नेपाल इजरायल डट कम । किराँत याक्थुङ चुम्लुङ इजरायलले चासोक तङनाम ५०८४ तथा न्वागी पूजा उधौली २०८१ को अवसरमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। यो कार्यक्रम आगामी डिसेम्बर १३ तारिखका दिन याद हारुचिम १५, ईभ पार्टी प्यालेसमा सम्पन्न हुनेछ।
चासोक तङनाम लिम्बू समुदायको एक ऐतिहासिक र महान चाड हो, जसलाई न्वागी पूजा वा उधौली पूजा पनि भनिन्छ। विशेषगरी मंसीर पूर्णिमाका दिन मनाइने यो पर्वमा नयाँ अन्न आफ्ना दिवंगत पुर्खा र आस्थाका देवी-देवताहरुलाई चढाउने परम्परा छ। चासोक भन्नाले नयाँ अन्न चढाउने पूजा र तङनाम भन्नाले उत्सव अथवा पर्व भन्ने अर्थ हुन्छ।
किराँत परम्पराअनुसार मानिस, जीवजन्तु र चराचुरुङ्गीले लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समयसँगै अन्नबाली भित्र्याइएको खुसीयालीमा यो पर्व मनाइन्छ। राई, लिम्बू, सुनुवार, र याक्खा समुदायले नयाँ अन्नलाई पुर्खा र देवताहरुलाई अर्पण गर्दै न्वागी पूजा गर्ने चलन रहेको छ।
इजरायलमा आयोजना हुन लागेको यस कार्यक्रममा चासोक तङनामको मौलिकता झल्किने सांस्कृतिक प्रस्तुति, परम्परागत भेषभूषा र समुदायबीचको आपसी सम्बन्धलाई बलियो बनाउने विभिन्न क्रियाकलाप समावेश गरिनेछ। किराँत याक्थुङ चुम्लुङ इजरायलले यो कार्यक्रमले नेपाली समुदायबीच सांस्कृतिक पहिचानलाई संरक्षण गर्न र एकता कायम गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com