किरात याक्थुङ चुम्लुङ इजरायलको पहलमा ताप्लेजुङको फुङलिङ नगरपालिका-७, तोक्मेडाँडामा ‘धान नाच प्रतिमा’ निर्माण गरिने भएको छ। यो परियोजना लिम्बू समुदायको पहिचान र सांस्कृतिक धरोहरलाई बचाउन र प्रवर्द्धन गर्न केन्द्रित छ। उक्त “धान नाच प्रतीमा” संसारमै प्रख्यात उच्च कोटीको धातु (Bronze) कांसबाट लम्बाई ६/६.५ उचाइको निर्माण हुने प्रतीमा को काम सुरु भई सकेको किरात याक्थुङ चुम्लुङ इजरायकी अध्यक्ष नुमा काङभा बखीमले बताएकी छन् ।
लागतमा निर्माण
उक्त प्रतिमा निर्माणका लागि करिब ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। निर्माण कार्यमा किरात याक्थुङ चुम्लुङ इजरायलले आर्थिक सहयोग गर्दैछ। प्रतिमाको डिजाइनमा दुई महिला र दुई पुरुष धान नाच गरिरहेको स्वरूपलाई प्रस्तुत गरिनेछ। ६-६.५ फिट अग्ला प्रतिमाहरू उच्च गुणस्तरको कांस (Bronze) बाट तयार गरिने छन्।
संस्कृतिको पुनर्जीवनका लागि विशेष प्रयास
धान नाच, लिम्बू समुदायको सांस्कृतिक सम्पदा, आधुनिकताका कारण लोपोन्मुख अवस्थामा छ। यस स्तम्भको निर्माणले धान नाचको ऐतिहासिक महत्व र सांस्कृतिक भावनालाई उजागर गर्न मद्दत पुर्याउने विश्वास छ। किरात याक्थुङ चुम्लुङ इजरायलकी अध्यक्ष नुमा काङभा बखिमका अनुसार यो परियोजनाले लिम्बू जातिको परम्परागत पहिचानलाई पुनर्जीवित गर्न ठोस योगदान दिनेछ।
प्रतिमा पाँच फिट अग्लो स्तम्भमा रहनेछ, जसको पृष्ठभूमिमा कञ्चनजङ्घा र कुम्भकर्ण हिमालको दृश्य झल्काउने कलात्मक स्थल तयार गरिनेछ। वरपरको क्षेत्र आकर्षक बनाउँदै सिँढी, स्टिल बार बाउन्ड्री, बगैंचा, फूलका थुप्रै बेड, र विश्रामका लागि बेञ्चहरू राखिने योजना छ।
स्थानिय समाजसेवी कृतिमान मादेनको संयोजकत्वमा ९ सदस्यीय निर्माण समिति गठन गरिएको छ। यसमा किरात याक्थुङ चुम्लुङ ताप्लेजुङका पदाधिकारीहरूको सक्रिय सहभागिता रहनेछ। मुर्तिकार पूर्ण वनेम लिम्बुको नेतृत्वमा राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभव भएका ४ कारीगरहरूको समूहले प्रतिमा निर्माणको जिम्मेवारी लिनेछ।
यस परियोजना आगामी चार महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। चुम्लुङका सचिव सरोज कङलिवाका अनुसार मंसिर पूर्णिमासम्म निर्माण कार्य पूरा गरी स्तम्भ उद्घाटन गरिनेछ।
यसअघि पाथीभरा मन्दिर नजिक निर्माण गरिएको च्याब्रुङ स्तम्भले जस्तै, यो परियोजनाले पनि तोक्मेडाँडालाई पर्यटकहरूका लागि आकर्षक गन्तव्यस्थल बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ। धान नाचको स्मरणीय प्रस्तुति पर्यटक र स्थानिय दुवैका लागि सांस्कृतिक सम्पत्तिमा रूपान्तरित हुनेछ।
‘धान नाच’ स्तम्भ निर्माणले लिम्बू समुदायको सांस्कृतिक धरोहरलाई मात्र होइन, सम्पूर्ण समाजलाई यसको ऐतिहासिक महत्त्व र संरक्षणको आवश्यकता बोध गराउनेछ। यो परियोजना भविष्यका पुस्ताहरूका लागि प्रेरणा बन्नेछ।
सूचना प्रविधिका साथै कला र साहित्यमा रुचि राख्ने कृष्णपक्ष थापा इजरायलको जेरुसलेममा कार्यरत छन ।