नेपाल इजरायल डट कम, इजरायलका स्याहार केन्द्रहरुमा सहायक कामदारको रुपमा इजरायल जान लागेका २४ जना नेपाली कामदार रोकिएका छन् ।
नेपाल सरकारको श्रम सम्झौता अन्तर्गत इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नका लागि छनोट भई भिसा प्राप्त गरिसकेका २४ जना नेपाली सहायक कामदारहरूको उडान रोकिएको छ।
वैदेशिक रोजगार व्यवस्थापन शाखाका अनुसार, ती कामदारहरूको उडान २०८० असोज २४ गते दिउँसो १ बजेका लागि तय गरिएको थियो। तर, हाल इजरायलमा उत्पन्न अस्थिर राजनीतिक तथा सुरक्षाजन्य संकटका कारण उक्त उडान आकस्मिक रूपमा रद्द गरिएको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “इजरायलको हालको संकटपूर्ण अवस्थामा निर्धारित तालिका अनुसार उडानका लागि तयार भएका नेपाली कामदारहरूले हाललाई इजरायलको यात्रा नगर्न अनुरोध गरिएको छ। देशमा शान्ति र सुव्यवस्था सामान्य भएपश्चात मात्र वैदेशिक रोजगार सम्बन्धी थप प्रक्रिया अघि बढाइनेछ।”
मन्त्रालयका शाखा अधिकृत धनञ्जयकुमार शाहद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा यो निर्णय श्रमिकहरूको सुरक्षालाई ध्यानमा राखेर गरिएको स्पष्ट गरिएको छ।
इजरायलमा पछिल्ला दिनहरूमा जारी द्वन्द्व र सुरक्षा स्थितिको चर्को प्रभाव परिरहेको छ। यस्तो अवस्थामा, नेपाली कामदारहरूलाई ज्यानको सुरक्षाको जोखिम हुनसक्ने भन्दै सरकार सचेत बनेको हो।
यस निर्णयले प्रभावित २४ जना श्रमिकहरूलाई केही समय पर्खनुपर्ने भए पनि, सरकारले उनीहरूको रोजगार सुनिश्चित गर्न आगामी दिनमा वैकल्पिक तालिका तय गरिने बताएको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com