नेपाल इजरायल डट कम
गाजामा हमासद्वारा अपहरणमा परेका नेपाली युवा विपिन जोशीको एउटा ३० सेकेन्ड लामो भिडियो क्लीप आज राति सार्वजनिक हुँदैछ। यस भिडियोका कारण उनका परिवारजन अझै पनि विपिन जीवित रहेकोमा आशावादी बनेका छन्।
द टाइम्स अफ इजरायलका अनुसार, यो भिडियो अपहरण भएको केही हप्तापछि खिचिएको फुटेजबाट लिइएको हो। इजरायली समयअनुसार राति ८:५५ बजे (नेपाली समय राति करिब १०:३५ बजे) उक्त भिडियो प्रसारण गरिने बताइएको छ।
बन्दी तथा हराइरहेका परिवारहरूको मञ्च (Hostages and Missing Families Forum) ले जारी गरेको विज्ञप्तिमा भनिएको छ,
“गाजामा भेटिएको यो जीवनको संकेतले हामीलाई विश्वास दिलाउँछ कि विपिन जोशी शायद जीवित हुन सक्छन्।”
फोरमका अनुसार यो भिडियो इजरायली सेनाले प्राप्त गरेको र गुप्तचर अधिकारीहरूले जोशी परिवारसँग साझा गरेको हो।
हमासनजिकको एक सञ्चार संस्थाबाट यो दस्तावेज बरामद भएको जनाइएको छ।
गाजाबाट बरामद सामग्रीबीच इजरायली सेनाले उक्त फुटेज फेला पारेको र पछि त्यसको अनुसन्धानपछि परिवारलाई जानकारी दिएको हो।
अनुमानअनुसार भिडियो सन् २०२३ नोभेम्बर महिनामा खिचिएको हो, जसमा विपिनलाई बन्धक अवस्थामै देखाइएको छ।
विपिन जोशीको पृष्ठभूमि
विपिन जोशी सम्बन्धी सबै अपडेटहरुका लागि यहाँ क्लिक गर्नुहोस ।
विपिन जोशी कञ्चनपुरका एक कृषि विद्यार्थी हुन्। उनी ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायलको किब्बुत्ज अलुमिममा तालिमका लागि गएका थिए।
अक्टोबर ७, २०२३ मा हमासले इजरायलमा गरेको आक्रमणका क्रममा उनका केही साथीहरूको हत्या भएको थियो भने उनी अपहरणमा परेर बन्धक बनेका थिए।
एक प्रत्यक्षदर्शीका अनुसार,
“हमासले पहिलो ग्रिनेड फ्याँक्दा विपिनले त्यसलाई समातेर बाहिर फ्याँके, तर दोस्रो ग्रिनेड विस्फोट विस्फोट भयो । पछि आतंककारीहरूले उनलाई अपहरण गरी गाजातर्फ लगे।”
२२ महिनापछि, गत अगस्टमा विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी तेलअभिभस्थित होस्टेज स्क्वायर पुगेका थिए।
त्यहाँ पुष्पाले भावुक हुँदै भनिन्,
“हामीलाई यहाँ आउन २२ महिना लाग्यो। नेपालमा हामी एक्लै भयौं। दाजु, तिमी बलियो बन, हामी तिमीलाई धेरै सम्झिरहेका छौं।”
हाल विपिनकी आमा र बहिनी संयुक्त राष्ट्रसंघमार्फत अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्न अमेरिका पुगेका छन् र विभिन्न मानवअधिकार संस्था र अधिकारीहरूसँग भेट गर्दै विपिनको रिहाइका लागि अपील गरिरहेका छन्।
यो भिडियोले पुनः विपिन जोशीको अवस्थाबारे नयाँ आशा जगाएको छ। परिवार, नेपाली समुदाय र अन्तर्राष्ट्रिय सहयोगीहरू सबैको साझा अपेक्षा एउटै छ —
“विपिन जोशी चाँडै सुरक्षित रूपमा घर फर्किउन्।”
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com