नेपाल इजरायल डट कम / जेरुसलेम
ग्रीसको रमणीय शहर लउत्राकीमा हालैदेखि सुरु भएको अन्तर्राष्ट्रिय महिला ‘क्याच एन्ड सर्भ बल’ विश्वकप प्रतियोगितामा नेपालले लगातार दुई शानदार जित दर्ता गर्दै आफ्नाे उपस्थिति सशक्त रूपमा दर्ज गराएको छ ।
बुधबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो दिनमै नेपालले बलियो टिम जर्मनीलाई हराउँदै शानदार सुरुवात गर्यो। त्यसको भोलिपल्ट बिहीबार इजरायलविरुद्धको प्रतिस्पर्धामा पनि नेपाली खेलाडीहरू आत्मविश्वासले भरिएको प्रदर्शन गर्दै विजयी भएका छन् ।
यो प्रतियोगिता ‘क्याच एन्ड सर्भ बल’ नामक एक नयाँ तर द्रुत रूपमा लोकप्रिय बन्दै गएको खेलको पहिलो महिला विश्वकप हो। विशेषतः मिड-एज समूहलाई लक्षित गरी खेलिने यो खेलमा बललाई फ्याँक्ने (throw) र समाउने (catch) शैलीमा प्रतिस्पर्धा गरिन्छ। शारीरिक तन्दुरुस्तीका लागि प्रभावकारी मानिने यो खेलले महिलाहरूलाई नियमित व्यायाम, सामाजिक सम्बन्ध विस्तार र जीवनशैली सशक्त बनाउने माध्यम बनेको छ ।
नेपालबाट प्रतियोगितामा भाग लिन जानुभएका टोलीमा चारजना माला खनाल, बिसु पाण्डे, कादम्बरी दाना श्रेष्ठ,निर्मला गुरुङ नेपालबाटै प्रस्थान गरेका छन् भने अन्य तीनजना लमु आल्मोग, दिना न्यौपाने, पवित्रा ढकाल इजरायलमै कार्यरत नेपाली महिलाहरू हुन् । उनीहरू सबैले कुनै सरकारी वा संस्थागत सहयोगबिना, आफ्नै पहल, लगन र देशप्रेमले प्रेरित भई नेपालको प्रतिनिधित्व गरिरहेका छन्।
यी महिलाहरूले प्रतियोगितामा सहभागिता जनाउनु मात्र होइन, उत्कृष्ट खेल कौशल प्रदर्शन गरेर विश्वभरबाट आएका ३५ टिमहरूमध्ये नेपालको टिमलाई चर्चाको केन्द्रमा ल्याएका छन्। प्रतियोगितामा कुल १८ मुलुक सहभागी छन्।
प्रतियोगितामा सहभागी खेलाडीहरूले यो खेल शारीरिक स्वास्थ्य सुधार, मानसिक उत्साह वृद्धि र महिलाको आत्मनिर्भरता अभिवृद्धि गर्ने माध्यम भएको बताउँदै आएका छन्। विशेषतः आप्रवासी जीवनमा पनि यस्ता गतिविधिले ऊर्जा र आत्मबल प्रदान गर्ने उनीहरूको अनुभव छ।
नेपाल टिमको यो सफलताले खेलकुदमा महिलाहरूको योगदान र अन्तर्राष्ट्रिय स्तरमा नेपालको उपस्थिति अझ सशक्त बनाएको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com