१९ सेप्टेम्बर २०२४ । तेल अभिव स्थित नेपाली राजदूतावासले संविधान दिवसको अवसरमा “राष्ट्रिय दिवस” कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ ।
नेपालको संविधान जारी भएको दिन “संविधान दिवस” को शुभ अवसर पारेर सो कार्यक्रमको आयोजना गरिएको नेपाली राजदुतावास इजरायलले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
कार्यक्रममा विदेशी राजदूत, इजरायल सरकारका उच्च अधिकारीहरू, इजरायली नागरिकहरू, व्यापारीहरू, नेपाली समुदायका प्रतिनिधिहरू लगायत ७० जना भन्दा बढीको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा कार्यवाहक राजदूत श्री कुमार बहादुर श्रेष्ठले कार्यक्रमलाई सम्बोधन गर्दै सन् २००६ मा नेपाली जनताको सबैभन्दा ठूलो दोस्रो जनआन्दोलनबाट प्राप्त संविधान सभा मार्फत नेपालमा सन् २०१५ मा नयाँ संविधान जारी भएको बताउँदै सो अवसरमा संवैधानिक व्यवस्थाको इतिहासबारे पनि प्रकाश पार्नु भयो। साथै, इजरायल साइप्रस लगायत देश विदेशमा बसोबास गर्नुहुने नेपाली नागरिकहरूलाई संविधान दिवसको अवसरमा शुभकामना समेत दिनुभयो। उहाँले नेपाल – इजरायल दुई देशको पारस्परिक सहयोगमा नेपाललाई विभिन्न लाभदायक क्षेत्रमा इजरायलले दिएको योगदानको चर्चा गर्नु भयो।
यसैबिच कार्यक्रमका प्रमुख अतिथि इजरायल सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयका प्रोटोकल प्रमुख महामहिम श्री गिल हस्केलले नेपालको संविधान दिवसको अवसरमा नेपाल सरकार र नेपाली जनतालाई बधाई दिँदै सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्दै इजरायल सरकार सधैँ नेपालको साथमा रहेको बताउनु भयो । आफ्नो भनाई थप्दै इजरायल सरकारले श्री विपिन जोशीलाई गाजाबाट रिहा गर्ने प्रयास जारी राखेको बताउनु भयो ।
सो कार्यक्रममा प्रमुख अतिथि महामहिम श्री हस्केल र सबै विशिष्ट अतिथिहरूको उपस्थितिमा इजरायलका लागि नेपालका अवैतनिक वाणिज्य दूत श्री नदाब बेन येहुदाले अन्नपूर्ण हिमालको प्रस्तुति र सुश्री निता राउतले सांस्कृतिक नृत्य गर्नु भएको थियो।
उक्त कार्यक्रमको सञ्चालन राजदूतावासका सहचारी सञ्जय कुमार शाहबाट भएको थियो ।
प्रेस विज्ञप्ति
तेल अवीवस्थित नेपाली राजदूतावासबाट १९ सेप्टेम्बर २०२४ मा नेपालको “संविधान दिवस” को शुभ अवसरमा, नेपालको…
Posted by Embassy of Nepal, Tel Aviv on Friday 20 September 2024
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com