नमस्कार मेरो नाम माया घले हो, म विगत लामो समयदेखि इजरायलमा छु । म इजरायलमा रहेको बेथिति र विशेष गरी एक जना ठग हुन्डी व्यापारीको र उसले गरेको कर्तुतको बारेमा केही लेख्न गइरहेकी छु ।
यो इजरायलमा रहेका हरेक नेपालीले बुझ्न अति जरुरी छ ताकी भोली तपाई पनि विभिन्न प्रलोभनमा परी यस्ता ठगहरूको जालमा फस्न सक्नु हुनेछ । इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूको सचेतनाको लागि म यस्ता ठगहरूबाट जोगिनुहोला भन्ने अनुरोध गर्दछु ।
इजरायलमा फस्टाएको हुन्डीको कारोबार
इजरायलमा कति नेपाली होलान् ? यसको यकिन तथ्याङ्क सरकारी नियोगमा छैन किनकि अवैध बाटो भएर इजरायल प्रवेश गरेका नेपालीका साथै प्रवेशाज्ञा सकिएका धेरै नेपाली इजरायलमा कार्यरत छन् । दीर्घकालीन स्याहार केन्द्र तथा कृषि क्षेत्रमा काम गर्ने श्रमिकका रूपमा जिटुजी मार्फत आएका नेपाली र लिभ इन केयरगिभर सहित सबै गर्दा लगभग ५-६ हजार नेपाली इजरायलमा रहेको अनुमान गर्न सकिन्छ । भर्खरै गोला प्रथा मार्फत छानिएका दुई हजार केयरगिभर थपिने हो भने यो सङ्ख्या अझै बढ्नेछ ।
प्रत्येक नेपालीको सालाखाला आम्दानी दुई लाखको हाराहारीमा हुन्छ । यसरी हेर्दा दैनिक करिब ३ देखि ५ करोड रुपैयाँ इजरायलबाट नेपाल पठाइन्छ तर त्यो रकमको थोरै अंश मात्र वैधानिक बाटो भएर रेमिट्यान्सको रूपमा नेपाल पुग्छ । अधिकांश रकम हुन्डी मार्फत कालो धन बनेर अन्य देशका कारोबारी समक्ष पुग्ने गरेको छ ।
सरकारी कमजोर नीतिको फाइदा उठाउँदै इजरायलबाट पैसा उठाएर हङकङ सिंगापुर तथा चीन पठाएर वा यतैका कारोबारीलाई दिएर दर्जनौँ हुन्डी वालाहरूले निर्बाध रूपमा कारोबार गरिरहेका छन् ।
इजरायलको हरेक स्थानमा कोही न कोही पैसा उठाउने सम्पर्क व्यक्तिहरू छन् । यसका लागि हुन्डी गिरोहले आकर्षक रेट दिने र घरघरमै गएर सङ्कलन गर्ने होडबाजी नै चलेको छ ।
यो पनि पढ्नुहोस
हुन्डीबाट तलब पठाउदा सिंगापुरका ५ जना नेपाली प्रहरी जेलमा
नेपाली दूतावास इजरायलले बेला बेला हुन्डीमार्फत कारोबार नगर्न र ठगीबाट बच्न सूचना निकालिरहेको हुन्छ तर इजरायलका धेरै नेपाली थोरै पैसाको प्रलोभनमा परेर वा थाहा नभएर यही माध्यमको भर परिरहेका छन् ।
हुन्डी र भ्रष्टाचारको सिधा सम्बन्ध हुन्छ । सर्वप्रथम अवैधानिक माध्यमबाट पैसा पटाउँदा स्वतः राजस्व छली हुने भयो, यो राष्ट्र र अर्थतन्त्रको लागि निकै घातक कुरा हो । यसबाटै तस्करी हुने गर्छ भने हुन्डी भ्रष्टाचारीहरूको कालो धनलाई चोख्याउने उत्तम उपाय पनि हो ।
सिन्धुपाल्चोकका हुन्डीवाला स्याङ्बु शेर्पाले यसरी ठगे
यसै पनि अवैध कारोबार हो हुन्डी असहजता या अज्ञानताका कारण हुन्डी कारोबार भइरहेका छन् । यतिले नपुगेर हुन्डीबाट प्रत्यक्ष ठगिनेहरूको सङ्ख्या पनि ठुलो छ । सिन्धुपाल्चोकका एक हुन्डी कारोबारी स्याङ्बु शेर्पाले सोझा सिधा दिदीबहिनीको विश्वास जितेर लाखौँ रकम हिनामिना गरी सम्पर्क विहीन भएको घटनाको बारेमा लेख्दै छु ।
यस घटनाको म आफै साक्षी भएकोले भोली अरू सोझा सिधा इजरायलका नेपालीहरू कोही पनि नठगिउन भनेर यो लेख लेखेकी हुँ । करिब ३० जना जति इजरायलमा कार्यरत नेपाली अहिले मेरो सम्पर्कमा आएका छन् । आफूले दिएको पैसा घरमा नपठाइदिएपछि फिर्ता माग्दा त्यस हुन्डीवालाले उल्टै तथानाम गालीगलौज गर्ने , धम्की दिने गरेको प्रमाण मसँग सुरक्षित छन् । तैपनि यस्ता ठगहरू खुलेआम हिँडिरहेका छन् ।
इजरायलमा रहनु भएको र अब नेपालबाट इजरायल आउन तरखरमा रहेको नयाँ नेपालीहरूलाई यो व्यक्तिसँग सावधान रहनुहुन विनम्र अनुरोध गर्दछु !
लामो समय १६/१७ वर्ष देखी इजरायलमा बस्दै आएको स्थायी ठेगाना जिल्ला : सिन्धुपाल्चोकका एक हुन्डी वाला (स्याङ्बु शेर्पा) ले म सँग सम्पर्कमा आएका नेपालीहरू लगभग ३० जना जतिको रकम हिनामिना गरेर मोबाइलको ईनकमिंग कल नै ब्लक गरेर ती ठग लुकेर बसेको अवस्था छ ! आफ्नो पैसा फिर्ता माग्दा महिला दिदीबहिनीहरूलाई धम्की दिएको भ्वाईस रेकर्ड पनि मसँग सुरक्षित रहेको छ, महिलालाई तथानाम गालीगलौज गर्नेलाई कुनै न कुनै दिन कानुनको कठघरामा उभ्याएर छोड्ने छु ।
यिनको अर्को ठगी धन्दा ब्याज र ढुकुटी :
नेपालमा ठुलो वित्तीय अपराध मानिने ढुकुटी र मिटर ब्याजको कारोबार इजरायलमा खुलेआम फस्टाएको छ । वैधानिक बाटोबाट रकमान्तर गर्न होस् या बचत गर्न बैङ्क र वैधानिक संस्थाहरूको उपस्थिति हुँदा हुँदै पनि ज्ञान र चेतनाको अभावका कारण इजरायलका अधिकांश नेपालीहरू यस्तो कारोबारमा होमिएका छन् ।
थाहा नभएका नेपालीहरूलाई सचेत बनाउने अथवा जनचेतना जगाउने कार्य गर्नु त कता हो कता अझ सामाजिक संस्थाका अगुवाहरू नै यस्तो धन्दामा संलग्न रहेका छन् ।
इजरायलमा रहेका नेपालीहरुको करोडौँ ठगेर उक्त हुन्डीवाला ब्याज र ढुकुटीको कारोबार समेत गरेर पनि सोझा साझा नेपालीलाई ठगी गरिरहेको मैले थाहा पाएकी छु ।
‘इजरायली नागरिकता’ दिलाउने आश्वासन बाँडेर ठगी
इजरायलमा निकै लामो समय बिताई सकेका यी हुन्डीवालाले रोजगारीको अवधि सकिएर विभिन्न कारणले अवैध हुन पुगेका र अप्ठेरोमा परेका सिधा साधा नेपालीलाई इजरायली स्थायी परिचयपत्र ‘तुदा जियोत’ समेत दिलाइदिने भन्दै आश्वासन दिदै हिडेको छ ।
भारतीय बाटो भएर इजरायलमा आएकोहरुको आफन्त इजरायलमा ल्याइदिने भन्दै लोभ लालचमा पारेको पनि जानकारीमा आएको छ । यसरी खुलेआम ठगी, मानव तस्करी र अवैध धन्दा गरिरहंदा पनि इजरायलको नेपाली समाज चुपचाप भएर बस्नु लाजमर्दो बिषय हो । सम्बद्ध निकाय समेत मुकदर्शक भएर बसेको छ । मैले दुतावासमा पनि यस बारेमा जानकारी गराएको छु ।
मैले ती सबैको प्रमाण सुरक्षित राखेको छु । उचित समयमा थप प्रमाण सम्बन्धित निकायमा बुझाउने छु । तर त्यसभन्दा पहिले यो र यो जस्तै ठगहरूबाट इजरायलमा रहेका अरू कोही पनि नेपाली नठगियोस् भन्ने उद्देश्यले सचेतनाका लागि यो लेख लेखिरहेकी छु ।
यस लेखको माध्यमबाट म इजरायलमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई यस्ता व्यक्तिहरू देखि सावधान रहन, इजरायलमा यो व्यक्तिसँग पैसाको कारोबार नगर्नु हुन सबै नेपालीहरूलाई हार्दिकताका साथ अनुरोध गर्दछु ।
तपाईँले दुःख र परिश्रम गरेर कमाएको पैसालाई दुई, चार पैसाको लोभ र लालचमा नपरी सुरक्षित र वैधानिक तरिकाको माध्यमबाट नेपाल पठाउनु होला । इजरायलमा रहेको सम्पूर्ण नेपालीहरू लगायत नेपालबाट इजरायलमा आउन तयारी अवस्थामा रहेको नेपालीहरूलाई मेरो आग्रह छ !
माया घले
उदयपुर, हाल:इजरायल
नेपालको उदयपुर स्थायी ठेगाना भएको माया घले अहिले इजरायलमा कार्यरत हुनुहुन्छ ।
1 Comment
Pingback: हुन्डीबाट तलब पठाउदा सिंगापुरका ५ जना नेपाली प्रहरी जेलमा - नेपाल इजरायल डट कम (nepalisrael.com)