इजरायली सेना (IDF) ले नेपाली विद्यार्थी विपिन जोशीको निधनको दुःखद पुष्टि गरेको छ, जसलाई हमासले दुई वर्ष अघि किबुच आलुमिमबाट अपहरण गरेका थिए। अपहरणमा परेको लामो समयसम्म अनिश्चित तर पर्खाई र आशामा बाँचिरहेका परिवारहरूका लागि यो खबर ठूलो वज्रपात बनेर आएको छ, विशेषगरी इजरायली सेनाले गरेको यो दाबीपछि कि विपिन जोशीको हत्या युद्धको पहिलो महिनामै भइसकेको रहेछ।
हमासले गाजा युद्धविराम सम्झौताको एक भागको रूपमा फिर्ता गरेका २० जीवित बन्धकहरु र चार मृतक बन्धकको शवमध्ये विपिन जोशी (२३ वर्षीय नेपाली नागरिक) को शव पनि रहेको इजरायली सैन्य स्रोतले जनाएको थियो। हमासले ४ शवहरू गएराति हस्तान्तरण गरेको थियो। सेनाले फरेन्सिक परीक्षणबाट प्राप्त शवहरुको पहिचान पुष्टि गरेको जेरुसेलम पोस्टले जनाएको छ। विपिन जोशी संगै शव पहिचान गरिएका अन्य बन्धक गाई इलौज (२६ वर्षीय इजरायली) थिए।
विपिन जोशीको मृत्यु कैदमा रहँदा नै भएको भन्ने यसअघि पुष्टि भएको थिएन। झन्डै एक वर्षसम्म परिवारले उनको जीवनका कुनै सङ्केत पाएका थिएनन्। परिवारमा आशाको सञ्चार तब भयो, जब युद्धविराम सम्झौता हुनुभन्दा केही घण्टाअघि इजरायली सेनाले नोभेम्बर २०२३ तिर उनलाई कैदमा रहंदा देखाइएको भिडियो सार्वजनिक गर्यो, जसलाई परिवारले ‘जीवनको प्रमाण’ मानेको थियो।
तर, यो क्षणिक आशालाई त्रासद घोषणाले चकनाचूर गरिदियो। इजरायली सेनाले उपलब्ध गुप्तचर र अन्य सूचनाहरूको आधारमा अनुमान गर्दै भनेको छ कि जोशीको हत्या युद्धको पहिलो महिनाभित्रै बन्धकको रूपमा रहँदा भएको थियो। सन् २०२३ को अक्टुबर ७ तारिखमा हमासले इजरायलयमा गरेको अप्रत्याशित आक्रमणपछि जोशीसहित २ सय ५१ जना अपहरणमा परेका थिए । इजरायलमा भएको आक्रमणमा १० जना नेपालीसहित १ हजार २ सय जनाको ज्यान गएको थियो ।
विपिनसहित ज्यान गुमाउने १० जना सबै नेपाली सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान सङ्कायमा अध्ययनका क्रममा ’लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल पुगेका विद्यार्थी थिए ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com







































