नेपाल इजरायल डट कम
परदेशको माटोमा पसिना बगाउन हिँडेका हरेक प्रवासीले मनमा आफ्नै कथा लुकाएर हिँडेका हुन्छन् । ती अधिकांश रहरले भन्दा पनि कहरले आफ्नो घर छोडेर पराई भूमिमा सङ्घर्ष गर्न आएका हुन । इजरायल प्रवासमा कर्म गर्न आएका हरेक नेपालीहरू सँग पनि यस्तै देश दुख्नुको पीडा छ अनि असीमित सपनाको भारी ।
.
करिब पाँचदेखि सात हजारको सङ्ख्यामा रहेका यी नेपाली मनहरू, जो कोही सरकारी संयन्त्रको सिधा बाटोबाट इजरायल भित्रिएका छन् भने कोही विविध माध्यम भएर इजरायल आएका छन् । परिवेश र बाध्यताका कथाहरूलाई साइडमा राखौँ, जसरी आए पनि हरेकको छातीभित्र एउटा देश छ – नेपाल र त्यहाँ हुन्छ नेपालीपनको भावना । त्यसबाहेक हरेक नेपालीले आआफ्नो पहिचान भेषभुषा संस्कृति र मौलिकता आफ्नो छातीको कुनामा सजाएर राखेका हुन्छन् ।
इजरायलमा विभिन्न जातजाति, भेषभुषा, सांस्कृतिक र सामाजिक पहिचान भएका धेरै सङ्घसंस्थाहरू खुलेका छन् र अझै खुल्ने क्रममा होलान । राजनीतिक, धार्मिकका साथै खेलकुद, मनोरञ्जन, कला, साहित्य र सङ्गीतजस्ता अन्य विभिन्न उद्देश्य लिएर पनि सङ्घ संस्थाहरू खुलेका छन् । ती सबै हाम्रो नेपाली समुदायका प्रतिनिधि हुन । तिनले हामी बसिरहेको नेपाली समुदाय र त्यसका विविध आयामहरूको , मौलिकताको र विचारहरूको प्रतिनिधित्व गर्छन् ।
स्वदेश वा विदेश संसारको जुनसुकै कुनामा पुगे पनि तिनले आफ्नो मौलिकता र पहिचान आफ्नो अस्तित्वको भित्री तहमा कहिल्यै नमेटिने गरी आरूढ गराएका हुन्छन् ।
आज समाज लोकतान्त्रिक मूल्य मान्यता र समावेशिताको मर्म र सिद्धान्तमा हिँडिरहेको छ जहाँ हरेक समुदायका हक अधिकार र पहिचानका आवाजहरू कुनै न कुनै रूपमा अभिव्यक्त भएका हुन्छन् । तिनका सामाजिक सांस्कृतिक रङ्गहरू प्रस्तुत भएका हुन्छन् .. हो त्यही नै हो हामी नेवालीको गौरव । हो तिनै हुन नेपाली समुदायका पहिचानगत सौन्दर्य र शृङ्गारहरू ..
इजरायलका नेपालीहरूको , उनीहरूले निर्माण गरेका सङ्घ संस्था र समूहहरूको त अझ निकै ठुलो भूमिका र महत्त्व रहेको छ । उनीहरूले देशमा भएको प्राकृतिक विपत्तिका अवस्थामा फुकाएको मन, समुदायका लागि गरेको समाजसेवा वा गरिब असहायहरूको सहायताका लागि फैलाएका परोपकारी हातहरूको कथा निकै लामो छ । ती निकै प्रशंसायोग्य र सह्रानीय छन् ।
तिनका सुकर्महरू, कीर्तिहरू दस्ताबेजयोग्य छन् ताकि इजरायलमा आउने भावी पीढीहरूका लागि पनि ऊर्जा र प्रेरणा बन्न सकुन् ।
विभिन्न जातजाति धर्म र सांस्कृतिक विविधताका मौलिक रङ्गहरू हाम्रो आभूषण हो भने अनेकतामा एकता नै हाम्रो शक्ति हो । यद्यपि जतिसुकै सङ्घसंस्था स्थापना भए पनि हरेक सङ्घ संस्थाले मनन गर्नुपर्ने कुरा के हो भने तिनले दिने सन्देश एउटै हुनुपर्छ – एकता र मेलमिलाप । लगभग एकै परिवेश र नियतिले डोर्याएर आफ्नो देश छोडेर पराई मुलुक / परदेशमा कर्म गर्न आइपुगेका हामी परदेशीहरू हौँ । प्रवासमा नेपाली एकताको महत्त्व अझ धेरै ठुलो हुन्छ ।
कुनै पनि सङ्घसंस्थाले अर्को जाति समूह वा आफ्नोभन्दा पृथक् उद्देश्य र अस्तित्व बोकेको संस्थालाई घृणा र निषेधको नजरले कदापि हेर्नु हुँदैन । “ए फलाना त हाम्रो जाति, हाम्रो समूहको होइन पो रहेछ “ भनेर सँगै खेली-खाएका साथीहरू पनि बाटोमा भेट्दा अर्को पक्षको हो रहेछ भन्दै मुन्टो बटार्दै हिड्नुपर्ने स्थिति आउनु हुँदैन । यस्तो भावना पलाउनु नितान्त अपरिपक्व सोच हो ।
नेपाली नेपालीबिचमा मनमुटाब पैदा गराउने “घृणा र तिरस्कार” जस्ता शब्दलाई हरेक सङ्घसंस्थाले आफ्नो शब्दकोशबाटै हटाउन सक्नुपर्छ । किनकि जतिसुकै सानो समुदाय किन नहोस् त्यहाँ स्थापित हरेक तह, तप्का र तत्त्व एउटा “विचार” हो व्यक्ति होइन ।
कुनै पनि नेपालीले आफू कुनै अमुक जाति वा समूहमा नपरेकै कारण अपमान र तिक्तता महसुस गर्नु हुँदैन । यसप्रति हरेक संस्थाहरू सचेत हुनुपर्छ । विविधतामा एकता , मेलमिलाप , आपसी सद्भाव र सम्मान हामी नेपालीको सदियौँदेखिको परिचय हो, परम्परा हो । हामी एकता र आत्मीयताको त्यही सुमार्गमा हिँड्नुपर्छ ।
प्रवासमा खोलिएका पवित्र उद्देश्यका वैचारिक, सांस्कृतिक, धार्मिक, राजनीतिक सङ्घसंस्थाहरूले एक-अर्काको श्रद्धा र सम्मानका साथै परदेशमा रहेका सम्पूर्ण नेपालीको हक-हित र एकताको पक्षमा उभिनुपर्छ । एक-आपसमा मनमुटाब, फुट र बेमेलको स्थिति बन्यो भने यसले उल्टो समाजको अहित गर्छ । इजरायल प्रवासमा रहेका संस्थाहरूले ठुलो-सानो प्रतिशोध र अहङ्कार होइन, सेवा र सहकार्यका हातहरू अघि बढाउनु पर्छ ।
हत्केलाका सबै औँलाहरू एकत्रित भएपछि मुठ्ठी बलियो भएझैँ हामी नेपालीबिचको एकताले नै प्रवासमा हामी नेपालीको उपस्थिति बलियो हुने हो । इजरायलको जस्तो युद्धग्रस्त भूमिमा आफ्नो पसिना बगाइरहेका हामी हजारौँ नेपालीका लागि, सुख दुःखका पलहरू बाँड्न, दुखमा सहयोगी हात फैलाउन र खुसीमा सँगै हाँस्नका लागि, सङ्घसंस्थाहरूको निस्वार्थ सेवा र एकताको भावना अपरिहार्य छ ।
आशा गरौँ, यी सङ्घसंस्थाहरू र भविष्यमा बन्ने सङ्घसंस्थाहरूले समेत आफ्नो मूल उद्देश्य नबिर्सी, परस्पर सद्भाव कायम गर्दै सामाजिक उत्तरदायित्वमा अझ फराकिलो भएर सोच्नेछन्, ताकि हरेक प्रवासी नेपालीको मनमा सुखद अनुभूति भरियोस् ।
कृष्णपक्ष थापा
जेरुसलेम इजरायल
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
यहाँबाट पोष्ट गर्नुस
info@nepalisrael.com
सूचना प्रविधिका साथै कला र साहित्यमा रुचि राख्ने कृष्णपक्ष थापा इजरायलको जेरुसलेममा कार्यरत छन । उनको ब्लग krishnathapa.comउनका अरु लेखहरु पढ्न सकिन्छ ।
- कृष्णपक्ष थापाhttps://nepalisrael.com/nepalisrael/author/nepalisrael-com
- कृष्णपक्ष थापाhttps://nepalisrael.com/nepalisrael/author/nepalisrael-com
- कृष्णपक्ष थापाhttps://nepalisrael.com/nepalisrael/author/nepalisrael-com
- कृष्णपक्ष थापाhttps://nepalisrael.com/nepalisrael/author/nepalisrael-com