नेपाल इजरायल डट कम, जेरुसलेम । यही जुलाई १ तारिख सोमबार इजरायलस्थित नेपाली दूतावास तेल अभिवमा गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् इजरायलका पदाधिकारीहरू र दूतावासबिच एक अनौपचारिक भेटघाट कार्यक्रमको आयोजना गरिएको थियो ।
हालै नेपाल सरकारले इजरायल लगायत ११ विभिन्न देशबाट राजदूतहरू फिर्ता बोलाउने निर्णय गरेकोमा इजरायलबाट महामहिम राजदूत कान्ता रिजाल पनि स्वदेश फर्कँदै हुनुहुन्छ । सोही सन्दर्भमा एक अनौपचारिक भेटघाट आयोजना गरी इजरायलमा रहेका नेपाली समुदायका बिचमा बिताएका पलहरूलाई आफूले मिठो अनुभव र हार्दिकताका साथ आत्मसात् गर्ने बताउनु भयो । दुई वर्ष अगाडी इजरायलका लागि नेपाली राजदूतका रूपमा नियुक्त हुनुभएकी निवर्तमान राजदूत रिजाल साइप्रसका लागि पनि गैर आवासीय राजदूतका रूपमा नियुक्त हुनुभएको थियो ।
उहाँले भेटका क्रममा देश विकासमा गैर आवासीय नेपालीको भूमिका औँल्याउँदै इजरायलको नेपाली समुदायलाई पनि यहाँ आर्जन गरेका सीप र अनुभवलाई समेटेर स्वदेशको विकासमा टेवा पुर्याउन , स्वदेशमा विभिन्न अवसरहरूको सिर्जना गर्न र रचनात्मक संलग्नता बढाउन अनुरोध गर्नु भयो ।
इजरायलमा आतङ्कवादी आक्रमण भएपश्चात् केही समयदेखि इजरायल र प्यालेस्टाइन बिच युद्धको तनावपूर्ण स्थिति बनेको छ उक्त घटनमा १० नेपालीले ज्यान गुमाउनुका साथै केही घाइते र एक विद्यार्थी विपिन जोशीको अवस्था अझै पनि अज्ञात नै छ । यस्तो विषम परिस्थितिमा युद्धको चपेटामा परेका प्रभावित नेपालीको उद्धारका लागि दूतावासले देखाएको पहल र सक्रियता निकै सह्रानीय रहेको थियो । राजदूत रिजालले हरेक कूटनीतिक भेटघाटमा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको मुद्दालाई पहिलो नम्बरमा उठाउने गरेको स्मरण गर्दै उपस्थित सहभागीहरूले दूतावासले एक अभिभावकत्वको भूमिका निभाएको बताए ।
गैर आवासीय नेपाली सङ्घ इजरायल (NRNA इजरायल ) इजरायलको सरकारमा विधिवत् दर्ता भएर नेपाली समुदायको प्रतिनिधि संस्थाको रूपमा स्थापित छ । एन आर एन ए इजरायल यसरी औपचारिक मान्यता प्राप्त गर्ने पहिलो नेपाली गैर सरकारी संस्था हो, सो संस्थालाई विधिवत् रूपमा दर्ता गराउन नेपाली दूतावास इजरायल र महामहिम राजदूत कान्ता रिजालले उल्लेखनीय भूमिका निभाउनु भएको थियो । सोका लागि महामहिमलाई हार्दिक धन्यवाद दिँदै नेपाली दूतावासबाट कोही पनि नेपालीले कुनै प्रकारको दुर्व्यवहार, भेदभाव या ढिलासुस्ती नभई अत्यन्त हार्दिकतापूर्वक कार्यसम्पादन भएको ब्यहोरा सुनाएका थिए ।
भेटघाटमा दूतावासका प्रथम सचिव कुमार श्रेष्ठ, सहचारी श्री सञ्जयकुमार शाह लगायत एन आर एन ए इजरायलका तर्फबाट अध्यक्ष कृष्ण भण्डारी, महासचिव अलि मोहम्मद मिया, उपाध्यक्ष भेष राज पाण्डे सचिव चित्र कार्की, कोषाध्यक्ष ल्हामु आल्मोग, सदस्य कल्पना भेटवाल धर्मेन्द्र पुन मगर र रितु मरहट्ठाको उपस्थिति रहेको थियो ।
भेटका क्रममा सहभागीहरूले इजरायल र नेपालको दौत्य सम्बन्धलाई प्रगाढ बनाउँदै दुई देशबिच कूटनीतिक तहमा हुने कृषि, पर्यटन, आर्थिक, सामाजिक, सांस्कृतिक अथवा रोजगारीको क्षेत्रमा अवसरहरूको सिर्जना गर्नुका साथै इजरायलमा रहेको नेपाली समाज र दूतावासको सम्बन्ध सुमधुर राख्न निवर्तमान महामहिमको भूमिका प्रशंसनीय रहेको विचार व्यक्त गरेका थिए ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com