नेपाल इजरायल डट कम, जेरुसलेम । इजरायलमा रहेका नेपाली आदिवासी जनजातिहरूले ३० औँ विश्व आदिवासी दिवस भव्य रूपमा मनाएका छन्।
“संविधान प्रदत्त अधिकार आदिवासीहरूको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर । प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागू गर ।” भन्ने मूल नाराका साथ १६ अगस्त शुक्रवार इजरायलको तेल अभिव स्थित लेविन्स्की पार्कमा सम्पन्न भएको थियो ।
नेपाली राजदुतावास इजरायलका कार्यवाहक राजदूत कुमार बहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेफिन इजरायलका पूर्व अध्यक्ष तथा संरक्षक परिषदका सदस्य सुन्दर योन्जन तामाङ, पूर्व अध्यक्ष तथा संरक्षक परिषदका सदस्य नयन इम्सोङ लिम्बु, पूर्व अध्यक्ष तथा संरक्षक परिषदका सदस्य नानी माया योन्जन तामाङ, निवर्तमान अध्यक्ष एवं प्रमुख सल्लाहाकार कुमार आङ्देम्बे लिम्बुको विशेष आतिथ्यता रहेको थियो ।
प्रवासी नेपाली मन्च राष्ट्रिय कमिटिका सचिव – रमेश जोशी तथा जनसम्पर्क समिति इजरायल कार्यवाहक सभापति – कटक श्रेष्ठ लगायत अन्य संस्थाका प्रतिनिधिहरु समेतको आतिथ्यता रहेको थियो ।
नेपाल आदिवासी जनजाति महासङ्घ इजरायलको आयोजना र महासङ्घमा आबद्ध सदस्य संस्थाहरूको सह-आयोजनामा सम्पन्न सो कार्यक्रममा विभिन्न समुदायका नेपाली आदिवासी जनजातिहरूको मौलिकता झल्काउने नृत्य, झाँकी र र्यालीहरू प्रस्तुत गरिएको थियो ।
संयुक्त राष्ट्र सङ्घले सन् १९९३ लाई विश्व आदिवासी वर्षका रूपमा घोषित गरेपछि सोही वर्षदेखि प्रत्येक वर्ष यो दिवस मनाउन थालिएको हो । विश्व आदिवासी दिवस प्रत्येक वर्ष अगस्ट महिनाको ९ तारिखमा विश्वव्यापी रूपमा मनाइन्छ।
इजरायल प्रवासमा रहेका नेपालीहरूले भने कार्य व्यस्तताका बाबजुद विदाको अनुकूल समय मिलाएर शुक्रवार साँझ एक आपसमा शुभकामना आदानप्रदान गर्दै नेपाली आदिवासी समुदायको मौलिक झाँकी तथा मौलिक खानाको परिकारहरूको साथमा सो कार्यक्रम मनाएका हुन् ।
आदिवासी जनजातिहरूको संयुक्त स्वागत नृत्यका साथ आरम्भ भएको सो कार्यक्रममा ह्योल्मो, तामाङ, शेर्पा, गुरुङ, मगर, नेवार तथा राई/लिम्बु किरात समुदायका मौलिक संस्कृति झल्कने आकर्षक नृत्य र झाँकीहरू प्रस्तुत गरिएका थिए ।
कलाकार तथा अन्य सहभागीहरू आ आफ्ना परम्परागत पोशाक, गहना र वाद्यवादनका विविध सामाग्री सहित सजिएर उपस्थित भएको देख्न सकिन्थ्यो भने सहभागीहरुलाई समुदाय विशेषको मौलिक परिकार समेत पस्किएको थियो ।
कार्यक्रमका संयोजक मन मास्की राना मगरको स्वागत मन्तव्य सँगै आरम्भ भएको कार्यक्रममा विभिन्न संस्थाको प्रतिनिधित्व गर्दै चित्र जुग्जाली मगर, रमेश जोशी, कटक श्रेष्ठ, नयन इम्सोङ लिम्बु लगायतका वक्ताहरुले विश्व आदिवासी दिवसको महत्वको बारेमा प्रकाश पार्दै संविधान संशोधन गरेरै भए पनि आदिवासी जनजातिको हक अधिकार सुनिश्चित पार्नु पर्ने विषय औँल्याएका थिए ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासङ्घ इजरायलका पूर्व अध्यक्ष कुमार आङदेम्बे अबि लाई अघिल्लो कार्यकाल सफलता पुर्वक सम्पन्न गर्नु भएकोमा र इजरायलको नेपाली आदिवासी जनजाति समुदायमा पुर्याएको योगदानको कदर गर्दै सम्मान अर्पण गरिएको थियो ।
इजरायलमा रहेका विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरू, कलाकार तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको सो कार्यक्रम नेपाली राजदूतावास इजरायलका कार्यवाहक राजदूत श्री कुमार बहादुर श्रेष्ठको प्रमुख आतिथ्य तथा आदिवासी जनजाति महासङ्घ इजरायलका अध्यक्ष मनु श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com