परदेश बसाइका पट्यार लाग्दा दिनहरूमा रमाइलो क्षणको परिकल्पना मात्रले पनि केही राहत मिल्दो रहेछ ।कहिले काहीँ त त्यस्तो रमाइलो क्षणलाई वास्तविकतामै अनुभव गर्ने मौका नमिल्ने पनि हैन तर त्यस्ता क्षणहरू अत्यन्तै सीमित हुँदा रहेछन् । आफ्नो कामबाट फुर्सद निकाल्नु , साथीहरू भेला पार्नु अनि गन्तव्य तय गर्नु निकै गाह्रो हुन्छ ।यस्तै अप्ठ्याराहरू बिचबाट निकालिएको छोटो समय भने आज सम्मको सबै तितोपना बिर्साउने गरी स्वादिलो हुँदो रहेछ ।यो सबै भूमिका बाँधेको मैले मेरो समुद्र भ्रमणलाई सम्झनका लागि हो । मेरो दुखाइ कम गर्ने औषधी हो समुद्र । यो बिरानो ठाउँमा मेरो भावना साट्ने साथी हो समुद्र ।त्यसैले जहिले आफ्नो कामबाट अलिकति फुर्सद मिल्छ म उसलाई भेट्न दौडिएर पुगिहाल्छु ।
म जन्मेको ठाउँ पाँचथरको त मलाई सम्झना छैन मैले जलराशी पहिलो पल्ट देखेको बिरिङ खोला हो । असार साउनमा गाउँ नै थर्काउने गरी एकोहोरो तवरले स्वा…. गर्दै भयङ्कर रूपमा प्रस्तुत हुने र फागुन चैततिर हवाई चप्पल पनि बगाउन नसक्ने गरी थला पर्ने त्यसको स्वभाव मलाई पटक्कै मन पर्दैनथ्यो तर पनि म त्यसलाई हेरेर रोमाञ्चित हुन्थेँ । एक पटक आमासँग वराहक्षेत्र घुम्न जाँदा चतरा किनारमा लमतन्न पल्टेको कोशीलाई देखेर सोधेकी थिएँ , ‘आमा समुद्र यही हो ?’ आमाले भन्नु भएको थियो, ‘समुद्र हेर्न त काशी जानु पर्छ छोरी ।’ अलिक ठुली भएपछि आमाको समुद्र ज्ञान बारे थाहा पाएर म खुब हाँसेकी थिएँ ।
सानैमा सामाजिक विषयमा पढेको र अलिक पछि हिन्दी सिनेमाको पर्दामा देखेको बाहेक समुद्रसँग मेरो प्रत्यक्ष संवाद गर्ने मौका मिलेको थिएन ।चार वर्ष अघि मध्यपूर्व एसियाको सानो यहुदी बस्तीमा झरेपछि समुद्रसँग परिचित हुने मौका मिल्यो ।यी चार वर्षमा समुद्रसँगको सम्बन्ध अझ गाडा हुँदै गयो र आज म यसैको मायाले पनि यहाँ बस्न सकेकी हुँ कि जस्तो लाग्छ ।नत्र त टाउकै माथिबाट प्लेन उडेको देखे पिच्छे घर जाऔँ जाऔँ लाग्ने यो बालुवाको थुप्रोमा के रसले बस्नु छ र !
‘ हैन, तिमी त घर छोडेर आएको पिरले समुद्रमा हाम फाल्न जान लागेको हो कि के हो ?’ सबैले मेरो मुखमा हेरे ।
मेरो समुद्रसँग पहिलो भेट इजरायल आइ पुगेको एक हप्ता पछि भएको थियो । पारिवारिक बिछोडले भत्भति पोलिरहेको छातीलाई त्यसले केही शीतल पारिदिन्छ कि भन्ने आशाले र सानै देखिको समुद्र हेर्ने उत्कट अभिलाषाले पनि मलाई त्यतातिर तानेको थियो । यस अघि तेलभिवको चार नम्बर अपार्ट, जहाँ पहिलो दिन वास बसेकी थिएँ। त्यहाँ पुगेर भारी बिसाउने बित्तिकै दिदीहरूलाई सोधेकी थिएँ , ‘समुद्र यहाँबाट कति टाढा पर्छ ?’ सीमा दिदीले व्यङ्ग्यात्मक पारामा भन्नु भएको थियो , ‘ हैन, तिमी त घर छोडेर आएको पिरले समुद्रमा हाम फाल्न जान लागेको हो कि के हो ?’ सबैले मेरो मुखमा हेरे । कोठामा एक छिन हाँसो छायो । त्यति बेलै हो दिदीहरूका मुखबाट मैले समुद्रबारे पैलो पल्ट केही जानकारी पाएकी थिएँ ।
गर्मी याममा प्राय सबै फुर्सदिलाहरूको गन्तव्य स्थान समुद्र हुँदो रहेछ ।अझ साँझ पख समुद्रलाई छोएर बग्ने हावाको शीतल स्पर्श पाउन सबै लालायित हुँदा रहेछन् ।समुद्र वर्णन सुन्ने बित्तिकै मलाई अहिल्यै दौडिएर पुगूँ जस्तो भएको थियो तर भोलि पल्टै काममा जानु पर्ने भएकाले रहर मारेर बसेकी थिएँ ।
शुक्रवार दिउँसो मेरो २ बजे नै छुट्टी भएपछि म कतै नहेरी रमात गानको जबुतिन्स्की रोड हुँदै तेलभिवको हार्चियोन १२ मा रहेको हाम्रो चार नम्बर अपार्टमेन्ट तर्फ लागेँ। करिब पाँच मिनेट बसमा दौडिएपछि म अपार्ट पुगिहालेँ ।कृष्णा र प्रमीला पहिले नै आएर बसिरहेका रहेछन् ।केही छिन पछि सीमा दिदी र अरू दिदी बहिनीहरू पनि आउनु भयो ।अपराह्न ५ बजे हार्चियोन रोडबाट लिभेन्स्की रोड हुँदै हामीले समुद्र यात्रा सुरु गर्यैाँ ।फराकिला सडकहरू, पैदल यात्रुको सुविधाका लागि बाक्लै जेब्रा क्रसिङ, आ काश तिर सोझिएमा अग्ला घरहरू ,बाटाका दुबैतर्फ बाह्रै मास हरियै रहने एकनासे रूखहरू त्यहाँको वैभव पस्कन काफी थिएँ । चार पाँच मिनेटको दुरीमा पैदल यात्रीका सुविधाका लागि चैातारा राखिएका थिए । होटेल रेस्टुरेन्ट र पसलहरूको चहलपहलमा चारै तिर सफा सुन्दर वातावरण त्यहाँको भव्यताका निशानी थिए। हिँडिरहँदा मलाई एक पटक काडमाडौंको बागबजार ,रत्नपार्क आसपासका ठाउँहरू ,पुतली सडकबाट घट्टे कुलोतिर उक्लने बाँसघारीको साँघुरो बाटोको याद नआएको हैन तर त्यो सम्झना धेरै बेरसम्म रहेन ।छोटो दुरीमा रहेका रमणीय पार्कहरूले मेरो ध्यान खिचिहाले ।पार्कमा सपरिवार भेला भएकाहरूको खानपान र नाचगान चलिरहेको थियो भने युवा युवतिहरू अँगालोमा बेरिएर एक अर्कालाई चुम्बन गर्दै स्वतन्त्र हिँडिरहेका थिए ।
युवाहरूको भन्दा अझ परिपक्व शैलीमा माया साट्दै मस्का मस्की गरिरहेका प्रौढ पुरुष महिलाहरू देख्दा लाग्यो के बिपनामै यो सब भइ रहेको छ त ? यो बिपनै हो भन्ने प्रस्ट भएपछि म लाजले खुम्चेर सानी भएकी थिएँ ।त्यतिखेर मलाई आफ्ना गाउँका बुढापाकाहरूको याद आयो, जो बिहे गरेको बर्षौं सम्म एक आपसमा बोल्न लाज मान्थे भन्ने जस्ता किम्बदन्तीहरू मैले गाउँघरमा धेरै पटक सुनेकी थिएँ ।
बाटाभरिका यस्ता अनौठा अपत्यारिला दृश्यहरू हेर्दै अघि बढ्दा हामी थाहै नपाइ समुद्र किनारमा पुगी सकेछौँ । त्यो किनार मैले कल्पना गरे भन्दा धेरै फरक थियो । ठाउँ कुठाउँ सेतै फुलेको काँस घारी र आकार नमिलेका ढुङ्गाहरूले उबडखाबड देखिने बिरिङ जस्तो त त्यो छदै थिएन ।सानदार होटेल भव्य महलहरू आकर्षक बगैँचा सेतो पानीका फोहराहरू भएको त्यस्तो अवर्णनीय सजावट युक्त गन्तव्य मैले यस अघि कहिल्यै देखेकै थिएन ।त्यो सबै चमक दमक देखेर एकपल्ट त म लाटी जस्तै अक्क न बक्क भएकी थिएँ ।समुद्री किनार यति मनमोहक हुन्छ भन्ने मैले अनुमान गरेकी थिइनँ ।हामी फूल फूलका पार्कहरू र ओहोरदोहोर गरिरहेका बाक्लै मानिसहरूका समुहलाई पार गरेर समुद्री तटमा पुग्यौँ । आँखाले भ्याएसम्म निलो पानीको एकछत्र साम्राज्य मैले निकै बेर सम्म नियाली रहेँ ।टाढैबाट दर्शन गरेर मात्र मेरो मन अघाएन । बालुवाको बिस्कुन कुल्चँदै अझ अघि बढेर मैले त्यसलाई आफ्नै हातले छोएँ ।
मरुभूमिको तातो वाफलाई सुलुत्तै निलेको त्यस समुद्रको चिसो स्पर्श पाएर म एक छिन भावविभोर भई रहेँ । समुद्रसँगको यो प्रथम परिचय हार्दिकतापूर्ण रहे पनि मेरो कौतूहल भने शान्त भएको थिएन ।छेउको बालुवामा लमतन्न पल्टेकी गोरी युवतीसँग मैले केही बेर भलाकुसारी गरेँ ।यो भूमध्य सागर रहेछ । यसैको किनारमा उत्तर दक्षिण तर्फ लामो र पूर्वपश्चिम चौडाइ साँगुरो भएर इजरायल भन्ने देश बसेको रहेछ भन्ने थाहा पाएँ ।उत्तरमा तिबेरिया र दक्षिणतर्फ इलात रहेको इजरायलको पूर्व पश्चिमको कुनै कुनै भाग भने यति साँगुरिएको छ कि केही क्षणमै सीमा वारपार गर्न सकिन्छ ।
प्रमीलाले तानेर लगेकीले गोरीसँगको संवाद बिचैमा टुट्न पुग्यो । हेर्दाहेर्दै हामी अस्ताउन लागेको सूर्य विम्ब परी रातै भएको भूमध्य सागरमा पौडी खेल्न भनी पस्यौँ । अघि देखि खेलिरहेका अर्घ नग्न गोरीहरू हामीलाई लुगैसँग पानीमा पसेको देखेर उदेक मानिरहेका देखिन्थे । हामी उनीहरूका पहिरन देखेर लाजले जिब्रो टोक्थ्यौँ र मुख छोपेर हाँस्थ्यौ । त्यहाँ दुई अलग संस्कारबाट निर्मित फरक मनोविज्ञान स्वाभाविक ढङ्गमा प्रकट भएको थियो तर दुवै पक्ष अस्वाभाविक तवरले चकित भइरहेका थियौँ ।श्लीलता र अश्लीलता भन्ने एउटा कृत्रिम अवधारणा हो ।यस्तो धारणा ठाउँ र समाजले आफ्नो अनुकूलताका लागि बनाएको हुन्छ भनेर मैले कतै पढेकी थिएँ ।त्यसको आशय त्यस बेला आफैँ भोग्नाले राम्ररी बुझेँ ।जँघार परसम्म फैलिएको हुनाले निर्धक्क समुद्रसँग खेल्न सकिन्थ्यो ।कमर सम्मको पानी भन्दा पर जान रोक लगाउँदै सुरक्षा गार्डहरू नजिकबाट कराइरहेका हुन्थे। दुई हत्केलाले भुँइ टेकेरै गोडा छ्वाप्ल्याङ छ्वाप्ल्याङ पार्दै विरिङ् खोलामा जस्तै म त्यहाँ रमाएँ ।कहिले म दुवै हातले पानी सोहोरेर सूर्यलाई अर्घ दिए झैँ गर्थे भने कहिले समुद्रलाई दुवै हत्केलाले पालैपालो झापड हान्दै रमाउँथेँ । समुद्र स्नान गरिरहेका बेला मलाई जेठको चर्को घामले पिल्याएको छाला सेलाउन दौडिएर विरिङ् खोलामा पसेका ती दिनको याद आयो ।
भोटे टारमाथिको जङ्गलबाट स्याउले घाँस लिई फर्कँदा पसिनाले निथ्रुक्कै भिजिन्थ्यो ।पुरै शरीर भत्भति पोलेर खप्नु हुन्न थ्यो ।राधिका, निर्मला र म बगरमा स्याउला फालेर दहमा एक छिन डुब्थ्यौँ ।किनारका रूखबाट लछारिएर खोलातिर झुन्डिएको भोर्लाको लहरो समाएर मच्चिँदै पानीमा झ्वाम्म फाल हान्थ्यौँ । भाका हालेर गीत गाउँदै पालैपालो भोर्लाको लहरोबाट खोलामा फाल हानेको दृश्य पक्कै मन लोभ्याउने खालकै हुँदो हो तब त शान्तिपुरबाट अदुवा, अलैँची र अम्लिसो बेच्न बजार जानेहरू अलिक माथि बाँधमा डोको बिसाएर रमाइ रमाइ हामीलाई हेर्थे ।राधिका र निर्मला पानीमा खेल्न छाडेर फूलबारी सजाउने दर्शन ढुङ्गा बटुल्ने कार्यमा लाग्थे ।एकपल्ट म भोर्लाको लहरोबाट हाम फाल्दा ढुङ्गामा निकै मजाले पछारिएकी थिएँ ।ढुङ्गामा ठोकिएर घुँडो झन्नैले खुस्केको । मेरो शरीर समुद्री जङ्घारमा निकै माथिसम्म डुबेको थियो भने मन चैँ विरिङ खोलामा पुरै डुबेको थियो ।मेरा खुटाहरू थाहा नपाउँदो गरी बिस्तारै खतराको सङ्केत भएतिर सर्दै रहेछन् ।छालले हुत्त्याएर मलाई त्यतातिर लाँदै रहेछ। म आत्तिरिएर चिच्याउँदा सीमा दिदी दौडेर आइ मेरो पाखुरामा समातेर तान्नु भयो । निकै सारो चिच्याएछु क्यार, ठुलो समूहले मलाई घेरिहाल्यो । बाहिर निस्केर म लाजले काली निली भएको त्यहाँ उपस्थित सबैले भेउ पाए ।
समुद्रसँग पहिलो पटक अविस्मरणीय परिचय भएको केही महिना पछि म फेरि त्यसलाई भेट्न गएँ ।त्यस पाली त्यसको नुनिलो पानीले मेरो गलाको सिक्री चुँडाली दियो । यस घटना पछि मलाई किन किन झ्वाम्म पसेर पौडी खेलिहाल्न डर लागेर आउँथ्यो । त्यसैले म किनारमा बसेर त्यसलाई एकोहोरो रूपले हेरिरहन्थेँ । त्यो परै देखि निकै वेगले हुत्तिएर मतिर आउँथ्यो र छालहरू माथिसम्म उठेर मलाई छुन खोज्थ्यो। यसरी हामी लामो समयसम्म जिस्किरहन्थ्यौँ । कहिले म त्यसलाई आफ्नै विरिङ् सम्झेर अँजुलीमा उघाउँथे र त्यसको नुनिलो स्वाद थाहा पाएपछि मुखसम्म ल्याएर पनि फालिदिन्थेँ ।कहिले त्यो जुरुक्कै उठेर मेरो कानसम्म आइपुग्थ्यो र गम्भीर आवाजमा केही फुस्फुसाउँथ्यो ।यसरी मैले समुद्र सँग धेरै समय गुजारेकी छु ।
पछिल्लो पटक म त्यसलाई भेट्न तिजको सार्वजनिक बिदामा गएकी थिएँ ।मेरा साथमा मेरी भतिजी मेनुका र इजरायली साथी मिरी थिए । त्यो दिन मलाई धित मरुन्जेल जहाजमा बसेर समुद्र विहार गर्ने रहर थियो तर सधैँ शान्त र गम्भीर देखिने समुद्र त्यस पाली केही रिसाएको जस्तो लाग्थ्यो ।सानो पानी जहाजमा बसेर जब हामी विशाल समुद्रको छातीमा तैरिन थाल्यौँ ।त्यसले आफ्नो ताण्डव नृत्य सुरु गरिहाल्यो ।होचो अग्लो हुँदै हुत्तिएर आउने छालहरूले जहाजलाई कोल्टे पार्थे र हामी जहाजबाट पोखिन पोखिन खोज्दाखोज्दै बच्थ्यौँ ।क्षणभर स्थिर भएको जहाज फेरि अर्कातिर घोप्टिन खोज्थ्यो ।मेनुका र जहाजमा बसेका अरूहरू यसैमा मजा मानी मानी फोटो खिच्न तल्लीन देखिन्थे तर मेरो मुटुले भने ठाउँ छोडी सकेको थियो ।मनमा अनेक अपशकुनहरूले जुलुस गर्न थालिसकेका थिए ।जहाज छेउ लागेपछि समुद्री तटमा पाइला टेक्ने बित्तिकै मैले सबैका सामु कसम खाएकी थिएँ , अब देखि कहिल्यै जहान चढ्दिन भनेर ।त्यस दिन मैले आफूलाई ठुलो दुर्घटनाबाट सकुशल घर फर्केको यात्री ठानेकी थिएँ ।
समय एकनासले बगिरहेकै छ । समयसँगै त्यो भूमध्य सागर पनि कहिले शान्त र कहिले उत्ताउलो पाराले बरिरहेकै होला ।जति बेला म कामबाट फुर्सद पाउँछु ,चार महिना अघि जहाजबाट झन्डै झन्डै घोप्टिएको त्रासद क्षणलाई बिर्सिएर त्यसलाई भेट्न लालायित भइहाल्छु ।
त्यस दिनको कहालीलाग्दो क्षणको सम्झनाले पनि मलाई बाँधेर राख्न सक्दैन ।बितेका डरलाग्दा क्षणहरू पछि फर्केर हेर्दा रोमाञ्चक लाग्दा रहेछन् ।मलाई त्यस्ता रोमाञ्चहरू पोल्टा भरी पोको पारेर नेपाल लैजान पाए कस्तो हुँदो हो भन्ने लागिरहन्छ ।अब म यो देशसँग अघाइ सकेँ तर यसको काखैमा डेरा जमाएर बसेको समुद्रसँग केही मीठा पलहरू साट्ने तिर्सना भने अझै बाँकी नै छ ।
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
Our online portal serves as the heartbeat of the Nepali community in Israel. We don’t just deliver news—we share the stories of lives lived far from home, celebrate contributions, and spotlight the experiences and activities that make OUR COMMUNITY vibrant and strong..
Write us your story
info@nepalisrael.com
- नेपाल इजरायल डट कम (www.nepalisrael.com) मा उहाँको यो पहिलो लेख हो, यसबाहेक उहाँका अरु लेख रचना समाचार सम्प्रेषण भएको भेटिएन , नेपाल इजरायल डट कम भिजिट गर्दै गर्नुहोला । धन्यवाद !