नेपाल इजरायल डट कम / जेरुसलेम । यही ९ अक्टोबर २०२४ मा, इजरायलको जेरुसलेममा गत वर्ष हमासको हमलामा मारिएका र अपहरणमा परेका विदेशी नागरिकहरूको सम्मानमा एक स्मृति कार्यक्रम आयोजना गरियो ।
कार्यक्रममा इजरायलका लागि अमेरिकी राजदूत ज्याकब जे. ल्यु सहित इजरायलमा रहेका विभिन्न देशका २०० भन्दा बढी विदेशी कूटनीतिज्ञहरू सहभागी भएका थिए। सो कार्यक्रम अक्टोबर ७, २०२३ मा भएको दुखद घटनाको वार्षिकीमा मृतक र अपहरित नागरिकहरूको शोक र सम्झना स्वरूप इजरायलको परराष्ट्र मन्त्रालयद्वारा आयोजना गरिएको थियो ।
समारोहलाई सम्बोधन गर्दै, परराष्ट्र मन्त्रालयका प्रमुख प्रोटोकल अधिकारी महामहिम श्री गिल हास्कलले सबै विदेशी कूटनीतिज्ञहरूलाई स्वागत गर्दै हमासको आक्रमणले निर्दोष विदेशी नागरिक र इजरायली नागरिकहरूको भएको दुःखद मृत्युबारे आफ्नो धारणा राखे । साथै, उनले हमासको कब्जामा रहेका १०१ जना बन्धकहरू मध्ये नेपाली विद्यार्थी श्री विपिन जोशी पनि अझै गाजामा बन्दी रहेको जानकारी दिएका थिए ।
श्री हास्कलले थाइल्यान्ड, नेपाल र तान्जानियाका प्रतिनिधिहरूलाई कूटनीतिक समुदायको तर्फबाट मृतकहरुको सम्झनामा द्विप प्रज्वलन र माल्यार्पण समारोहमा सहभागी हुन आमन्त्रण गरे। थाइल्यान्डका राजदूतले हमास आक्रमणमा मारिएका ४१ थाई नागरिकहरू र अन्य मृतकहरूको सम्झनामा द्विप प्रज्वलित गर्नु भयो । यसैगरी तान्जानियाका राजदूत र नेपाली दूतावासका कार्यवाहक राजदूत श्री कुमार बहादुर श्रेष्ठले संयुक्त रूपमा १० जना नेपाली, २ जना तान्जानियन र अन्य विदेशी नागरिकहरूको स्मृतिमा उनीहरुको तस्बिरमा माल्यार्पण गर्नुभयो, जो अक्टोबर ७, २०२३ मा भएको हमास आक्रमणमा मारिएका थिए ।
कार्यक्रममा, हालसालै निर्माण गरिएको ३० मिनेट लामो वृत्तचित्र प्रदर्शन गरिएको थियो । आमन्त्रित विदेशी अतिथिहरूले वृत्तचित्र हेरिसकेपछि सोबारे छोटो अन्तरक्रिया गर्नु भएको थियो ।
सूचना प्रविधिका साथै कला र साहित्यमा रुचि राख्ने कृष्णपक्ष थापा इजरायलको जेरुसलेममा कार्यरत छन ।