै मुक्त हुनुहुनेछ। धन्यवाद !
त्यसै गरी एन आर एन ए इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले फेसबुकमा निकै भावुक स्ट्याटस लेखे – अक्टुवर ७ । इजरायलीहरू भन्छन् यहुदीहरूको इतिहासमा होलोकास्ट पछिको अर्को नरसंहार भएको दिन । हाम्रा १० नेपाली भाइहरू मारिएको र विपिन जोशी भाइ लगायत सयौँलाई बन्धक बनाएको त्यो दिन हाम्रो लागि होलोकास्ट भन्दा कम छैन । आजको यस दिनमा म हाम्रा ती भाइहरूको दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै विपिन भाइको रिहाइको कामना गर्दछु ।
नेपालीहरुको समूहमा हमासद्वारा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशी सँग अन्तिम पटक भएको संवादको स्क्रिन शट शेयर गर्दै खेमराज जमरकट्टेल लेखेका थिए – यो अन्तिम मेसेजको रिप्लाई कहिले आएन । हमास लडाकुसँग अपहरणमा पर्नु अघि विपिन जोशीले कट्टेल सँग गरेको संवादले अत्यन्त भावुक बनायो । साथीहरू घाइते भएको उल्लेख गर्दै उनले आफूहरू एउटा बङ्करमा रहेको र अरू ७ जना अर्को बङ्करमा भएको, भर्खर प्रहरीहरू आएर फर्किएको कुरा उनले बताएका थिए ।
सोही समुहमा ल्हामु आल्मोगले ‘आजको यो कालो दिन’ भन्दै अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको लगायत बन्धकहरुको रिहाइका लागि आयोजित दबाब र्यालीमा सहभागी हुँदाको तस्बिर साझा गरिन । इजरायलमै कार्यरत अर्की दिदी रश्मी राई राजथलाले हमासद्वारा हत्या भएका १० जना नेपाली विद्यार्थीको तस्बिर शेयर गर्दै लेखिन – यो फोटो देख्दा आँखा रसाएर आउँछ । उहाँहरूको आत्मालाई शान्ति मिलोस्, अपहरणमा परी बेपत्ता भएका भाइ विपिन जहाँ कहीँ भए पनि स्वास्थ्य रहुन्, उनको रिहाइको कामना गर्छु ।
यी प्रतिनिधि प्रसङ्गहरू मात्रै हुन्, विभिन्न समूह तथा सामाजिक सञ्जाल मार्फत इजरायलवासी धेरै नेपालीहरूले त्यो कालो दिनको नमिठो सम्झना गरे ।
आतङ्कवाद: एउटा विश्वव्यापी खतरा
अक्टोबर ७, २०२३ को घटनाले सिमाना र संस्कृतिलाई पार गरेर एउटा महत्त्वपूर्ण सत्यलाई उजागर गर्यो: आतङ्कवाद एक विश्वव्यापी खतरा हो जसले समाज र सभ्यतालाई अनेकौँ स्तरमा अस्थिर बनाउँछ ।
यही आतङ्कबाट सुरु भएको युद्धको लहरले आज पुरै मध्यपूर्व तरङ्गित बनेको छ । आतङ्ककारी कार्यहरू केवल विरोधको अभिव्यक्ति वा राजनीतिक वक्तव्यमा सीमित हुदैनन, यी मानवताविरुद्धका अपराधहरू हुन् जसले निर्दोषहरूलाई लक्षित गर्छन् र मानव सभ्यताको जगमाथि प्रहार गर्छन् ।
आधुनिक संसारमा आतङ्कवादको कुनै स्थान हुनु हुदैन । प्रविधिको विकास, कूटनीति र संवादको युगमा, द्वन्द्व समाधान गर्न हिंसा प्रयोग गर्नु मानव प्रगतिको अपमान हो। चाहे धार्मिक कट्टर पन्थ, राष्ट्रवादी हिंसा वा राज्य प्रायोजित आतङ्क होस , यस्ता कार्यहरूले आधुनिक समाजको जगमा रहेका सहअस्तित्व, सहनशीलता र आपसी सम्मानको आधारभूत सिद्धान्तहरूको उल्लङ्घन गर्छन् ।
हिंसाको विनाशकारी चक्र
अक्टोबर ७ को आक्रमणको परिणाम स्पष्ट थियो। इजरायलले गाजामा हवाई आक्रमणहरू सुरु गर्यो, र हमासको सहयोगी हिजबुल्लाह समूहले उत्तरी इजरायलमा हमला गर्यो। दुवै पक्षका निहत्था र निरीह सर्वसाधारणले नै यो द्वन्द्वको मुख्य पीडा सहनुपर्यो। गाजाका सयौँ हजारौँ प्यालेस्टिनीहरू कहिले दक्षिण त कहिले उत्तरतर्फ भाग्न बाध्य भए।
इजरायलको प्रतिशोधात्मक प्रतिक्रियाले हिंसाको चक्रलाई थप बलियो बनायो। परिवारहरूले आफन्तहरूलाई गुमाए, बच्चाहरूले तनाव अनुभव गरे, र सम्पूर्ण बस्तीहरू ध्वस्त भए। । सरकार र सैन्य शक्तिहरू द्वन्द्वमा व्यस्त रहे, सर्वसाधारणले नै सबैभन्दा ठुलो दुःख सहनुपर्यो, गाजामा मात्र हैन संसारको हरेक कुनामा युद्धको नियति आखिर यही हो ।
यो नै आतङ्कवादको वास्तविकता हो: यसले सामाजिक दुःख, घाउहरू जन्माउँछ, रोग भोग र अभाव जन्माउँछ र दीर्घकालीन द्वन्द्वको बीजारोपण गर्छ।
शान्तिको कामना र भविष्यको आशा
अक्टोबर ७ को आतङ्कवादी आक्रमणको वार्षिकोत्सव पीडितहरूको सम्झनामा मात्र होइन, यसले विश्वव्यापी रूपमा आतङ्कवाद विरुद्ध लड्न र शान्तिको पक्षमा बलियो कदम चाल्न आह्वान गर्नुपर्ने आवश्यकता औँल्याउँछ । शान्ति र सद्भाव हिंसा र प्रतिहिंसाबाट कदापि प्राप्त हुँदैन । सम्बद्ध पक्षले यो बुझ्ने पर्छ । यो संसारले एउटा स्वर्णीम भविष्यको लागि प्रयास गर्नुपर्छ, जहाँ विवादहरू संवाद र कूटनीतिबाट समाधान होउन् , मानव जीवनको सम्मान गरियोस्, र मतभेदहरू टुङ्गियुन ।
न्याय, आपसी सम्मान, र कानुनी शासनमा आधारित सभ्य समाजहरू निर्माण होस् । आतङ्कवादको जरा उखेलेर फाल्न शिक्षा, संवाद र सांस्कृतिक आदानप्रदान महत्त्वपूर्ण हुन्छन् । यो युद्धमा होमिएका पक्षहरूले बुझ्न जरुरी छ ।
आतङ्कवाद विरुद्धको वास्तविक विजय बल प्रयोगबाट होइन, शान्ति, करुणा र सहअस्तित्वको साझा मूल्यहरूको जीतबाट प्राप्त हुन्छ। अबको युद्ध शान्तिको हुनुपर्छ, जहाँ कुनै ठाउँलाई फेरि आतङ्कवादले कहिल्यै नर्कमा परिणत गर्न नसकोस् । यसो भनिरहँदा कुनै एक धार्मिक अति वादबाट प्रेरित, आफ्ना नागरिकहरू प्रति अनुत्तरदायी, हिंसा, बर्बरता र आतङ्कको बाटो समाएका आतङ्ककारी तत्त्वहरूको समूल अन्त्य अनिवार्य छ ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com