काठमाडौं, ६ मार्च २०२६।
इजरायलमा कार्यरत गैरआवासीय नेपालीहरूको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) इजरायलले प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न गराएको भन्दै प्रधानमन्त्री शुशिला कार्कीप्रति सम्मान प्रकट गरेको छ। संस्थाले जारी गरेको प्रेस विज्ञप्तिमा नयाँ बन्ने सरकारलाई शुभकामना दिँदै देशमा स्थायित्व, सुशासन र आर्थिक समृद्धिको अपेक्षा पनि व्यक्त गरेको छ।
एनआरएनए इजरायलले नेपालको लोकतान्त्रिक आन्दोलनमा हजारौं शहिदले दिएको बलिदान स्मरण गर्दै देशमा अझैसम्म राजनीतिक स्थिरता कायम हुन नसकेको उल्लेख गरेको छ। बारम्बार सरकार परिवर्तन भए पनि जनताको अपेक्षाअनुसार देशको विकास र परिवर्तन हुन नसकेको भन्दै विज्ञप्तिमा चिन्ता व्यक्त गरिएको छ।
संस्थाका अनुसार जनताले दिएको जनादेशलाई निर्वाचित जनप्रतिनिधिहरूले प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसक्दा देशमा भ्रष्टाचार, बेरोजगारी र विभिन्न विकृतिहरू बढ्दै गएको छ। यही असन्तोषको पृष्ठभूमिमा २३ भदौ २०८२ मा भएको “जेन–जी विद्रोह” का क्रममा सयौं युवाले बलिदान दिएको र अराजक परिस्थितिका कारण देशका महत्वपूर्ण ऐतिहासिक संरचनामा समेत क्षति पुगेको विज्ञप्तिमा उल्लेख छ।
यस्तो विषम परिस्थितिमा राष्ट्रपतिको परामर्शमा संविधानको परिधिभित्र रही २०८२ फागुन २१ मा नयाँ जनादेशका लागि प्रतिनिधि सभा निर्वाचन सम्पन्न गराउने जिम्मेवारी प्रधानमन्त्री कार्कीले सम्हालेको भन्दै एनआरएनए इजरायलले उनको नेतृत्वको प्रशंसा गरेको छ। चुनौतीपूर्ण अवस्थाका बीच निष्पक्ष, शान्तिपूर्ण र मर्यादित वातावरणमा निर्वाचन सम्पन्न गराएको भन्दै संस्थाले यसलाई राष्ट्रका लागि महत्वपूर्ण उपलब्धि भनेको छ।
प्रेस विज्ञप्तिमा मध्यपूर्वको द्वन्द्वग्रस्त मुलुक इजरायलमा कार्यरत नेपालीहरूको अवस्थाबारे पनि उल्लेख गरिएको छ। पछिल्लो एक सातादेखि (२८ फेब्रुअरी २०२६ देखि) मिसाइल आक्रमणको त्रासबीच दैनिक जीवन बिताइरहेका नेपालीहरूले पनि नेपालमा निर्वाचन सम्पन्न भएकोप्रति खुशी व्यक्त गरेको संस्थाले जनाएको छ।

एनआरएनए इजरायलले निर्वाचन सफल बनाउन भूमिका खेलेको भन्दै राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रिपरिषद्, निर्वाचन आयोग, सुरक्षा निकाय, राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी तथा सम्पूर्ण नेपाली जनसमुदायप्रति धन्यवाद ज्ञापन गरेको छ। साथै हालै सम्पन्न निर्वाचनमा विजयी भएका उम्मेदवारहरूलाई बधाई दिँदै जनतासामु गरेका प्रतिबद्धता इमानदारीपूर्वक कार्यान्वयन गर्न आग्रह गरेको छ।
संस्थाले नवगठित सरकारसँग विदेशमा रहेका नेपालीहरूको योगदानलाई सम्मान गर्दै रेमिट्यान्ससँगै उनीहरूको ज्ञान, सीप र लगानीको प्रभावकारी उपयोग हुने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएको छ। साथै आर्थिक वृद्धि, सुशासन र समृद्ध नेपाल निर्माणका लागि ठोस पहल गरिनुपर्ने अपेक्षा व्यक्त गरिएको छ।
एनआरएनए इजरायलले देशमा व्याप्त भ्रष्टाचार, अराजकता र विभिन्न विकृतिहरूको अन्त्य गर्दै नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा सम्मानित राष्ट्रका रूपमा स्थापित गर्न नयाँ सरकारले प्रभावकारी कदम चाल्ने विश्वास पनि व्यक्त गरेको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com























