नेपाल इजरायल डट कम ।
हिउँदको मौसम, तेल अवीवको धरतीमा प्रभाती घामका किरणहरु पोखिन थालेका छन । इजरायलमा सप्ताहान्तको विदा (सब्बात) पश्चात सहर पुन चलायमान हुदैछ, सप्ताहको पहिलो दिन अफिस जानेहरुको घुइंचोले सडक भरिएको छ, सडकमा व्यस्तता छाएको छ ।
आइतबार बिहान नौ बजेको छ, तेल अभिव काफमन स्ट्रिटमा अवस्थित टेक्सटाइल भवनको १४औँ तल्लामा नेपाली राष्ट्रिय गानको धुन बज्न सुरु हुन्छ ।
सयौँ थुङ्गा फूलका हामी, एउटै माला नेपाली
सार्वभौम भई फैलिएका, मेची-महाकाली …
नेपाली राष्ट्रिय गानको ध्वनि गुञ्जिएको यो कक्ष इजरायलमा रहेको नेपाली राजदूतावासको कार्यालय हो, जहाँ कर्मचारीहरु नेपालको राष्ट्रिय झण्डा सामु नेपाली टोपी लगाएर उपस्थित भएका छन ।
इजरायलस्थित नेपाली राजदूतावासले कार्यालय समय बिहान नौ बजे नै सुरु हुनुपर्ने नियम कडाइका साथ लागु गर्नुका साथै दूतावासका कर्मचारीले सेवा सुचारु गर्नु पूर्व अनिवार्य रूपमा राष्ट्रिय गानको धुन बजाएर मात्र कार्य सम्पादन आरम्भ गर्ने परम्पराको थालनी गरेको छ ।
इजरायलका लागि कार्यवाहक राजदूत कुमार बहादुर श्रेष्ठले यस्तो अभ्यासले कूटनीतिक नियोगका कर्मचारीहरूमा राष्ट्र प्रेमको भावना अभिवृद्धि गराउनुका साथै अनुशासन र सेवा भावको सकारात्मक सन्देश प्रवाह हुने बताउनु भयो ।
यसका साथै नेपाली दूतावास परिसरमा निरीक्षण गर्न या विविध कार्यक्रमको सिलसिलामा आइपुगेका अन्य देशका विदेशी प्रतिनिधिहरूलाई समेत नेपाल र नेपालीप्रति सम्मान वृद्धि हुने उहाँको विचार छ ।
नेपाल संवत् ११४५ को आरम्भदेखि दूतावासले विक्रम संवत् उल्लेख हुने आफ्ना सरकारी डकुमेन्ट, विज्ञप्ति लगायत पत्राचारका लागि प्रयोग हुने लेटर हेडसहितका सम्पूर्ण कागजातमा नेपाल संवत् समेत समावेश गर्ने निर्णय गरेको हो ।
नेपाली दूतावास इजरायलका कार्यवाहक राजदूत कुमार बहादुर श्रेष्ठका अनुसार सङ्घीय मन्त्री परिषद्ले अघिल्लो वर्षदेखि नै सरकारी कागजातमा विक्रम संवतसँगै नेपाल संवत् समेत उल्लेख गर्ने निर्णय गरेको भएता पनि व्यवहारिकता या विविध कारणले सम्पूर्ण कूटनीतिक नियोग तथा निकायहरूमा यसको अभ्यास भइसकेको थिएन ।
विगत लामो समयदेखि नेपाल संवत् नेपालको आफ्नै मौलिक संवत् भएकाले यसलाई सरकारी प्रयोजनमा ल्याउनुपर्ने माग आन्दोलनकै रूपमा हुँदै आएको थियो । नेपाली दूतावास इजरायलको यस निर्णयबाट अन्य देशका कूटनीतिक नियोगहरूमा पनि यस अभ्यासको सकारात्मक सन्देश जाने उहाँले बताउनु भयो ।
नेवा खल इजरायल, नेपाल आदिवासी जनजाति महासंघ इजरायल लगायत नेपाल संवत् आन्दोलनका अभियन्ता र यससँग सम्बन्धित संघ-संस्थाहरूले यो निर्णयलाई हर्षका साथ स्वागत गरेका छन्। उनीहरुले यस अभियानलाई जिवन्त राख्न विभिन्न कार्यक्रम, दवावमुलक गतिविधि गर्दै, ज्ञापन पत्र बुझाउदै सिर्जनात्मक भूमिका निभाउदै आएका थिए ।
नेपाल संवत् नेपालको राष्ट्रिय संवत्
इतिहास, महत्त्व र नेपाली पहिचानको प्रतीक
नेपाल संवत् नेपालको मौलिक संवत् हो, जसले नेपाली पहिचान र संस्कृतिको गौरव बोकेको छ। यसको सुरुवात राष्ट्रिय विभूति शंखधर साख्वाले इस्वी सन् ८८० (वि.सं. ९३७) बाट आरम्भ गरेका हुन्।
कार्तिक शुक्लपक्षको प्रतिपदा तिथिबाट ऐतिहासिक नेपाल संवत् परिवर्तन हुन्छ। नेपाल संवत् चन्द्रमानमा आधारित संवत् हो। यसर्थ यसमा ३५४ दिनको एक वर्ष हुन्छ भने प्रत्येक ३ वर्षमा अधिकमास (अनलागा) थपिनाले १३ महिनाको वर्ष हुन पुग्छ । चान्द्रमास अनियमित रूपमा फेरिने र तीन–तीन वर्षमा १३ महिनाको लामो वर्ष पर्ने समस्या देखिएकाले दिन र वर्षलाई मात्र सौर्यमासका आधारमा मिलाएर प्रयोगमा ल्याइएको छ ।
तत्कालीन कान्तिपुरका समाजसेवी व्यापारी शंखधर साख्वाले कान्तिपुर र भादगाउँका गरिब जनताको ऋण फुकुवा गरी नेपाललाई ऋणमुक्त बनाएको ऐतिहासिक कार्यको खुसीयालीमा भक्तपुरका राजा राघवदेवले नेपाल संवत्को स्थापना गरेका थिए। यो केवल ऋण मुक्तिको प्रतीक नभई समाज सुधार र नेपाली एकताको उदाहरण हो।
पृथ्वीनारायण शाहको राज्य विस्तारसँगै कालान्तरमा नेपाल मण्डलको अस्तित्व लोप हुँदै गयो। विक्रम संवत्ले प्रभाव जमाउँदै गयो। नेपाल संवत् पनि बिस्तारै हट्दै गयो। यद्यपि साख्वाले प्रचलनमा ल्याएको नेपाल सम्बत वि.सं.१९६० सम्म पनि नेपालको सरकारी कामकाजको मितिका रूपमा प्रयोग गरिन्थ्यो तर तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले जागिरदारलाई तलब दिन अप्ठ्यारो र दिन गन्ती असजिलो भयो भनी नेपाल संवत्लाई हटाइ यसको सट्टामा विक्रम सम्वतलाई प्रचलनमा ल्याए ।
नेपाल संवत् लिच्छवि कालका राजा राघवदेवको शासनकालमा सुरु भएको हो। त्यसअघि शक संवत् प्रचलनमा थियो। इतिहासकारका अनुसार विक्रम संवत् ७८० देखि ९३५ सम्मको काललाई कालो युग मानिन्छ, किनकि यस समयमा ठोस ऐतिहासिक प्रमाण भेटिएको छैन। नेपाल संवत्ले यसै कालखण्डको अन्त्य गर्दै नयाँ अध्याय सुरु गरेको मानिन्छ।
नेपाल संवत् र आधुनिक नेपाल
नेपाली इतिहास अध्ययन गर्दा नेपालमा विशेष गरी चार वटा संवत् प्रचलनमा आएको देखिन्छ। शक संवत्, मानदेव संवत्, नेपाल संवत् र विक्रम संवत्। यी चारमध्ये नेपाल संवत् सबैभन्दा धेरै समय चलेको संवत् हो।
नेपाल संवत् ८८८ वर्ष औपचारिक प्रचलनमा रह्यो, जुन प्रारम्भमा वि.सं. ९३७ मा सुरु भएर १८२५ सालसम्म जारी थियो। विक्रम संवत् भने राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालादेखि आजसम्म प्रचलनमा छ। नेपालका विभिन्न कालखण्डमा चलाइएका संवत्को अध्ययन गर्दा नेपाल संवत्ले ऐतिहासिक, सांस्कृतिक, र स्वदेशी पहिचानको विशेष महत्त्व राखेको पाइन्छ।
प्रारम्भिक लिच्छविकालमा शक संवत् प्रचलनमा थियो, जसलाई पृथ्वीनारायण शाहले आफ्नो शासनकालमा पुनः लागू गरेका थिए। शक संवत् भारतका शकवंशी शासकको नामबाट आएको हो र हाल पनि भारतमा राष्ट्रिय संवत्का रूपमा यही सम्वत् प्रयोगमा छ।
नेपालका राजा मानदेव द्वितीयको नाममा महासामन्त अंशुवर्माले मानदेव संवत् प्रचलनमा ल्याए। यो संवत् ३०४ वर्षसम्म (ई. ५६६ देखि ८८८ सम्म) चल्यो, तर सार्वजनिक प्रयोगमा भने बिस्तारै हराउँदै गयो। मानदेव संवत् पछि नेपाल संवत्ले यसको स्थान लियो र नेपालमै निर्मित स्वदेशी संवत्का रूपमा लामो समय स्थापित रह्यो।
नेपाल संवत् अन्य संवत्को जस्तो बाह्य प्रभावबाट आयातित नभई स्वदेशमै सिर्जना भएको मौलिक संवत् हो। यस नेपाल संवत्ले ८८८ वर्षसम्म नेपाली प्रशासन, अभिलेख, र ऐतिहासिक दस्ताबेजमा प्रमुख भूमिका निर्वाह गर्यो। आज पनि नेपालको ९० प्रतिशतभन्दा बढी प्राचीन अभिलेख नेपाल संवत्मै लेखिएको पाइन्छ।
नेपाल संवत् र मानदेव संवत्को उत्तराधिकारमा विक्रम संवत्को प्रचलन सुरु भयो। चन्द्रशमशेरले भारतका विक्रमादित्य नामक राजाका नामबाट सुरु गरिएको विक्रम संवत्को प्रयोगलाई नेपालमा पनि लागू गरे। यस संवत् हाल सरकारी र प्रशासनिक कामकाजमा प्रयोग भइरहेको छ ।
नेपाल संवत्को प्रचलन औपचारिक रूपमा रोकिने प्रयास भए पनि यस संवत्ले आफ्नो ऐतिहासिक र सांस्कृतिक महत्त्व गुमाएको छैन। नेवार समुदाय लगायत नेपालीहरूले आज पनि यो संवत्लाई विभिन्न चाडपर्व र उत्सवका माध्यमबाट जीवित राखिरहेका छन् ।
विसं २००७ मा प्रजातन्त्रको स्थापनापछि नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउने अभियान सुरु भयो। २०५६ मा शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरियो। त्यस्तै, विसं २०६५ मा तत्कालीन नेपाल सरकारले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाएको घोषणा गर्यो। आज नेपाल संवत् स्थानीय संस्कृति र परम्पराको संरक्षण र मौलिक तिथिको प्रतीक बनेको छ।
सांस्कृतिक महत्त्व
नेपालका प्रमुख सहरहरू काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, दोलखा, र अन्य ठाउँहरूमा यस संवतको नयाँ वर्षलाई नेवारी समुदायले भव्य रूपमा मनाउँछन् ।
नेपाल संवत् लाई स्थापित गर्न विशेष गरी नेवार समुदायले आन्दोलनकै रूपमा अभियान चलाउँदै आएका छन् । यसमा सो समुदायको तिथि मिति चाडपर्व परम्परा र संस्कृति विशेष रूपमा जोडिएको छ यद्यपि नेपाल संवत् कुनै जाति विशेषको लागि मात्र नभई सम्पूर्ण नेपालीको पहिचान र गर्वको विषय हो ।
यो नेपालमै उत्पत्ति भएको हो। त्यसैले, नेपाल संवत् कतैबाट आयातित नभई नेपालकै आफ्नै राष्ट्रिय र मौलिक संवत् हो।
यो संवत् केवल कुनै राजा महाराजाको नाममा वा गद्दी आरोहणको अवसरमा चलाइएको नभई यसका प्रवर्तक सामान्य नागरिक हुन्। परोपकारी व्यक्तिद्वारा सामाजिक सेवा, न्याय, र समानताको प्रतीक स्वरूप देशको नाममा समर्पित देशकै नाममा चलाइएको संवत् भएकोले यसलाई जनस्तरबाट स्थापित मौलिक नेपाली संवत् भन्न सकिन्छ।
नेपाल संवत् नेपालको मौलिकता, इतिहास, र पहिचानको प्रतीक हो। यसले शंखधर साख्वाको परोपकार, राजा राघवदेवको नेतृत्व, र नेवार समुदायको संस्कृतिलाई जीवन्त राखेको छ। नेपाल संवत्को संरक्षण र प्रवर्द्धनले नेपाली पहिचान र गर्वलाई अझ मजबुत बनाउनेछ।
नेसं ११४५ कछलागा २ – १७
कृष्णपक्ष थापा,
जेरुसलेम इजरायल
सूचना प्रविधिका साथै कला र साहित्यमा रुचि राख्ने कृष्णपक्ष थापा इजरायलको जेरुसलेममा कार्यरत छन ।
1 Comment
Pingback: नेपाली राजदूतावास इजरायलमा नेपाल संवत् समावेश गरिनुका साथै राष्ट्रिय झन्डाको साथमा राष्ट्रिय