मौनतामा रमाउँदै थिएँ ।
निक्कीले सोधे, ‘लता बोर भयो ?’
मैले भनेँ, ‘होइन निक्की । रमाइलो लागिरहेको छ । काल्पनिक दुनियाँमा हराएँ । कल्पना सुन्दर लाग्छ । यथार्थ भान हुन्छ ।’
निक्कीले भने, ‘हो नि लता । साहित्यकारहरू कल्पनामा हराउँछन् । कल्पनामै रमाउँछन् । कल्पना शक्तिशाली हुन्छ । ऊर्जाशील हुन्छ ।’
अलि प्रसङ्ग बदलियो । तिबेरियाको नजिक पुगिएछ । कार डाँडामाथि फेरो हाल्दै थियो ।
‘ऊ हेर त लता ! त्यो किनेरेत ताल ।’
डाँडाबाटै नियालेँ किनेरेतलाई । स्वागत गरिरहेको भान हुन्थ्यो । किनेरेत तालले हामीलाई अग्लो डाँडाबाट हेरेको थियो । किनेरेत छर्लङ्ग देखियो । भव्य ताल । हरियो पानीको सतह । अत्यन्त सुन्दर । माथि डाँडामा गाउँ । मिलेका घरहरू । तल्लो भागमा शहर । शहरका छेउमै किनेरेत । कति सुन्दर ठाउँ ! धन्य प्रकृति ! यहाँको भौगोलिक वातावरण । फुर्सदमै बनाएको प्रकृतिले । कार अलि सुस्त गर्दै भने, ‘उ माथि हेर त लता । त्यो सुकुन्दाले गाउँ हो ।’
उनको इशारामा नजर पुर्याएँ । माथि डाँडामा भव्य सुन्दर बस्ती । भिरालोमा आधुनिक महलहरू । लाइनबद्ध सजिसजाउ हेरिरहुँजस्तो । भिरालो हुँदै समथर । तिबेरिया बजार । भव्य किनेरेत ताल । साह्रै मन पर्यो मनमोहक ठाउँ । मोहनी नै लगाउने । शान्त र सफा । कोलाहलरहित । ध्यान गर्नेजस्तो । कविता लेख्नेजस्तो । किनेरेतमा बसेर । निक्कीले भने, ‘यो इजरायल भूमि हो । होलिल्यान्ड भनेर चिनिन्छ । भगवान् यिसु आए यसै धर्तीमा । पुण्यभूमि ।’
निक्कीले कारको स्टेरिङ मोड्दै भने, ‘याकुप, भगवान् जन्मिए । विश्वका धर्मावलम्बीहरू आउँछन् । तीर्थ गर्नका लागि । पवित्र भूमि मानिन्छ । पवित्र भूमिमा छौ । तिमी लक्की रहिछ्यौ । पुण्यभूमिको अवलोकन ।’
बाटो ओरालो थियो । कार तलतिर झर्दै थियो । ओरालो हुँदै बजारमै पुगियो । कार सुस्त गतिमा थियो । नजर चहार्दै थियो । सुन्दर बजारमा । किनेरेतको किनारमै पुगियो । कार पार्किङमा रोकियो ।
निक्कीले भने, ‘ब्रेकफास्ट गर्न जाऊँ ।’
रेस्टुरेन्टतिर लाग्यौँ । बिहानको ८ बजे । ठिक्कै ब्रेकफास्टको समय । रेस्टुरेन्टमा बस्यौँ । वेटरले मेनु ल्याए । दुवैले मेनु हेर्यौँ । पिजा अडर गर्यौँ । पिजा र कफी आयो टेबुलमाथि । दुवैले खायौँ । ब्रेकफास्टको पेमेन्ट गरे । त्यहाँबाट उठेर लाग्यौँ । किनेरेत अवलोकन ।
प्रशस्त टुरिस्ट । किनेरेतसँग रमाउन आएका । विश्वका मान्छेका निमित्त । विशेष ठाउँ इजरायल । ती किनारका महलहरू । पर्यटक बस्ने होटल । राम्रो सेवा । सुविधाजनक ठाउँ । किनेरेतलाई फन्को मार्यौँ । किनारै किनार घुम्यौँ ।
निक्कीले सोधे, ‘स्विमिङ गर्ने लता ?’
मैले हाँस्दै भनेँ, ‘स्विमिङ गर्न आउँदैन । फेरि डुब्नु छैन ।’
निक्कीले भने, ‘डुब्न कहाँ दिऊँला ? दिन्नँ । सधैँ उतार्छु । तिम्रो हात समातेर । ढुक्क हौ । त्यसो भए बोटिङ गरौँ ।’
मैले सहमति जनाएँ । केही पैसा पे गरे । बोटिङमा घुम्नका लागि । हामी बोटमा बस्यौँ । निक्कीले बोटिङ गरे । बोटलाई अगाडि सारे । खुल्ला आकाशमुनि । पानीमाथिको सतहमा रमाउन थाल्यौँ । चिसो बतास चलिरहेको । बोट सर्दै थियो निरन्तर । पानीको बीच भागतिर पुग्यौँ । तालमाथि तस्वीरहरू लिए । सेल्फी लिए । प्रिय व्यक्तिसँग ।
निक्कीले सोधे, ‘कस्तो लागिरहेछ लता ?’
मैले भनेँ, ‘अति आनन्दमय । कसरी व्यक्त गरौँ । व्यक्त गर्ने शब्दै छैन ।’
निक्कै निकट भयौँ एकै हप्ताभित्र । जन्मौजन्मको रिस्ताजस्तो । जिन्दगीको नयाँ अध्याय सुरुवातका दिनहरू । बोटिङ गर्दै थिए ।
मिठासका साथ निक्कीले सोधे, ‘लता मलाई विश्वास गर्छौ ?’
मैले नजर जुधाउँदै भनेँ, ‘यही हो विश्वास । तिमीसँग छु । विश्वास बजारमा पाइने वस्तु होइन । न यो किनेर पाइने, न त मागेर । यो एउटा भरोसा हो । तिम्रो भरोसामा छु । किनेरेत तालको बीचमा । पूर्ण भरोसा । विश्वास भनेकै त भरोसा हो ।’
हँसिलो मुहारले भने, ‘थ्याङ्क्यु मेरो पूर्ण भरोसा गर्यौ । म तिम्रो भरोसाको कदर गर्छु ।’
निक्कीले अनुमति लिए । ‘चाहन्छ्यौ भने मात्र ? म केही फिलिङ्स भनौँ ?’
मैले सोधेँ, ‘कस्तो फिलिङ ?’
उनले आग्रह गरे, ‘लता नजिक आऊ न ।’
आग्रह ग्रहण गर्दै उनको नजिक सरेँ । उमङ्ग छायो । भावना उर्लियो । तालको पानीजस्तै । छताछुल्ल । बोटलाई हेन्डल गरे एउटा हातले । अर्को हातले मलाई अँगाले र भने, ‘आई लभ यु लता ।’
लज्जावती भएँ । मौन रहेँ । नि:शब्द भएँ । सर्माएँ । सम्बन्धले अर्को मोड लियो । एकछिनमा ‘लभ यु टु’ फर्काएँ । साथीबाट प्रेमीप्रेमिका भयौँ ।
मेरो शिर अडियो उसको छातीमा । स्पन्दनलाई महसुस गरेँ । छताछुल्ल भए भावना । आनन्दमय वातावरण । मनै प्रेमिल भएको । तालमाथिको सतहमा हरायौँ । तालमाथि घुमिरहुँजस्तो । साथै रहिरहुँजस्तो ।
निक्कीले सोधे, ‘कस्तो लागिरहेछ लता ?’
अलि लजाउँदै भनेँ, तिमीलाई जस्तै ।’
निक्की मतिर हेरेर मुसुक्क मुस्कुराए । अनि भने, ‘तिमी खुसी हुनुपर्यो । तिम्रो खुसी नै मेरो खुसी ।’
सुस्त आवाजमा मैले भनेँ, ‘तिम्रो सामिप्यमा हराइरहेकी छु आफैँभित्र । तिम्रो न्यानोपनमा ।’
नजर जुधाउँदै निक्कीले सोधे, ‘लजाएकी तिमी मसँग ?’
मुस्कुराउँदै सुनाएँ केही हरफ रचना:
ताल खुलेको छ
मन फुलेको छ
तिमीसँग रमाउँदा
यो जीवनले संसार भुलेको छ ।
मौन रहेँ । निःशब्द भएँ । उनले एउटा हातले बोटिङ सम्हाले र मलाई काखमा हाले । पुरुषको न्यानो अँगालो ! पुरुष सुगन्धको महसुस गरेँ ! न्यानो अनुभूति गरेँ । जिन्दगीमा पहिलोपल्ट । तालभरिको पानी रमाइरहेका । आकाशमुनिको ताल । भरिभराउ पानी । तालको सीमारेखा बाहिर उर्लेलाजस्तो । मस्ताइरहेको टिलबिल किनेरेत ।
—
सिरियाको डाँडोले नियालिरहेको । तालको छेउबाटै । खुल्ला आकाश । हल्का बादलका सेता धर्साहरू । सर्सर चिसो बतास । प्रेमिल सुवास चलिरहेको । उमङ्ग छाएको । सबै थोक पाएजस्तो । दुनियाँलाई जितेजस्तो । यही होला प्रेमको शक्ति । नीलो गगनमुनि । भावसागर पानीको ताल । समय बितेको पत्तै भएन । घन्टौँ हरायौँ । पानीमाथिको सतहमा । बोटको भरपूर मजा लियौँ । सुस्त बोट मोडियो । बोट किनार लगाए । पानीबाट जमिनमा टेक्यौँ ।
निक्कीले भने, ‘लता रेस्ट गरौँ है ?’
मैले हुन्छ भनेँ । होटलतिर लाग्यौँ । कोठा लिए निक्कीले । पहिला लन्च गर्यौँ । कोठामा ठूला–ठूला तस्वीरहरू सजिएका । अत्यन्त सफा डबल बेड । बाथरुममा सुवास चलेको । झ्यालबाट ताललाई नियालेँ । ताल छर्लङ्ग देखियो । निर्वस्त्रता सलबलाइरहेको । नीलो पानीको दह । मनमोहक । मोहनी लगाउने । कति राम्रो होटल । सफा शान्तिमय । सुगन्ध छाएको ।
निक्कीले सोधे, ‘कस्तो लाग्यो बेबी ? होटल राम्रै छ नि ?’
मैले भनेँ, ‘उत्कृट । बसिरहुँजस्तो ।’
असहज लागिरहेथ्यो । एकै कोठामा केटासँग । साइकोलोजी बुझिहाले निक्कीले ।
निक्कीले भने, ‘लता नडराऊ मसँग ।’
पश्चिमेली संस्कारमा हुर्केका उनले फ्रेङ्क हुँदै थपे, ‘तिमी जे चाहन्छ्यौ त्यही हुन्छ । तिम्रो चाहनामा भर पर्छ । खुसी हेर्न चाहन्छु । कत्ति सङ्कोच नमान । फ्री भएर बस ।’
अप्ठेरो मानिरहेकी थिएँ । पहिलोपटक । एक्लै पुरुषसँग कोठामा । कतै म पनि बिटुलिने हो कि ? हाम्रो समाजले अनुमान लगाए जस्तै । प्रेममा विश्वास हुन्छ । विश्वासमा जे पनि हुन्छ । निक्की बाथरुमतिर लागे ।
म सोचमा लीन भएँ । छोरीहरू विदेश गए चोखो हुँदैनन् । त्यही याद आयो । प्रेम कसरी हुन्छ ? थाहै नहुने रहेछ । व्यवहारको बोझ र जिम्मेवारीले छेक्ने रहेनछ । प्रेम आफैँ हुँदो रहेछ । प्रकृतिको नियम यस्तै । न जातभात हेर्ने प्रेमले, न भूगोल । न संस्कार, न उमेर । न धनदौलत हेर्ने प्रेमले । न वैवाहिक बन्धनले छेक्ने प्रेम गर्न । कुनै स्तर नचाहिने । न आफ्नो भाषा चाहिने । न त रूप छ प्रेमको । न आकार छ प्रेमको । शक्तिशाली छ निराकार प्रेम । कुनै शस्त्रअस्त्रले छुन नसक्ने । नशा पिएको जस्तै । प्रेमको नशा । त्यही नशा हो । मनको मिठास । त्यसैलाई अमृत मानिन्छ । प्रेमको अनुभूति गरिन्छ । फलामे जन्जिर तोडिन्छ । अद्भुत प्रेममा । आदर्शको पर्खाल भत्किन्छ । नीतिनियम उल्लङ्घन हुन्छ । उच्च छ प्रेम सामाजिक दायराभन्दा । प्रेमले सामाजिक नियम हेर्दैन । दुनियाँ बिर्साइदिन्छ ।
त्यसैले भनिन्छ– प्रेम अन्धो हुन्छ । शक्तिशाली भएर बस्छ । हृदयमा प्रेम । मस्तिष्क अनियन्त्रित हुन्छ । विवेक निकम्पा हुन्छ । निर्विचार हुन्छ प्रेम । ध्यानीको ध्यानजस्तो एकाग्रता । नजरमा झल्किन्छ प्रेमभाव । दुनियाँ प्रेमरसमा भुलेको छ । संसार प्रेममा अडिएको छ । प्रेमबाटै कामवासना उत्पन्न हुन्छ । प्रेमबाट चरम बिन्दुमा पुगिन्छ । यौनक्रीडामा हराउँदै । उत्कृष्ट आनन्दको अनुभूति हुन्छ । तब सृष्टिको संरचना हुन्छ । अमृतमय छ प्रेम । प्रकृतिको उपहारस्वरूप । महान् छ प्रेम ।
फूलमा भुलेको भमराजस्तो निक्कीसँग भुलिरहेकी । खै किन लट्ठिइरहेकी । खै के भयो ? आफैँलाई थाहा छैन । घरमा फोन गरेकी छैन । यतै भुलिएर ।
सोचमा मग्न थिएँ । निक्की बाथरुमबाट निस्किए । निक्कीले मेरो एकाग्रता देखे । के भयो लता भनेर सोधे ? मैले केही भएको छैन भनी टारेँ ।
‘हैन, तिमी बेला–बेलामा स्याड हुन्छ्यौ । म त खुसी हेर्न चाहन्छु ।’
जबर्जस्ती अलिकति मुस्कुराएँ । निक्की बेडमा पल्टिए । मलाई पनि आराम गर भने । एउटै बेडमा मलाई अप्ठेरो लाग्यो । म बेडको छेउमा बसिरहेँ । मेरो ख्याल राखे । इज्जत गरे । निक्कै अनुशासित । असल यहाँका पुरुषहरू, त्यसैले यहाँका महिलाहरू भाग्यमानी । महिलाको हैकम चल्ने । पूर्ण महिला अधिकार । महिलाले नचाहेको खण्डमा पुरुषको केही नचल्ने । चाहे त्यो श्रीमान् नै किन नहोस् ।
निक्कीले भने, ‘बेबी बाहिर जाऊँ । कोठामा बोर भयौ । तिमीलाई बाहिर लैजान्छु ।’
साँच्चै बोर लागिरहेको थियो । मेरो मनोविज्ञान बुझिहाले ।
मैले भनेँ, ‘कति ख्याल राख्छौ ?’
मुस्कुराउँदै निक्कीले भने, ‘मलाई खुसी लाग्छ । मेरो कर्तव्य हो तिम्रो ख्याल राख्नु । मेरी प्यारी मान्छे । स्विट हर्ट । तिम्रो खुसीमा रमाउँछु । धड्कनमा महसुस गर्छु । किनकि माया गर्छु ।’
लभ इन जेरुसलेमबाट
कल्पना खरेल नेपाली साहित्यका प्रतिभाशाली नारी हस्ताक्षर हुन्, उनी साहित्यका विविध विधामा कलम चलाउछिन ।