बिदेसिनु नेपाली युवाको बाध्यता र रहर दुवै हो। पछिल्ला केही वर्षयता इजरायल हामी नेपाली कामदारका लागि रोजगारीको प्रमुख गन्तव्य बनेको छ। अहिले धेरै नेपाली महिला र पुरुषहरू केयरगिभर, कृषि मजदुर लगायतका पेसामा इजरायलमा कार्यरत छौँ। यहाँको राम्रो तलब, सुरक्षित वातावरण र अनुशासित कामले नेपालीहरूलाई आकर्षित गरे पनि यसको दीर्घकालीन असरको विश्लेषण भने आज सम्म खासै भएको देखिएको छैन।
इजरायलमा काम गर्ने अधिकांश नेपालीहरू वृद्ध वृद्धा र बिरामीको हेरचाह गर्ने जिम्मेवारीमा छौँ। बिहानदेखि रातिसम्म शरीरको भारी बोझ उठाउनु पर्ने , बारम्बारको उठबस, निद्रा र आरामको कमीले धेरै जनाको शरीर र मानसिक स्वास्थ्यमा असर पार्न थालेको देखिन्छ। कतिपय अवस्थामा उच्च तौलका बिरामीलाई दिनमा दर्जनौँ पटक उठाउनुपर्ने, स्याहार्दा बारम्बार ओल्टाइ पल्टाइ गर्दा र लामो समयसम्म उभिएर काम गर्नुपर्ने हुँदा ढाड दुखाइ,ढाडको हड्डीको समस्या, हातको हड्डी,जोर्नीको दुखाइ, हर्निया ,शिरा सुन्निने (भेरिकोज भेन) जस्ता रोगहरू चाँडै देखा पर्न थालेको देखिन्छ।
म स्वयं पनि यही वास्तविकताभित्रको एक पात्र हुँ। लामो समयदेखि यहाँको वृद्ध वृद्धाको हेरचाह गर्ने काममा लाग्दा आज म मेरुदण्डको गहिरो पीडाबाट गुज्रिरहेको छु। यो पीडा कहिलेकाहीँ सहनै नसक्नु हुन्छ। सँगै हर्नियाँको समस्या पनि थपिदा शरीरमा आज यस्तो चोट पर्यो, जुन अब ठिक पार्न त्यति सजिलो छैन। यो मेरो मात्र कथा होइन, सयौँ नेपाली दाजुभाइ दिदीबहिनीको साझा व्यथा हो।
यस्तै, हेरचाहको तनाव, अनिद्रा ,निरन्तर कामको चाप र परिवारदेखि टाढाको एक्लोपनले ,एन्जाइटी, डिप्रेसन, एक्लोपन , अल्जाइमर्स र मानसिक तनाव बढाउने जोखिम हुन्छ। कृषि क्षेत्रमा काम गर्ने नेपालीहरूमा पनि लामो समय कडा घाममा काम गर्दा डिहाड्रेसन, हिट स्ट्रोक, मिर्गौलामा असर ,छाला र आँखाको समस्या, विषादीको नियमित सम्पर्कले दीर्घकालीन असर, दम र एलर्जी देखिन सक्ने सम्भावना पनि प्रबल छ।
इजरायलमा काम गर्ने नेपालीहरुमध्ये हामी धेरैले स्वास्थ्य जाँचलाई सामान्य ठान्छौ र रोग लुकाएर सहनमा बानी बसालेको छौँ। तर आजको श्रमले पाएको आम्दानी भोलि शरीरको उपचारमा खर्चिनुपर्ने अवस्था नआओस् भनेर सचेत बन्नु आवश्यक छ। कामसँगै आराम र व्यायामलाई प्राथमिकता दिनु, आहारमा सन्तुलन राख्नु, आवश्यक जाँच र परामर्श समयमै गराउनु र मानसिक स्वास्थ्यलाई हल्का नठान्नु सबैका लागि जरुरी छ ।
कामको लागि बिदेसिनु राम्रो हो तर स्वास्थ्यलाई कुल्चिएर धन कमाउनु बुद्धिमानी होइन जस्तो लाग्छ। स्वास्थ्य ले धन किन्न सकिएला तर धनले स्वास्थ्य किन्न सकिन्न भन्ने धेरै उदाहरण देखेको छु! देश र परिवारका लागि कमाउँदा पनि आफूलाई माया गर्न नबिर्सौँ। म आफैंले भोगिरहेको पीडाले सिकाएको यही पाठ हो।
जय देश !
जय चन्द्र सूर्य!
भरत के सी,
विरशेवा इजरायल
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
यहाँबाट पोष्ट गर्नुस
info@nepalisrael.com
झिमरुक गाउँपालिका ७ प्युठान स्थायी ठेगाना भएका भरत केसी देशप्रेम र समाजसेवामा रुचि राख्छन । हाल इजरायलको बिरशेवामा कार्यरत केसी साहित्य र समसामयिक विषयमा कलम चलाउँछन ।
- भरत केसीhttps://nepalisrael.com/nepalisrael/author/bharat
- भरत केसीhttps://nepalisrael.com/nepalisrael/author/bharat
- भरत केसीhttps://nepalisrael.com/nepalisrael/author/bharat
- भरत केसीhttps://nepalisrael.com/nepalisrael/author/bharat





















































