काठमाडौं, २०८२ जेठ ६ – वैदेशिक रोजगार विभागका महानिर्देशक श्री कमल प्रसाद भट्टराई र नेपालका लागि इजरायलका महामहिम राजदूत श्री Shmulik Arie Bass बीच आज काठमाडौंमा सौहार्दपूर्ण द्विपक्षीय वार्ता सम्पन्न भएको छ।
छलफलका क्रममा इजरायललाई नेपाली श्रमिकका लागि सुरक्षित र आकर्षक रोजगारी गन्तव्यका रूपमा विस्तार गर्दै, हाल छनौट भइसकेका केयर गिभरहरूको छिटो प्रस्थान सुनिश्चित गर्ने विषयमा प्राथमिकता दिइयो।
click Here
दुवै पक्षबीच भएको वार्तामा हाल उपलब्ध रोजगारी अवसरका अतिरिक्त, नयाँ क्षेत्रको पहिचान गर्दै रोजगारीको दायरा फराकिलो बनाउने, सीपयुक्त र उच्च आम्दानी हुने रोजगारीमा प्राथमिकता दिने, र प्रक्रियालाई कानुनी, पारदर्शी तथा व्यवस्थित बनाउने विषयमा गहिरो छलफल भएको थियो।
भविष्यमा श्रम क्षेत्रमा नीति निर्माणमार्फत सुरक्षित र उत्तरदायी रोजगारीको ढोका खोल्ने, र नेपाली श्रमिकलाई सक्षम, सुरक्षित र सम्मानजनक वातावरणमा इजरायलमा काम गर्ने अवसर प्रवर्द्धन गर्ने सहमति भएको जानकारी गराइएको छ।
छलफलमा विभागका उप-महानिर्देशक श्री चन्द्र बहादुर शिवाकोटी र निर्देशक श्री गिरीराज ज्ञवालीको समेत उपस्थिति रहेको थियो।