पुजनीय आमा
सादर ढोग,
आमा म यहाँ सन्चै छु र त्यहाँ पनि सबै कुशल मङ्गल होस भनी भगवान् सँग कामना गरेको छु। आमा परदेशबाट धेरै त के नै लेखौ र तिम्रो माया अनि याद धेरै आउँछ। तिम्रा यादहरूले धेरै कमजोर हुन्छु आमा ।
बिहान भालेको डाको सँगै सुरु हुने मेरा दिन, अहिले मोबाइलको अलार्मसँगै सुरु हुन्छन् आमा। आँखा खोल्दा दिनको पहिलो अनुहार तिम्रो हुन्थ्यो। खोइ आज भोलि कसको कसको हुन्छ !
छ न त यहाँ सबै छ तर आमा जे छ सबै बाध्यता छ, रहर केही छैन । त्यो काख, त्यो माया , त्यो गाउँ, त्यो ठाउँ, त्यो हावा, त्यो पानी, त्यो खोला, त्यो वन, त्यो भिर,पाखा, छहरा,पहरा कोही केही छैन। सबै हाँसेर बोल्छन् तर त्यो गाउँको जस्तो माया छैन यहा आमा। हरेक दिन पुरानो यादमा हराइरहेको हुन्छु।
म यहाँ दिन रात ड्युटीमा खटिरहँदा याद आउँछ तिम्रा ती दिन। कसरी सक्थ्यो होला भनेर। जहाँ मेरो भोक को लागि आफ्नो पेट भोको राखी खुवाउने गर्थ्यौँ। कसरी सक्यौँ होला कार्तिक मङ्सिर को बाँझो खेतमा लागेको चिरा जस्तै तिम्रा कुर्कुच्चामा लागेका चिरा कति दुखे होलान्। झरीमा उम्रेका च्याउ जस्तै हात भरीका ठेलाले कति पिडा हुन्थ्यो होला। अझै झन् भदौरे झरीमा भिजेका दाउरा घाँस को भारीले त्यति नै गाह्रो भयो होला ।
अहिले बुढेसकालमा कमजोर हात गोडा,चाउरी परी सकेको छाला गाला, कास जस्तै फुलेको केश यस्तै यादहरू सँगै नौ डाँडा पारी यिनै यिनै याद हरू सँगै मन कमजोर पार्दै कोठाको एक कुनामा दुई थोपा आँसु सँगै हुन्छु आमा , तिम्रो बारे यो पाना मा दुई चार शब्द लेखेर कहाँ सक्छु र ?
सुत्नको लागि बाक्ला बाक्ला फमको बिछ्यौना छ तर त्यो सुकिलो गुन्द्री र तिम्रो गुन्यो को थाङ्नो छैन आमा। पिउन लाई फ्रिज को पानी ,जुस,कोक ,फ्यान्टा, XL,वाइन, बियर सबै छन् तर ठेकीको मही मूलको पानी आम्खोरा राखेर कल कल पारे जस्तो नहुने रहेछ। खानलाई पिज्जा ,बर्गर, स्यान्डविच,छन् तर आँटो, गुन्द्रुक, मकै,ढिँडो, जस्तो नहुँदो रहेछ आमा। चाडबाड आउँछ मेला पर्व हुन्छन् धेरै याद आउँछ ती दिन त्यो बालापनको जहाँ आज मा बाचिएको थियो र खुशी थियौ।
यस्तै यस्तै छ आमा यता, आफ्नो राम्रो ख्याल राख्नु समय मै औषधि खानु, समयमा सुत्नु , आधा निन्द्रा न उठ्नु ,बाँकी अर्को पत्रमा भेट हुनेछु, हरेक जन्म तिम्रो कोखबाट होस ।
तिम्रो परदेशी🇮🇱 छोरो
काले ।
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।