परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुराइखीलाई नेपाली नागरिक विपिन जोशीको रिहाइका लागि सहयोग गर्न आग्रह गरेकी छन्।
ओमनको राजधानी मस्कटमा आयोजित आठौँ हिन्द महासागरीय सम्मेलनका क्रममा आज उनीहरूबीच साइडलाइन भेटवार्ता भएको थियो। भेटमा नेपाल–कतार सम्बन्ध, द्विपक्षीय हित, नेपाली विद्यार्थीलाई छात्रवृत्ति, तथा प्राविधिक जनशक्तिको विषयमा छलफल भएको थियो।
मन्त्री देउवाले इजरायल र हमासबीचको मध्यस्थतामा कतारले खेलेको भूमिकाको प्रशंसा गर्दै हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि विशेष पहल गर्न अनुरोध गरिन्।
यसअघि पनि उनले कतारका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलाजिज अल-खुलाइफीसँग फोन वार्ता गरी सोही विषयमा आग्रह गरेकी थिइन्। खुलाइफी इजरायल र हमासबीचको शान्ति वार्ताका प्रमुख मध्यस्थकर्ता हुन्।
नेपाल सरकारले विपिनको रिहाइका लागि गत वर्षदेखि नै कूटनीतिक प्रयास जारी राखेको छ। मन्त्री देउवाले संयुक्त राष्ट्रसंघ तथा विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा समेत उनको रिहाइका लागि पहल गरिरहेकी छन्। हमासले सन् २०२३ को अक्टोबरमा इजरायली भूमिमा हमला गर्दा विपिन जोशीलाई अपहरण गरेको थियो।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com