अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई गाजामा रहेका बन्धकहरूलाई तत्काल रिहा गर्न अन्तिम चेतावनी दिएका छन् । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट लेख्दै भनेका छन्, ‘इजरायललाई काम सम्पन्न गर्न आवश्यक सबै सहयोग उपलब्ध गराउँदैछु । यदि बन्धकलाई तुरुन्तै रिहा गरिएन भने कुनै पनि हमास सदस्य सुरक्षित रहने छैनन् ।’
हमासले ट्रम्पले दिएको चेतावनीको विरोध गर्दै अमेरिकी राष्ट्रपति हाल कार्यान्वयनमा रहेको युद्धविराम सम्झौताका सर्त तोड्न इजरायललाई उक्साइरहेको आरोप लगाएको छ ।
बीबीसीका अनुसार केही घण्टाअघि मात्रै ह्वाइट हाउसले गाजामा रहेका बाँकी बन्धकहरूको विषयमा हमाससँग प्रत्यक्ष वार्ता गरिरहेको पुष्टि गरेको थियो । ट्रम्पको चेतावनी त्यसपछि आएको हो ।
अहिलेसम्म वासिङ्टनले हमाससँग प्रत्यक्ष संवाद गर्न अस्वीकार गर्दै आएको थियो । अमेरिकी नीति अनुसार हमासलाई आतंककारी समूहका रूपमा वर्गीकृत गरिएको छ ।
ट्रम्पले आफ्नो पोस्टमा चेतावनी दिँदै हमास नेतृत्वलाई गाजा छोड्न अन्तिम अवसर भएको बताएका छन् ।
हमासका प्रवक्ता हाजेम कासेमले यस्तो धम्कीले युद्धविराम सम्झौताका सर्त कार्यान्वयन गर्न थप कठिनाइ उत्पन्न गर्ने बताएका छन् ।
यसअघि डिसेम्बर महिनामा पनि ट्रम्पले हमासलाई चेतावनी दिँदै आफूले सत्ता सम्हाल्दासम्म बन्धक रिहा नगरिए अमेरिकाले ‘विनाशकारी प्रतिक्रिया’ दिने बताएका थिए ।
यसैबीच, ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लिभिटले अमेरिकी सरकार हमाससँग प्रत्यक्ष वार्ता गरिरहेको बताउँदै बन्धकको रिहाइ सुनिश्चित गर्न यो कदम उठाइएको बताइन् । वार्ताका विषयमा इजरायललाई जानकारी गराइएको छ ।
अमेरिकाका विशेष दूत एडम बोहलर नेतृत्वको टोलीले हमाससँग दुईपटक प्रत्यक्ष वार्ता गरिसकेको छ भने यसअघि धेरै पटक परोक्ष सम्पर्क भएको बताइएको छ ।
विभिन्न स्रोतहरू उद्धृत गर्दै बीबीसीले यी वार्ताहरू कतारमा भएको जनाएको छ । वार्तामा अमेरिकी बन्धकको रिहाइ र युद्ध अन्त्य गर्ने सम्भावित सम्झौताको विषयमा छलफल भइरहेको हो ।
यो पनि पढ्नुहोस
गाजामा अझै ५९ जना बन्धकहरु बाँकी : जसमध्ये विपिन जोशी लगायत २४ जना मात्र जीवित
७ अक्टोबर २०२३ मा हमासले इजरायली भूमिमा आक्रमण गरेपछि इजरायली सेनाले गाजामा सैन्य कारबाही थालेको थियो । सो आक्रमणमा करिब १२ सय इजरायली नागरिक मारिएका थिए र २५१ जनालाई बन्धक बनाइएको थियो । त्यसयता गाजामा कम्तीमा ४८ हजार ४४० मानिस मारिएको हमास-नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय हमासको नियन्त्रणमा अझै ५९ जना बन्धक रहेको इजरायलले दाबी गरेको छ । जसमध्ये २४ जना मात्र जीवित रहेको अनुमान छ ।
रिहा गर्न बाँकी बन्धकमा पाँच अमेरिकी नागरिक पनि छन् । तीमध्ये ४ जनाको मृत्यु भइसकेको हमासले जनाएको छ ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com