साँझको निलो आकाशमा टाँसिएको चन्द्रमा
त्यो जुन, मलाई तिमी सम्झाउने गर्छ।
तिमी शान्त, उज्यालो, टाढा भएर पनि
हरेक रात सपनामा आइपुग्ने छायाँ।
र, त्यो जुनकिरी?
सानो, न्यानो उज्यालो बोकेर अँध्यारो भित्र
टिलिक्क टिलिक्क चम्किने
जुनकिरी ,तिमी भित्रको नमिठो याद,
जुन अँध्यारो रातमा पनि आशाको झिल्को झल्काइरहन्छ।
म कहिलेकाहीँ सोच्दछु ,के तिमी जुन हौ?
उचाल्न नसकिने, टाढा टाँसिएको, तर मुटुभरि बस्ने?
वा, तिमी ती जुनकिरी हौ
साथ दिन आउने, अँध्यारोमा चम्किने,
तर बिहानको उज्यालो देख्न नपाउँदै हराउने?
जुन हेर्दा मनभरि तिमी आउँछ्यौ,
तर जुनकिरीले सम्झाउँछ
तिमी एकपल्ट टल्कियौ, र त्यसपछि हरायौ।
यस्तो लाग्छ
म जूनजस्तै स्थिर भएर तिमीलाई हेरेँ, तर
तिमी जुनकिरी भएर एक छिन बल्यौ, अनि हरायौ।
तर तिमी भुल न त
जुन सधैँ आकाशमा रहन्छ,
र जुनकिरी जति हराए पनि, रात फेरि आउँछ
र फेरि टल्किन्छ एउटा सानो उज्यालो
सपना भएर, तिमी भएर।
भरत के सी,
वीर शेवा
झिमरुक गाउँपालिका ७ प्युठान स्थायी ठेगाना भएका भरत केसी देशप्रेम र समाजसेवामा रुचि राख्छन । हाल इजरायलको बिरशेवामा कार्यरत केसी साहित्य र समसामयिक विषयमा कलम चलाउँछन ।















