उषा न्यौपाने
खुल्ला आकाश मुनि
आँगनको गुन्द्रीमाथि लमतन्न परेर
चम्किला लाम्पुछ्रे र ताराहरू गनिरहँदा
एउटा घुर्मैलो धागोको डोरो
आकाशको एक छेउबाट अर्को छेउसम्म
सुलुलु बग्थ्यो
अनि बाबाले भन्नुहुन्थ्यो;
देख्यौ छोरी?
ऊ त्यो रकेट हो ।
आज यो मध्यपूर्वको देशमा
मेरो झ्यालबाट देखिने
एक टुक्रा आकाशलाई नियालिरहँदा
बत्ती बालेर सेतो धुवाँको मुस्लो बढ्दै मै तिर आउँछ
बत्तिएर मेरै आँखा निल्न खोज्छ
अनि म सुनाउँछु फोन गरेर
बाबा अहिले भर्खरै
रकेटले मलाई परिक्रमा गरेर गयो ।
उहिले हाम्रो आकाशमा
त्यो धागो कसलाई बेर्न हिँडेको थियो कुन्नि ?
तर आज यो सहरमा रकेटको वर्षा हुन्छ
जसले आगोको लप्का बर्साएर
सिङ्गै आकाशलाई कालो धुवाँको मुस्लोभित्र डुबाइदिन्छ ।















