गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (NRNA NCC) इजरायल तथा श्रमिक अधिकारका लागि क्रियाशील संस्था काभला ओवेदको संयुक्त पहलमा २०२५ मे २८ गते, बुधबार नेपाली श्रमिकहरूका हक, अधिकार, कानुनी प्रावधान र कार्यस्थलसम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यले “Know Your Rights” नामक भर्चुअल कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।
कार्यक्रम साँझ ७ बजे (इजरायली समय अनुसार) Zoom भर्चुअल माध्यमबाट सञ्चालन गरिएको थियो।
एनआरएनए इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली राजदूतावास इजरायलका उपनियोग प्रमुख श्री कुमार बहादुर श्रेष्ठ, तृतीय सचिव श्री सन्जय कुमार शाह, एनआरएनए आइसिसी सदस्य श्री विशाल ज्ञवाली र श्रीमती ज्योति शर्मा, साथै काभला ओवेद संस्थाबाट ओरित र करिन विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रमको स्वागत मन्तव्य एनआरएनए इजरायलकी प्रवक्ता तथा कार्यक्रमकी संयोजक मन्जु थपलियाले राख्नुभएको थियो भने नेपाली राजदूतावास, इजरायलका उपनियोग प्रमुख श्री कुमार बहादुर श्रेष्ठले कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्नुभयो। उहाँले इजरायलमा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको हक, हित तथा अधिकारका विषयमा प्रकाश पार्दै, प्रवास जीवनका क्रममा उत्पन्न हुने समस्या र गुनासाहरूको यथोचित समाधानका लागि नेपाली राजदूतावास सधैं प्रतिबद्ध र सक्रिय रहेको स्पष्ट पार्नुभयो।
काभला ओवेदका सामाजिक कार्यकर्ता तथा कानुनी सल्लाहकार ओरितले कृषिक्षेत्रका श्रमिकहरूका समस्या र समाधानका विषयमा जानकारी दिनुभयो भने करिनले केयरगिभर श्रमिकहरूसँग सम्बन्धित अधिकार, समस्या र प्रश्नहरूको विस्तृत उत्तर दिनुभयो।
एनआरएनए इजरायलका महासचिव श्री महम्मद अली मियाँका अनुसार कार्यक्रममा कृषिक्षेत्र, केयरगिभर तथा विभिन्न पेसामा संलग्न २७७ जना नेपाली श्रमिकहरूको सहभागिता रहेको थियो। साथै, इजरायलस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरू तथा नेपालबाट समेत उल्लेखनीय सहभागिता रह्यो।
कार्यक्रमको मुख्य उद्देश्य इजरायलमा कार्यरत नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई उनीहरूका कानुनी अधिकार, कर्तव्य र नियमहरूबारे जानकारी दिनु र उनीहरूको जिज्ञासा सम्बोधन गर्नु रहेको थियो। दुई घण्टासम्म सञ्चालन भएको यस अन्तरक्रियात्मक सत्रमा सहभागीहरूले पूर्व-प्रस्तुत प्रश्नहरूमार्फत विविध विषयमा सुस्पष्ट जानकारी प्राप्त गर्न सके।
कार्यक्रमको समापन गर्दै एनआरएनए इजरायलका अध्यक्ष तथा सभापति श्रीकृष्ण भण्डारीले इजरायलमा कार्यरत नेपाली श्रमिकहरूको हक, अधिकार र कानुनी सरोकारका विविध पक्षहरूमा प्रकाश पार्नुका साथै प्राप्त ज्ञान र जानकारीलाई समुदायमा फैलाउन सहभागीहरूलाई सचेतनाका लागि अग्रसर हुन आग्रह गर्नुभयो।
विदेशी भूमिमा श्रम गरिरहेका नेपाली श्रमिकहरूका लागि यस्ता कार्यक्रमहरू सूचना र सचेतनाको महत्वपूर्ण माध्यम बन्ने विश्वास गरिएको छ। आयोजकहरूको भनाइ अनुसार, आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा निरन्तरता दिइने छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com