अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमा एउटा भिडियो पोस्ट गरे, जुन जेनेरेटिभ एआईद्वारा बनाइएको देखिन्छ। उक्त भिडियोमा गाजालाई दुबाइ कतारजस्ता गल्फ देशहरु जस्तै रिसोर्टमा रूपान्तरण गर्ने प्रस्ताव गरिएको छ, जसमा उनको सुनौलो मूर्ति, खुमुस खाँदै गरेका एलन मस्क, र अमेरिकी तथा इजरायली नेताहरू समुद्री किनारमा रमाएर नाङ्गै बसिरहेको देखाइन्छ।
“अब कुनै सुरुङ छैन, कुनै डर पनि छैन,” भिडियोको संगीतमा आवाज गुञ्जिन्छ। “ट्रम्प गाजा अन्ततः यहाँ आइपुगेको छ!”
अमेरिकी राष्ट्रपतिले २१ लाख प्यालेस्टिनीहरूलाई गाजाबाट बाहिर निकालेर उक्त क्षेत्रमा अमेरिका स्वामित्वमा हुने “रिभिएरा” बनाउन प्रस्ताव गरेका छन्।
अन्तर्राष्ट्रिय कानुनको उल्लंघन
ट्रम्पको यस्तो असंवेदनशील यस प्रस्तावलाई पश्चिम तटमा आधारित प्यालेस्टिनी प्राधिकरणले “अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन” भनेको छ। प्यालेस्टिनी प्राधिकरणका विदेश मन्त्री वार्सेन अघाबेकीयान शाहिनले यसअघि भनेका थिए, “हामीले विस्थापनको पीडा पहिल्यै भोगेका छौं, र यो पुनः हुन दिने छैनौं।” उनले सन् १९४८ मा इजरायलको स्थापना हुँदा हजारौँ प्यालेस्टिनीहरू विस्थापित भएको घटनालाई उनले स्मरण गराए।
भिडियोको दृश्य
भिडियोको सुरुवातमा गाजाको भग्नावशेषमा हिँडिरहेका नांगो खुट्टा भएका प्यालेस्टिनी बालबालिकाहरू देखाइन्छ। “अब के हुन्छ?” भन्ने प्रश्न लेखिएको कार्ड देखिन्छ। त्यसपछि बालबालिकाहरू गाजाको किनारमा गगनचुम्बी भवनहरूको शहरतर्फ हिंड्छन्।
“डोनाल्ड तिमीलाई स्वतन्त्र बनाउन आउँदैछ,” गीतमा भनिएको छ। “ट्रम्प गाजा उज्यालो बन्दैछ। सुनौलो भविष्य, नयाँ प्रकाश। भोज र नृत्य गर, किनभने काम सम्पन्न भइसकेको छ।”
भिडियोमा अनौठा दृश्यहरू देखिन्छन्—दाह्री राखेका तथा बिकिनी लगाएका नर्तकहरू, ट्रम्पको टाउको आकारको सुनौलो बेलुन समातेर उभिएको एक बच्चा, र अमेरिकी डलरको वर्षातमुनि समुद्री किनारमा नाचिरहेका एलन मस्क।
भिडियोको अन्त्यमा ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू समुद्री किनारमा पेय पदार्थ पिउँदै देखिन्छन्।
आलोचना र प्रतिक्रिया
गाजाको हमास-शासित सरकारी मिडिया कार्यालयले भिडियोको कडा आलोचना गरेको छ।
“यो भिडियो र यसको अपमानजनक सामग्रीले साम्राज्यवादी मानसिकताको झल्को दिन्छ, जुन वास्तविकतालाई तोडमोड गरी कब्जाका अपराधलाई न्यायोचित देखाउन खोज्छ,” हमासका सञ्चार प्रमुख इस्माइल अल-थावाब्ताहले भने।
यस प्रस्तावलाई इजिप्ट र जोर्डनका नेताहरूले तीव्र विरोध गरेपछि ट्रम्पले त्यसपछि संचारकर्मीहरु सँग भने, “यो गर्ने सही तरिका मेरो नै योजना हो। मलाई लाग्छ, दीर्घकालीन रुपमा यही योजनाले नै काम गर्नेछ। तर म कसैलाई बाध्य पारिरहेको छैन, म केवल सिफारिस गर्दैछु।”
प्यालेस्टाइन मुक्ति सङ्गठन (PLO) का कार्यकारी समितिका सदस्य वासेल अबु यूसुफले भने, “यो त केवल ठट्टाको एउटा रूप हो, तर यो गम्भीर र आपत्तिजनक छ। ट्रम्पले प्रस्ताव गरेजस्तो कुनै रिसोर्ट वा मिडल इस्ट रिभिएरा बन्नेछैन। प्यालेस्टिनीहरूका बलिदान र इतिहासलाई बेवास्ता गर्दै यस्तो योजना बनाउनु गलत हो।”
अमेरिकी संचारमाध्यमले गरेको सर्वेक्षणमा १३% अमेरिकीहरूले मात्र ट्रम्पको प्रस्तावलाई राम्रो भनेका थिए, जबकि ५८% ले यसलाई नराम्रो भनेका थिए।
अरबी नेताहरूको वैकल्पिक योजना
संयुक्त अरब इमिरेट्सका एक वरिष्ठ अधिकारीले भने, “हामीलाई पुनर्निर्माणका लागि साहसी योजना आवश्यक छ, तर प्यालेस्टिनी राज्य स्थापनाको स्पष्ट मार्गबिना कुनै योजना अघि बढ्न सक्दैन।”
इजिप्टका लगानी मन्त्री हसन एल खातिबले भने, “प्यालेस्टिनीहरूले आफ्नै भूमिमा बस्ने अधिकार पाउनु पर्छ। हामी कुनै दबाब स्वीकार्ने छैनौं।”
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com