अक्टोबर ७, २०२३ मा हमास आतंककारी समूहद्वारा इजरायलको किब्बुज आलुमिम बाट अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशी जीवित रहेको जानकारी प्राप्त नभएको खबर छ। इजरायली सेनाले विपिन जीवित नरहेको पुष्टि गर्दै यो जानकारी इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितलाई दिएको हो।
राजदूत पण्डितका अनुसार सोमबार बिहानै इजरायल समय अनुसार ७:३० बजे राजदूत पण्डित, विपिनका दाजु किशोर जोशी, बहिनी पुष्पा जोशी र इजरायली सेनाको प्रतिनिधिबीच पनि सामूहिक भिडियो कल भएको थियो। सो क्रममा सेनाले विपिन जीवित बन्धकहरूको सूचीमा नरहेको औपचारिक रूपमा बताएको थियो।
पण्डितले भने, “इजरायली सेनाले पुष्टि गर्यो कि विपिन जोशी जीवितहरुको लिस्टमा छैनन्। यो खबर इजरायली पक्षबाट आधिकारिक रूपमा आएको हो। बहुराष्ट्रिय सेनाले गाजाको सुरुङभित्र बाँकी बन्धकका शरीरहरु खोजीकार्य जारी राखिरहेको छ।”
“हामीलाई इजरायली सेनाले भन्यो — विपिनको नाम आज रिहा गरिने २० जीवित बन्धकहरूको सूचीमा छैन,” तर विपिन जोशीको परिवार भने, “जबसम्म सबै बन्धकहरू फिर्ता भएका छैनन्, हामी अझै आशावादी छौं।”
इजरायली सेनाको भनाइअनुसार, विपिन लगायत हराएका हरुको स्थिति पत्ता लगाउन गाजाको हमास नियन्त्रणमा रहेका सुरुङहरूमा खोजी जारी रहेको र बहुराष्ट्रिय सेनाले सम्भावित स्थानहरूमा अनुसन्धान गरिरहेको जानकारी राजदूत पण्डितले दिएका छन्।
हमासको सैन्य शाखाले समेत विपिन जीवित नरहेको इजरायली पक्षलाई जानकारी गराएको बताइएको छ। इजरायली पक्षका अनुसार, विपिन जोशी अपहरणपछि केही महिना—मंसिरसम्म—जीवित रहेको प्रमाणित हुने भिडियो पनि त्यसपछि मात्र सार्वजनिक भएको थियो।
नेपालको परराष्ट्र मन्त्रालयले पनि यो घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ। मन्त्रालय स्रोतका अनुसार, “इजरायली अधिकारीबाट प्राप्त जानकारीअनुसार विपिन जोशी जीवित नरहेको पुष्टि भएको छ। हामी थप विवरणका लागि इजरायली पक्षसँग निरन्तर सम्पर्कमा छौं।”
फर पश्चिम विश्वविद्यालयमा अध्ययनरत विपिन जोशी सन् २०२३ मा ‘Learn and Earn’ कार्यक्रमअन्तर्गत कृषि तालिमका लागि इजरायल गएका थिए।
७ अक्टोबरमा हमासले गाजामा आक्रमण गर्दा उनी अन्य सहपाठीहरूसँगै किब्बुज आलुमिममा थिए। सोही बेला उनलाई हमासले अपहरण गरेको थियो।
विपिनको अपहरणपछि नेपाल र इजरायल दुवै देशका अधिकारीहरूले उनको खोजीमा निरन्तर प्रयास गरेका थिए। उनको परिवारले इस्रायल, अमेरिका र संयुक्त राष्ट्रसंघमार्फत अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्न पनि पहल गरेको थियो तर आज प्राप्त भएको यो जानकारीले नेपाली समुदायमा गहिरो दुख छाएको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com







































