इजरायलमा विपिन जोशीको अन्तिम श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
नेपाल इजरायल डट कम , १९ अक्टोबर २०२५ —
हमासको नियन्त्रणमा परेर मारिएका नेपाली विद्यार्थी विपिन जोशीको सम्झनामा आज इजरायलमा एक विशेष अन्तिम श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ। सम्पूर्ण जनता र सञ्चारकर्मीहरूलाई कार्यक्रममा उपस्थित भई श्रद्धाञ्जली अर्पण गर्न आमन्त्रण गरिएको थियो।
विदेशबाट आउनेहरूलाई एक घण्टा अगावै आइपुग्न अनुरोध गरिएको आयोजकहरूले जनाएका थिए।
यो कार्यक्रम तेल अविभस्थित बेन गुरियन विमानस्थल नजिकैको खटिभा ८ स्मारक स्थलमा आयोजना गरिएको थियो, जसमा नेपाली समुदाय, इजरायली नागरिक, विद्यार्थी, र पत्रकारहरूको उपस्थिति उल्लेखनीय रहेको थियो।
(लाइभ भिडियो – सुनिता गुरुङ फेसबुक )
इजरायली जनताले विपिनको निधनप्रति गहिरो शोक व्यक्त गर्दै भनिएको छ,
“हामी इजरायली जनताले गहिरो शोकका साथ टाउको झुकाउँछौं। कृषि अध्ययनका लागि इजरायल आएका निर्दोष विद्यार्थी विपिन जोशीलाई हामी उनको अन्तिम यात्रामा नेपालको दिशातर्फ विदा गर्दैछौं।”
विपिन जोशी सन् २०२३ को अक्टोबर ७ मा हमासद्वारा अपहरणमा परेका थिए। उनी इजरायलको किब्बुज आलुमिममा कृषि अध्ययन गर्दै आएका थिए। लामो समयसम्म बेपत्ता रहँदा पनि उनको परिवारले आशा जीवितै राखेको थियो। अन्ततः हमासले उनको शव फिर्ता गरेपछि आज उनको अन्तिम बिदाइ कार्यक्रम आयोजना गरिएको हो।
नेपाल फर्कने अन्तिम यात्रा
समारोहपछि विपिनको पार्थिव शरीर नेपाल पठाइने भएको छ। नेपालका कञ्चनपुर स्थायी बासिन्दा विपिनलाई स्वदेश फर्काउन इजरायली अधिकारी, नेपाली दूतावास, र अन्तर्राष्ट्रिय समुदायले सहकार्य गरेका छन्।
कार्यक्रममा उपस्थित सबैले विपिनलाई “निर्दोष विद्यार्थी, साहसी युवा, र नेपालको सच्चा प्रतिनिधि”का रूपमा सम्झिए।
परराष्ट्र मन्त्रालयका अनुसार उनको शव फ्लाई दुबईको नियमित उडानमार्फत काठमाडौं ल्याइनेछ। विमान सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका छ।विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरू र परराष्ट्र मन्त्रालयका अधिकारीहरू पनि सहभागी हुने तयारी छ ।
२३ वर्षीय जोशी अध्ययनका लागि इजरायल पुगेका थिए। सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलको किबुत्ज क्षेत्रमा गरेको सशस्त्र आक्रमणका क्रममा उनी बन्धकमा परेका थिए। त्यसयता उनको अवस्था अज्ञात रहँदै आएको थियो।
दुई पक्षबीच भएको युद्धविराम सम्झौतापछि भएको बन्दी साटासाट प्रक्रियाका क्रममा हमासले विपिनको शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो। डीएनए परीक्षणबाट शव विपिनकै भएको पुष्टि भएको छ।
इजरायलस्थित नेपाली दूतावासका अनुसार फरेन्सिक परीक्षणले विपिनको मृत्यु अपहरण भएको समयमै भएको देखाएको छ। शवको अवस्थाले पनि उनी आक्रमणको केही समयमै ज्यान गुमाएको संकेत गरेको दूतावासले जनाएको छ।
सरकारले विपिनको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै विदेशमा रहेका नेपालीको सुरक्षालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता दोहोर्याएको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com