कहिलेकाहीँ केही यात्राहरू कुनै योजनाविना सुरु हुन्छन्, तर समयको चाल, परिस्थितिको बहाव, र भित्रैको उत्तरदायित्व बोधले ती यात्राहरूलाई अर्थ, उद्देश्य र अन्ततः अस्तित्व दिन्छ।
सन् २००७ मा इजरायलमा जब गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को औपचारिक स्थापना भयो, त्यो क्षण संस्थागत पहलको थालनी त थियो, तर सिङ्गो नेपाली समुदायभित्र यसको प्रभाव वा महत्त्वबारे खासै चासो जागेको थिएन।
त्यो समय हामीमध्ये धेरैजसो नेपालीहरू रोजगारी, श्रम, र अस्तित्वको सङ्घर्षमा गुम्सिएका थियौँ। हाम्रो प्राथमिकता पेट, पसिना र परिश्रम थिए — संस्था, नेतृत्व, र अधिकारभन्दा धेरै परको कुरा ।
मैले त्यति बेलासम्म एनआरएनएको औपचारिक सदस्यता लिएको थिएन, तर मनभित्र एउटा आवाज निरन्तर गुन्जिरहन्थ्यो ।
“के हामीलाई यहाँ एउटै छातामुनि नल्याउने कुनै पहल गर्न नपर्ने?”
यसै सोचको बाटोमा, हामी केही सचेत युवाहरू मिलेर सन् २०१० मा नागरिक समाज इजरायल स्थापना गर्यौँ ।
म त्यो संस्थाको उपाध्यक्षको जिम्मेवारीमा रहेँ।
त्यो समयमै हामीले नेपाल सरकारको इजरायलस्थित दूतावासलाई सप्ताहान्त आइतबारका दिन पनि खुला राख्नुपर्ने मागसहित गयौँ।
तर जवाफमा दूतावासले भन्यो —
“हामी अरू संस्था चिन्दैनौँ, एनआरएनएको माध्यमबाट आउनुहोस्, अनि मात्र हामी तपाईँहरूको प्रस्ताव परराष्ट्र मन्त्रालयमा विचारार्थ पठाउँछौँ।”
त्यो एक वाक्य — एउटा सरकारी जवाफ मात्र थिएन, त्यो त मेरो जीवनको मोड विन्दु बन्यो। त्यसपछिको यात्रामा मैले नागरिक समाजबाट एनआरएनए इजरायलसम्मको पुल बन्ने निर्णय लिएँ।
एनआरएनएको औपचारिक सदस्य बनेँ, र अभियानमा पूर्ण रूपमा समर्पित भएँ। कहिले सल्लाहकार, कहिले मिडिया सल्लाहकारको रूपमा संस्थासँग जोडिएँ।
त्यसपछि २०१९–२०२१ कार्यकालदेखि कार्यसमितिको पूर्ण जिम्मेवारीमा प्रवेश गरेँ — महासचिवको रूपमा दुई कार्यकाल र पछिल्लो कार्यकालमा अध्यक्षको रूपमा सेवा गर्ने अवसर प्राप्त गरेँ।
यो केवल पदको यात्रा थिएन, यो त सङ्कल्प, समर्पण र संस्थागत पुनर्जागरणको यात्रा थियो।
यी वर्षहरू केवल घटनाहरूको सङ्कलन होइनन् — यी त त्याग, विश्वास, र साझा भविष्यको निम्ति लडिएको सम्झनाका पानाहरू हुन्।
हामीले एउटा असम्भवजस्तै देखिने सपना देख्यौँ — इजरायल सरकारबाट एनआरएनए इजरायलको कानुनी मान्यता प्राप्त गर्नु। र त्यो सपना साकार बन्यो सन् २०२४ मा — जब एनआरएनए इजरायलले अन्ततः कानुनी मान्यता प्राप्त गर्यो।
त्यो दिन म मात्र होइन, हाम्रा सपनाहरू, हाम्रा अग्रजहरूको योगदान, अनि हाम्रा पुस्ताहरूको आशा पनि प्रमाणित भएको दिन थियो।
यो उपलब्धिमा तत्कालीन राजदूत कान्ता रिजाल, कार्यकारी निर्देशक डा. मर्गरिता वल, नितु खतिवडा, मेरो सम्पूर्ण कार्यसमिति, र विशेष गरेर उपाध्यक्ष कादम्बरी दाना श्रेष्ठज्यू (जो अहिले स्वदेश फर्कनु भएको छ) र ऋतु मरहट्ठा दिदी — उहाँहरू सबैको नाम अमिट योगदानको सूचीमा उल्लेख हुनै पर्छ।
अर्कोतर्फ, सन् २०२३ मा सुरु भएको युद्ध — एउटा अर्को प्रकारको परीक्षा थियो।
सङ्कटको बिचमा हाम्रो जिम्मेवारी के हो भन्ने प्रश्न हाम्रो अगाडि थियो । मैले नेतृत्वको साँचो अर्थ बुझेँ — जहाँ भाषणभन्दा काम, आवेगभन्दा धैर्य, र व्यक्तिगतभन्दा सामूहिक हित प्रधान हुन्छ ।
हामीले सङ्कटको बेला पनि समन्वय, सहयोग र सतर्कताको नयाँ उचाइ देखायौँ।
आज म गर्वका साथ भन्न सक्छु —
हामीले पुराना पुस्तालाई एनआरएनएको अर्थ बुझाउन सक्यौँ — एनआरएनए केवल संस्था होइन, परदेशमा नेपालीपन जोगाउने ढाल हो । नयाँ पुस्ताले पनि बुझ्न थालेका छन् — एनआरएनएमा आबद्ध हुनु भनेको आफ्नो हक, पहिचान र भविष्य सुरक्षित गर्नु हो।
आज जब म १४ वर्षे यात्रालाई स्मृतिको ऐनामा हेर्छु —
म मुस्कानसाथ भन्छु — यो केवल जिम्मेवारी होइन, मेरो जीवनको गौरवमय साधना थियो।
अझै गर्न धेरै बाँकी छ, पुग्नुपर्ने थुप्रै शिखर छन्, तर जुन बाटोमा हिँडेँ, त्यो बाटो केवल मेरो लागि होइन — हजारौँ परदेशी नेपालीहरूलाई समेट्ने साझा सपना थियो।
अन्तमा,
२००७ सालदेखि एनआरएनए इजरायलमा प्राण दिएर, माटोको गन्ध बोकेर, यो संस्था हामीसम्म ल्याउन योगदान गर्नुभएका अग्रजहरूप्रति पनि म उच्च सम्मान प्रकट गर्दछु।
उहाँहरूको बलिदान, दृष्टिकोण र दृढताबिना आज हामी यहाँसम्म आइपुग्ने कुरा सम्भव थिएन।
श्रीकृष्ण भण्डारी
निवर्तमान अध्यक्ष (२०२३–२०२५)
गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद्, इजरायल
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
यहाँबाट पोष्ट गर्नुस
info@nepalisrael.com
श्रीकृष्ण भण्डारी गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलका निवर्तमान अध्यक्ष हुन्, उनको कार्यकालमा इजरायलमा एन आर एन ए विधिवत रुपमा दर्ता भएको थियो । यसबाहेक लेखन समाजसेवा र पत्रकारितामा उनको लामो अनुभव छ ।
- This author does not have any more posts.