इजरायल र हमासबीच चलिरहेको द्वन्द्वको एउटा निकै संवेदनशील र भावनात्मक खबरबारे कुरा गर्दैछौँ। हमासले हालै नेपाली विद्यार्थी विपिन जोशी सहित ४८ जना बन्धकहरूको एउटा ‘बिदाइ तस्बिर’ सार्वजनिक गरेको छ, जसले सबैको मनमा डर र प्रश्नहरू उब्जाएको छ । आउनुहोस्, यो घटनालाई सरल भाषामा बुझौँ।
हमासले सार्वजनिक गरेको तस्बिर
हमासले शनिबार एउटा तस्बिर सार्वजनिक गर्यो जसमा ४८ जना बन्धकहरूको अनुहार देखाइएको छ । तीमध्ये एक हाम्रा नेपाली भाइ विपिन जोशी पनि हुनुहुन्छ । विपिन जोशीको तस्बिरमा ‘रोन अराद ३८’ लेखिएको छ । यो तस्बिरलाई हमासले ‘बिदाइ तस्बिर’ भनेको छ, जुन इजरायली सेनाले गाजा सहरमा आफ्नो कारबाही तीव्र पारेको बेला सार्वजनिक गरिएको हो ।
तस्बिरमा लेखिएको सन्देशले इजरायली सरकारलाई दोष दिएको छ। त्यसमा लेखिएको छ, “नेतान्याहूको असहमति र जमिरको आत्मसमर्पणका कारण, गाजा सहरमा सैन्य कारबाही सुरु हुँदा यो एउटा बिदाइ तस्बिर हो“ । यसबाट हमासले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई युद्धविराम र बन्धक रिहाइको सम्झौता अस्वीकार गरेको आरोप लगाएको देखिन्छ ।
किन सबैको नाम ‘रोन अरद’ लेखियो?
तपाईंलाई अचम्म लाग्न सक्छ, तर तस्बिरमा भएका सबै ४८ जना बन्धकहरूको परिचयमा उनीहरूको आफ्नो नामको सट्टा ‘रोन अरद’ लेखिएको छ ।
रोन अरद एक इजरायली वायुसेनाका पाइलट (नाभिगेटर) थिए जो सन् १९८८ (केही स्रोतमा १९८६) देखि बेपत्ता छन् । उनी लेबनानमा एक सैन्य कारबाहीका क्रममा बेपत्ता भएका थिए र त्यसपछि उनको अवस्थाबारे आजसम्म कुनै ठोस जानकारी आएको छैन । धेरैले उनको मृत्यु भइसकेको अनुमान गरे पनि कुनै प्रमाण भेटिएको छैन ।
हमासले सबै बन्धकहरूलाई ‘रोन अरद’ को नाम दिएर एउटा सांकेतिक चेतावनी दिएको हो। उनीहरू भन्न खोजिरहेका छन् कि यदि इजरायलले सम्झौता गरेन भने यी बन्धकहरूको हालत पनि रोन अरदको जस्तै अनन्त कालको लागि अज्ञात हुन सक्छ—अर्थात्, उनीहरू पनि सधैँका लागि बेपत्ता बनाइन सक्छन् । यसबाट हमासले बन्धकहरुको तस्बिर देखाएर बन्धक परिवारले इजरायल सरकार समक्ष अझै दबाब बढाई दिउन भनेर ब्ल्याकमेल गरेको प्रष्ट हुन्छ ।
बन्धकहरूको अवस्था के छ?
ती ४८ जना बन्धकहरूमध्ये केही जिवित र धेरै जीवित नभएको अनुमान छ। यो संख्यालाई हमासले हाल सार्वजनिक गरेको तस्बिरले कुनै फरक पारेको छैन अर्थात पहिले जे जस्तो अवस्थामा थिए, उनीहरु अहिले पनि सोही अवस्थामा छन ।
- इजरायली अधिकारीहरूका अनुसार, करिब २० जना जीवित रहेको विश्वास छ ।
- दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
- बाँकी बन्धकहरूको मृत्यु भइसकेको अनुमान छ तर हमासले उनीहरूको शव राखेको छ ।
- अमेरिकाले जीवित बन्धकको संख्या अझै कम हुन सक्ने अनुमान गरेको छ ।
विपिन जोशीको परिवारको प्रतिक्रिया
यो खबर बाहिरिएपनि विपिन जोशीको परिवारले यसबारे कुनै आधिकारिक जानकारी नपाएको बताएको छ । उहाँहरूले संचार माध्यमलाई भन्नुभयो, “यसबारे आधिकारिक जानकारी आएको छैन। हामीले इजरायलमा सम्पर्क गरिरहेका छौँ” ।
अक्टोबर ७, २०२३ मा हमासले गरेको आक्रमणपछि यो द्वन्द्व सुरु भएको थियो, जसमा २५१ जनालाई अपहरण गरिएको थियो । त्यसयता, केही बन्धकहरू छुटेका छन्, केहीको उद्धार भएको छ र केहीको शव फेला परेको छ । तर विपिन जस्ता धेरैजना अझै पनि हमासको नियन्त्रणमा नै छन्।
यो घटनाले बन्धकहरूको परिवारमा पक्कै पनि ठूलो चिन्ता थपेको छ । हामी सबै बन्धकहरू, विशेषगरी हाम्रा नेपाली दाजुभाइ विपिन जोशीको सकुशल र शीघ्र रिहाइको कामना गर्दछौँ ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com