२४ भदौ, काठमाडौं । सिंगापुर प्रहरीको गोर्खा कन्टिन्जेन्टमा कार्यरत पाँच जना नेपालीलाई हुण्डी कारोबारमा संलग्नको आरोपमा जेल सजाय सुनाइएको छ ।
उनीहरुमाथि १ लाखदेखि २८ लाख सिंगापुर डलर अवैध रुपमा नेपाल पठाएको अभियोगमा अदालतमा मुद्दा दर्ता भएको थियो ।
सिंगापुरको अंग्रेजी दैनिक पत्रिका द स्ट्रेट्स टाइम्सका अनुसार, जेल सजाय हुनेमा दिकबहादुर गुरुङ (३२), गंगाप्रसाद राई (४३), अशोककुमार थापा मगर (३९), मिङ्मार शर्पा (४४) र सीताराम तामाङ (४०) छन् ।
उनीहरुमध्ये दिकबहादुरलाई कम्तीमा १० लाख सिंगापुर डलर अवैध रुपमा पठाएको आरोपमा १४ हप्ता जेल सजाय भएको छ ।गंगाप्रसादलाई ६ लाख पठाएको आरोपमा १० हप्ता जेल सजाय भएको छ ।
अशोककुमारमाथि १ लाख ३ हजार र मिङ्मारमाथि ४ लाख ७२ हजार रुपैयाँ अवैध रुपमा पठाएको आरोप छ । अशोकलाई चार हप्ता र मिङ्मारलाई ७ हप्ता जेल सजाय भएको छ ।
सीताराममाथि २८ लाख ६० हजार रुपैयाँ रुपैयाँ पठाएको आरोप छ । उनीहरुलाई सिंगापुरको भुक्तानी सेवा ऐन (पीएसए) अनुसार दोषी ठहर गर्दै ५ सेप्टेम्बरमा जेल सजाय भएको द स्ट्रेट्स टाइम्सले लेखेको छ ।
जेल सजाय लगत्तै ड्युटीबाट हटाएर कोर्ट मार्शल गर्ने तयारी
द स्ट्रेट्स पत्रिकाका अनुसार, सिंगापुर प्रहरीले पाँच जनामाथि अवैध कारोबारको आरोप लागेलगत्तै फ्रन्टलाइन ड्यूटीबाट हटाएको थियो । जेल सजाय भएलगत्तै आन्तरिक कारबाही पनि सुरु हुने सिंगापुर प्रहरी फोर्सका प्रवक्ताले बताएका छन् ।
द स्ट्रेट्स टाइम्सका अनुसार, प्रतीक थापा (४१) माथि पनि यस्तै किमिसको आरोपमा अनुसन्धान भइरहेको छ । तर, उनी हालसम्म फरार छन् । उनी सन् २००४ मा सिंगापुर प्रहरीमा जोडिएका थिए भने फेब्रुअरी २०२२ मा अवकाश पाएर नेपाल फर्किएका थिए ।
अभियोजक ब्रिएन तानले अदालतमा बताएअनुसार, प्रतीकले गोर्खा रेजिमेन्टका अधिकारीहरुका लागि सन् २०२१ जुनको आसपासबाट अवैध रकम ट्रान्सफर सेवा क्याम्पबाटै सुरु गरेका थिए ।
अदालतमा प्रस्तुत विवरणअनुसार, पछि उनले गंगा र दिकलाई आफ्नो काममा सामेल गराएका थिए । उनीहरुले रकम संकलन गर्न सीतरामलाई पनि प्रयोग गरेका थिए ।
यो पनि पढ्नुहोस :
इजरायलका हुन्डीवाला ३० जनाको करोडौँ रकम लिएर सम्पर्क विहीन
‘सिंगापुरमा पैसा लिएपछि प्रतीकसँग मोबाइलमा सम्पर्क हुने रहेछ, त्यसपछि उनले नेपालमा त्यही बराबरको रुपैयाँ रकम पठाउने व्यक्तिको परिवारलाई दिने गरेका थिए’, अभियोजनकर्ताहरुले भनेका छन् । सिंगापुर प्रहरीले मार्च २०२३ मा गोर्खा रेजिमेन्ट क्याम्पमा छापा मारेर उनीहरुमाथि छानबिन थालेको थियो ।
नेपाली नागरिकहरु भारत, बेलायती सेनासँगै सिंगापुर प्रहरीमा पनि भर्ती भएर काम गर्दै आएका छन् । यस घटनाले सिंगापुरमा कार्यरत नेपाली प्रहरी छविमा नकारात्मक असर पुगेको बताइएको छ ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
1 Comment
Pingback: इजरायलका हुन्डीवाला ३० जनाको करोडौँ रकम लिएर सम्पर्क विहीन - नेपाल इजरायल डट कम (nepalisrael.com)