नेपाल इजरायल डट कम / सन् २०२३ अक्टोबरमा हमासको आक्रमणपछि किबुच आलुमिमबाट हराएका नेपाली विद्यार्थी विपिन जोशीबारे पछिल्लो समय पुन एकपटक इजरायली मिडियामा खबर छाएको छ । इजरायलका एक अधिकारीका अनुसार विपिन जीवित रहेको कुनै संकेत अहिलेसम्म फेला पर्न सकेको छैन।
यो जानकारी द टाइम्स अफ इजरायल, इजरायल नेशनल न्युज, इजरायल हायोम लगायतका संचारमा प्रकाशित समाचारमार्फत आएको हो। अधिकारीका भनाइअनुसार, युद्ध सुरु भएपछि हराइरहेका तीन बन्धकमध्ये कसैको पनि जीवित रहेको पुष्टि गर्ने कुनै प्रमाण फेला परेको छैन। तीमध्ये एक इजरायली नागरिक र दुई जना विदेशी छन्—एक जना नेपालका विपिन जोशी र अर्का थाइल्यान्डका पिन्टा नट्टापोङ।
विपिन जोशीलाई सन् २०२३ नोभेम्बरमा हमासका आतङ्ककारीहरूले अपहरण गरेर गाजाको शिफा अस्पतालतर्फ लैजाँदै गरेको भनिएको एउटा भिडियो सार्वजनिक भएको थियो। उक्त भिडियोमा विपिन र एक थाइल्यान्डी नागरिक देखिएका थिए। त्यसपछि उनीहरूको अवस्था पूर्ण रूपमा अज्ञात रहँदै आएको छ।
विपिन जोशीका सम्बन्धमा भएका विभिन्न गतिविधिहरुको समाचार अपडेट नेपाल इजरायल डट कममा भिजिट गर्नुहोस ।
यद्यपि, उनी जीवितै रहेको हुनसक्ने आशा अझै पनि धेरै नेपालीको मनमा बाँचेको छ। विशेष गरी उनका आफन्तहरू अझै पनि उनको सकुशल फर्कने आशामा छन्। नेपाल सरकार र सम्बद्ध कुटनीतिक नियोगहरुले पनि उनको रिहाइका लागि हरसम्भव पहल गरिरहेका छन ।
समाचारमा उल्लेख भएअनुसार, विपिन, नट्टापोङ, र इजरायली नागरिक तमीर निम्रोदीलाई हालसम्म औपचारिक रूपमा मृत घोषणा गरिएको छैन। उनीहरू युद्धपछिको ‘हराइरहेका’ सूचीमा परेका छन्।
केही दिनअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले २१ जना बन्धक जीवित रहेको र थप ३ जनाको अवस्था अनिश्चित रहेको बताएका थिए। ती तीनजना मध्ये नै विपिन जोशी पनि पर्छन्।
नेपालमा र इजरायलमा रहेका उनका आफन्त र नेपाली समुदाय भने अझै पनि विपिन सकुशल फर्कने छन् भन्ने गहिरो आशामा रहेका छौं ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com