इजरायल र इरान दुई राष्ट्र, दुई धर्म, दुई विचारधारा, दुई सपना । तर जब राजनीति, धर्म, इतिहास, र शक्ति ,यी सबै आपसमा टकराउँछन्, तब प्रेम होइन, युद्ध बोल्छ।
आकाश चिरेको हुन्छ, युद्ध विमान र मिसाइलको प्रहार र आवाजले आमा रुन्छे, बालकको खेलौना धुलो बन्छ ।घरको छाना उडाउँछ भित्ताहरू खरानी हुन्छन्।
ईश्वरको नाममा बन्दुक बोकेको हात, शान्तिको नाममा युद्ध घोषणा गर्छ।
इजरायलको आकांक्षा – अस्तित्व र सुरक्षा ।इरानको दृष्टिकोण -धार्मिक शक्ति र विद्रोह। तर दुःखद यो हो कि दुवै पक्षका आमाहरू आकाश हेरेर शान्ति मागिरहेका छन्।
आज फेरि समाचारमा मिसाइल बर्सिएको, युद्ध विमान उडिरहेको, मान्छेहरू मरी रहेको देखे । इजरायल र इरान भिडेका छन् ५-७ दिन देखि। युद्ध विमान, मिसाइल,गोला बारुद, बोली राखेका छन्, राजनीतिक र वैदेशिक कूटनीतिक चिच्याइरहेका छन् ।
मान्छेहरू मरेका छन् । मान्छे मर्दा म समाचार हेर्छु, आँखामा आँसु आउँदैन, तर मुटुचाहिँ कठोर भएर जान्छ।किनकि त्यो युद्धमा म आफ्नै मनको युद्ध देख्छु।
मेरो मनभित्र पनि एउटा इजरायल बस्छ, जो डराउँछ, जोगिन चाहन्छ, आफूलाई सुरक्षित राख्न चाहन्छ। मेरो भित्रैको इरान पनि बोल्छ – अभिमानमा, विद्रोहमा, म एक्लै सबैलाई जित्न चाहन्छु भन्ने घमन्डमा ।
यो द्वन्द्वको बिचमा म छु एउटा सामान्य मानव । म आफूसँग कहिले सम्झौतामा जान्छु, कहिले विद्रोह गर्छु ।
यी दुई पात्र मभित्र टकराउँछन् हरेक दिन।कहिले “म ठिक छु” भनेर आफैलाई झुट बोल्छु,कहिले ऐनामा हेरेर, “किन यत्रो प्रयास गर्दा पनि म अझै अधुरो लाग्छु?” भन्छु ।
मेरो मनमा पनि युद्ध हुन्छ — डर र आशावादको बिचमा।तर म आफूसँग प्रेम गर्न चाहन्छु,किनकि जब बाहिरको संसारमा बारुद गन्हाउँछ,त्यस बेला आफूसँगको माया शान्तिको गन्ध बन्छ ।
जसरी अहिले इजरायल र इरानको युद्धमा विजेता कोही हुँदैन,त्यसरी आफूसँगको युद्धमा पनि हार्ने त म नै हो । तर यदि प्रेम आउँछ – चाहे त्यो अन्तर्राष्ट्रिय होस् वा व्यक्तिगत होस्- त्यसले बिस्तारै युद्धलाई शान्तिमा रूपान्तरण गर्न सक्छ।
शान्ति बाहिर ल्याउन चाहन्छु त्यसैले, पहिलो युद्ध जित आफ्नै मनको, आफ्नै आत्माको, आफ्नै सोचको सँग छ।
आज एक छिन शान्त भएँ।बाहिर बम बर्सिए पनि मभित्र शान्ति थियो।मैले ऐनामा हेरेँ र भनेँ – “तँ धेरै चोट खाइस्, धेरै गल्ती गरिस्,तर म तेरो साथ छाड्दिन।तँ जस्तो छस्, म तँलाई माया गर्छु।”
त्यही क्षण, मभित्रको युद्ध अलिकति रोकिएजस्तो लाग्यो।जस्तो इजरायल र इरान केही क्षणका लागि मौन बसेका छन् जस्तै।
आज म आफैसँग प्रेम गर्न थालेको पहिलो दिन हो । शायद यही बाटो हो जहाँ आफूलाई स्विकार्नेहरूले संसारको युद्धलाई शान्तिमा बदल्न सक्छन् ।
म आफूसँग प्रेम गर्छु,
किनकि आत्म प्रेम ले हरेक युद्धको सामना गर्न मलाई बल दिन्छ। ।
❤️❤️❤️ ❤️❤️
भरत के सी
वीरशेवा, इजरायल
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
यहाँबाट पोष्ट गर्नुस
info@nepalisrael.com
- भरत केसीhttps://nepalisrael.com/nepalisrael/author/bharat
- भरत केसीhttps://nepalisrael.com/nepalisrael/author/bharat
- भरत केसीhttps://nepalisrael.com/nepalisrael/author/bharat
- भरत केसीhttps://nepalisrael.com/nepalisrael/author/bharat