गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् इजरायलले नेपालमा गएको बाढी र पहिरोमा परेकाहरूको सहयोगका लागि १,०३,६७६.२० (एक लाख तीन हजार छ सय छयहत्तर रुपैयाँ) सङ्कलन गरेर गैर आवासीय नेपाली सङ्घको आपतकालीन कोषमा जम्मा गरेको छ ।
गैर आवासीय नेपाली सङ्घ केन्द्रीय समितिको सचिवालयले एक विज्ञप्तिमार्फत नेपालमा गत महिना भएको अविरल वर्षापछि उत्पन्न विपद्को परिस्थितिमा पीडितहरूको राहत तथा सहयोगका लागि अन्तर्राष्ट्रिय तथा राष्ट्रिय समन्वय परिषद्सहित विभिन्न देशमा रहनुभएका सम्पूर्ण गैर आवासीय नेपालीमा हार्दिक अपिल गरेको थियो । सचिवालयले एन आर एन ए इजरायलद्वारा सङ्कलित रकम २७ अक्टोबर २०२४ मा जम्मा भएको ब्यहोरा जानकारी गराएको छ।
एनआरएनएले अविरल वर्षाका कारण विभिन्न ठाउँमा आएको बाढी, पहिरो र भूक्षयको प्रकोपबाट बच्न सुरक्षा मापदण्डहरूको पालना गरी सतर्कता अपनाउन सबैमा अनुरोध गर्दै कोषमा सङ्कलित रकममार्फत बाढी पहिरोबाट प्रभावित नागरिकको जीवन रक्षा, बेपत्ताको खोजी, उद्धार र राहतको कार्यलाई व्यवस्थित गर्दै लैजाने बताएको छ । साथै NRNA NCC इजरायलले यस्ता दैवी प्रकोप तथा विपत्तिको घडीहरूमा ICC समितिसँग निरन्तर सहयोग र समन्वय गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
महाङ्कालका बाडीपीडित लाई एन.आर.एन.ए. इजरायलको सहयोग
यसै गरी एक भिन्नै कार्यक्रममा ललितपुर जिल्ला स्थित महाङ्काल गाउँ पालिकाका बाढि पहिरो पीडितहरूलाई गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् इजरायलले आर्थिक राहत प्रदान गरेको छ । गत असोज १२ गते महांकाल गाउँ पालिकामा भीषण बाढी पहिरो आई ठुलो जनधनको क्षति हुन पुगेको थियो ।
सो बाढी पहिरोमा परि मृत्यु हुनेहरूमा वडा नम्बर १ का १ जना, वडा नम्बर २ का एकै परिवार का ४ जना र अरू २ परिवार का २-२ जना सहित ८ जना र वडा नम्बर ३ का एकै परिवार का ३ जना र अर्को १ जना गरी ४ जना सहित जम्मा १३ जनाको निधन भएको थियो ।
पीडित परिवारलाई एन. आर. एन.ए. इजरायल मार्फत लक्ष्मी रावत, राधिका कुवर, रोशन चौधरी, विमला जी.सी., सीता पौडेल, शिवराज खड्का, राजन दवाडी, दिलीप सुनदास, एलेक्स कुमार आले, सन्दु शेर्पा, रुपेश विष्ट, गीता कुवर, सृष्टि लिम्बु, सुमित्रा राई, वर्षा राई, कमल बन गिरि, रजनी बिडारी, दिलीप सापकोटा, गीता बज्राचार्य र हरिभक्त ढकालबाट प्राप्त नगद सहयोग जनही ५ हजार का दरले रु ६५ हजार राहत दिइएको हो ।
नेपाल इजरायल डट कम लाई एन आर एन ए इजरायलका महासचिव मोहम्मद अलि मियाँले दिनु भएको जानकारी अनुसार ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १० स्थित वेलकम पार्टी प्यालेसमा कार्तिक १३ गते एन. आर. एन. ए. इजरायलका प्रतिनिधि श्री मातृका तिमल्सिनाको उपस्थिति र महाङ्गाकाल गाउँ पालिका वडा नम्बर २ का वडा अध्यक्ष श्री जोनि कुमार न्यासुर र वडा नम्बर ३ का वडा अध्यक्ष श्री मनोज पराजुलीको संयोजनमा उक्त राहत रकम हस्तान्तरण गरिएको थियो ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com