काठमाडौं । हमासद्वारा अपहरणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थी विपिन जोशीको सम्झनामा काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ।
बुधबार साँझ युवा पुस्ताको समूह ‘जेनजी अभियान’का अभियन्ता रक्षा बम सहितका युवाहरूले विपिनप्रति श्रद्धा र सम्झनाको प्रतीकस्वरूप सयौं बत्ती बालेर मौन श्रद्धाञ्जली दिएका हुन्।
सन् २०२३ अक्टोबर ७ मा इजरायलको दक्षिण क्षेत्रमा भएको हमासको आक्रमणका क्रममा कृषि अध्ययनका लागि इजरायल पुगेका २३ वर्षीय विपिन जोशी अपहरणमा परेका थिए। दुई वर्षको लामो अनिश्चितता र प्रतीक्षापछि सोमबार हमासले विपिनसहित चार जनाको मृत्यु पुष्टि गर्दै शव इजरायललाई बुझाउने जनाएको थियो।
मंगलबार इजरायलमा भएको डीएनए परीक्षणपछि इजरायली सेनाले विपिनको मृत्यु औपचारिक रूपमा पुष्टि गरेको हो।
विपिनको स्मृतिमा आयोजित दीप प्रज्वलन कार्यक्रममा सहभागी युवाहरूले “विपिन हाम्रो गौरव हुन्, उनको सपना हामीले पूरा गर्नेछौं” भन्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनीहरूका अनुसार यो दीप प्रज्वलन केवल एक श्रद्धाञ्जली होइन, युवाहरूको आत्मसम्मान र मातृभूमिप्रतिको प्रेमको प्रतीक पनि हो।
नेपाल र विदेशमा रहेका धेरै नेपालीहरू विपिनको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत संवेदना प्रकट गरिरहेका छन्।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com